News

गठवन्धन विपरित भरतपुर र पोखरामा कांग्रेसको बागी उम्मेदवारी

गठवन्धन विपरित भरतपुर र पोखरामा कांग्रेसको बागी उम्मेदवारी

गठवन्धन दलको सहमति र सम्झौता विपरित भरतपुर र पोखरामा नेपाली कांग्रेसका तर्फबाट बागी उम्मेदवारी परेको छ।

भरतपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नेता पूर्वसांसद जगन्नाथ पौडेलले मनोनयन पत्र दर्ता गरेका छन् । भरतपुरको मेयर नेकपा माओवादी केन्द्रले पाउने सत्तारुढ गठबन्धन दलहरुबीचको सहमति विपरित उनले उम्मेदवारी दर्ता गराएका हुन ।

सहमतिको विपक्षमा रहेका कांग्रेसका स्थानीय नेता कार्यकर्ताहरुले छुट्टै उम्मेदवारी दर्ता गर्ने चेतावनी दिँदै आएका थिए । उनको प्रस्तावकमा कांग्रेसका पूर्ब जिल्ला सभापति कृष्णलाल सापकोटा र समर्थकमा कांग्रेस महासमिति सदस्य मीना खरेल छन् ।

यसैगरी, पोखरा महानगरपालिका प्रमुखमा पनि नेपाली कांग्रेसका कास्की जिल्ला समितिको पूर्वकोषाध्यक्ष ऋषि सापकोटाले उम्मेदवारी दर्ता गराएका छन् । सापकोटा ०५४ सालदेखि ०६४ सालसम्म पार्टीको जिल्ला समितिको कोषाध्यक्ष थिए । गठबन्धनका नाममा पोखराका मतदातालाई अन्य पार्टीको चुनाव चिह्नमा मत दिन बाध्य पारेकाले आफूले उम्मेदवारी दिएको सापकोटाले बताए ।

सत्तारुढ गठबन्धनले उम्मेदवारी भागवण्डा गर्दा पोखरा महानगरपालिकाको मेयर एकीकृत समाजवादीलाई परेको छ । त्यसबाट असन्तुष्ट कांग्रेसका कतिपय नेता कार्यकर्ताले  स्वतन्त्र उम्मेदवारी दिने बताएका थिए ।

आइतबारमात्रै पोखराको मेयर आफूहरुले पाउनुपर्ने भन्दै पोखराका नेता, कार्यकर्ताले जिल्ला सभापतिसहितका टोलीलाई पार्टी कार्यालयमै ५ घन्टा थुनेका थिए । 
 

बागी उम्मेदवारी

विशेष