सत्ता गठवन्धन दलका नेताहरुलाई मन्त्री झाँक्रीको धम्की
शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सत्ता गठवन्धन दलका नेताहरुलाई धम्की दिएकी छिन् । स्थानीय तह भागवण्डामा असन्तुष्टि जनाउँदै उनले नेताहरुलाई धम्कीको शब्द प्रयोग गरेकी हुन ।
नेकपा एकिकृत समाजवादीकी सचिवसमेत रहेकी झाँक्रीले भागवण्डामा आफनो पार्टीलाई अपमान गरेको उल्लेख गरेकी छिन् । सामाजिक सञ्जाल ट्वीटरमा आफनो असन्तुष्टि जनाउँदै उनले ‘हिसाव मिलान’ गर्ने धम्की दिएकी छिन्।
‘गठबन्धन सन्तोषजनक र सम्मानजन भएन। गठबन्घनका दलहरूको विचमा हामीले आफै भित्र पनि हार्दिकतापूर्ण वातावरण बनाउन सकेनौ’ उनले लेखेकी छिन्–‘हाम्रा वार्ता सम्वादमा केही दम्भ देखियो। यो विचमा गठबन्धनका केही नेताहरूको अभिव्यक्ति सुन्दा लाग्छ एक दिन यसको हिसाव मिलान गर्नुपर्ने छ। बस !’
समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि भागवण्डामा असन्तुष्टि जनाउँदै आएका छन्। उनले केन्द्रमा नेतृत्व र ‘प्रेसर’ले काम गरेपनि जिल्ला–जिल्लामा भागबन्डाको अवस्था सन्तोषजनक नरहेको वताएका छन् । नेपालले २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले जितेको ठाउँमा आफ्नो पार्टीको पहिलो हक लाग्ने सहमति भएपनि सोही अनुसार जिल्ला तहको सिट बाँडफाँट नभएको बताए ।
‘पाँच दलीय गठबन्धनबीच महानगरपालिका र उपमहानगरपालिकामा गरिएको पदहरुको बाँडफाँट उत्साहवद्र्धक थियो । र यसले राम्रो सन्देश पनि दिएको छ’ उनले भने–‘तर विभिन्न जिल्लाको रिपोर्ट सुन्दाखेरी त्यति आशावादी÷उत्साही हुने स्थिति छैन।’