सिक्री चोरेको आरोप लागेपछि पोखराका मेयर उम्मेदवारको टिकट एमालेले खोस्यो

नेकपा एमालेले पोखरा महानगरपालिकाको मेयरका लागि दीपक पौडेललाई दिएको टिकट खोसेको छ। चोरीको आरोप लगाएर सामाजिक सञ्जालमा भिडियो भाईरल भएपछि पौडेलको टिकट खोसिएको हो ।
शनिवार पोखरामा उम्मेदवारको टुंगो लगाएको केही समयमै मेयरका उम्मेदवार पौडेल सुन चोरी केसमा फसेको भन्दै भिडियो पोस्ट हुन थाल्यो । सुन पसलमा बसेर गहना हेरिरहेका पौडेलले खुसुक्क खल्तीमा हालेको यो भिडियोमा देखिन्छ । उनले सिक्री चोरेको र थाहा पाएर माफ मागेको तथा पार्टीले मिलाएको चर्चा पोखरामा छ ।
भिडियोले मेयरका उम्मेदवार पौडेललाई मात्र होइन, पार्टीमाथि नै प्रहार गरेपछि एमालेलाई अप्ठ्यारो परेको थियो। त्यसपछि पूर्वमेयर तथा सांसद कृष्ण थापा मेयर उम्मेदवारमा छनौट भएका छन् । पौडेलको टिकट खोसेर थापालाई दिएको छ । एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र केन्द्रीय सदस्य खगराज अधिकारीको टकरावका कारण कास्कीमा एमाले विभाजित छ ।
पौडेलले गुरुङ प्यानलबाट टिकट पाएका हुन् । त्यसपछि उनीविरुद्ध प्रहार धेरै भयो । अन्ततः उनको टिकट फिर्ता लिएर खगराज प्यानलका थापालाई टिकट दिइएको हो ।
उपमेयरमा भने पुनः मन्जु गुरुङ नै उम्मेदवार बनेकी छिन् । यसअघि गुरुङले आफू उम्मेदवार नबन्ने बताएपनि अहिले मौन छिन् । थापा र गुरुङ दुवैजना केन्द्रीय सदस्य हुन् । थापालाई रोक्न पृथ्वीसुब्बाले प्रदेश सरकार आफ्नो बन्ने र त्यहाँ मत नपुग्ने कार्ड फालेका थिए । तर उनको कार्ड सफल हुन सकेन ।
अन्ततः थापालाई टिकट दिइएको छ । थापा २०५४ सालमा पनि पोखराको मेयर भएर काम गरेका ब्यक्ति हुन् । २०७० मा भने कास्की २ बाट चुनावमा पराजित भएका थिए ।