News

दिक्तेलको मेयरमा कसरी दर्ता भयो कांग्रेसका दुई जनाको उम्मेदवारी ?

दिक्तेलको मेयरमा कसरी दर्ता भयो कांग्रेसका दुई जनाको उम्मेदवारी ?

सत्ता गठवन्धनको किचलो र आफ्नै पार्टी भित्रको शक्ति संघर्षका कारण नेपाली कांग्रेसका धेरै उम्मेदवारले सोमवार मनोनयन दर्ताका क्रममा समस्या भोग्नु पर्यो। कतै एउटै स्थानीय तहको एकै पदका लागि दुई जना टिकट बोकेर पुगे भने कतै दुई जनाकै मनोनय दर्ता गर्नु पर्ने अवस्था पनि आयो।

यही समस्याका कारण खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकामा नेपाली कांग्रेसका तर्फबाट दुई जनाको मनोनयन दर्ता भएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकाको मेयरका लागि टिकटको हानाथाप चलिरहेका वेला प्रदेश १ कार्यसमितिले धर्मराज पोख्रेललाई मेयरको टिकट दियो।

सोमवार मात्रै टिकट हात परेपछि उनी हेलिकप्टर चढेर मनोनयन दर्ताका लागि दिक्तेल पुगे। तर, हेलिकप्टरबाट झर्ने वित्तिकै उनीमाथि आफनै कार्यकर्ताले आक्रमण गरे। उनलाई प्रहरीले सुरक्षा दिएर पार्टी कार्यालय पुर्यायो। पार्टी कार्यालयबाट प्रहरी र मानवअधिकार आयोगको टोलीको साथ लागेर उनी मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर कार्यकर्ताको नाराजुलुसकै विचमा उम्मेदवारी दर्ता गराए।

तर, त्यसको केही समयपछि नै कांग्रेस सभापति शेरवहादुर देउवाले हस्ताक्षर गरेको टिकट वोकेर तीर्थराज भट्टराई निर्वाचन अधिकृतको कार्यालय पुगे। देउवाले पत्र पठाएर कांग्रेसको आधिकारीक उम्मेदवार भट्टराई भएको जानकारी गराएपछि निर्वाचन अधिकृतको कार्यालयले उनको पनि उम्मेदवारी दर्ता गरायो।

अहिले निर्वाचन अधिकृतको कार्यालयले कांग्रेसको कुन उम्मेदवारलाई आधिकारीक्ता दिने भन्ने विषयमा प्रकृया अघि वढाईरहेको छ। सभापति देउवाले आफनो टिकट खोसेपछि धर्मराजले भने कानुनी उपचार खोज्ने वताएका छन् ।

धर्मराज पोखरेललाई प्रदेश नं १ ले टिकट दिएको थियो। केन्द्रीय सभापति शेरबहादुर देउवाले हस्तक्षेप गर्दै आधिकारीक उम्मेदवार तीर्थराज भट्टराई भएको भन्दै पत्र पठाएपछि भट्टराईले पनि कांग्रेसकै तर्फबाट उम्मेदवारी दिएका छन्। 

कांग्रेसको विधान अनुसार प्रदेशले दिएको टिकट नै आधिकारीक भएको पोख्रेलको दाबी छ। आफूले आधिकारीक उम्मेदवारको मान्यता नपाए कानुनी उपचार खोज्ने उनले बताएका छन्। 

विधानविपरित पत्र पठाएर देउवा पनि फसेको उनले बताए। आफू अरु उम्मेदवार जस्तै विधान अनुसार नै टिकट लिन प्रदेशमा पुगेको र प्रदेशले दिएको टिकटकै आधारमा उम्मेदवारी दर्ता गराएको वताएका उनले भट्टराईले विधान र नैतिकता बिर्सिएर जस्केलाबाट छिरेको आरोप लगाए ।

यस विषयमा सभापति देउवालाई नै भेट्ने आफुले तयारी गरेको पोखरेलले वताए । यसअघि राप्रपाबाट तीन पटक सांसदमा उठेका पोख्रेल चार वर्ष पहिले नेपाली कांग्रेसमा उठेका थिए। नरेशकुमार श्रेष्ठ सभापति हुँदा उनी उपसभापति थिए। अर्का उम्मेदवार तीर्थराज भट्टराई हालका जिल्ला उपसभापति हुन्। 

आफ्नो लडाईं तीर्थ भट्टराई विरुद्ध नभई विधान मिच्ने शेर बहादुरविरुद्ध भएको उनले बताए। यो नगरपालिकामा माओवादी र कांग्रेसबीच गठबन्धन भएको थियो। प्रमुख कांग्रेसले र उपप्रमुख माओवादीले पाउने गरी बाँडफाँड भएको थियो। 

विशेष