News

काठमाण्डौंमा सुनिता डंगोलको उम्मेदवारी महिलाको सम्मान की अपमान ?

काठमाण्डौंमा सुनिता डंगोलको उम्मेदवारी महिलाको सम्मान की अपमान ?

वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा देशको सर्वाधिक चासो र चर्चामा रहेको संघीय राजधानी काठमाडौको मेयरमा प्रतिपक्षी दल नेकपा एमालेले पूर्वमेयर केशव स्थापितलाई उम्मेदवार वनाएको छ। उपमेयरमा भने पुराना नेता/कार्यकर्तालाई पन्छाएर एमालेले युवालाई अगाडि सारेको छ। पूर्वमिस नेवाकी विजेता सुनिता डंगोल उपमेयरको उम्मेदवार वनेकी छिन् ।

मेयर उम्मेदवार स्थापितको नाम सधैं विवाद र चर्चामा रहने गरेपनि उपमेयरकी उम्मेदवार डंगोल खासै चर्चाको नाम होईन। एमालेले उपमेयर वनाएपछि उनको बारेमा धेरैले चासो राख्न थालेका छन् । सञ्चारकर्मीसमेत रहेकी डंगोलले काठमाण्डौंको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने भन्दै ‘८ खम्बे विकास मोडल’ पनि सार्वजनिक गरेकी थिईन। तर, एमालेले उम्मेदवार वनाउने वताएपछि आफनो ‘८ खम्बे विकास मोडल’ थन्क्याएर केशव स्थापितको ‘सिंगल झण्डा’ मुनी पुगेकी छिन। 

सन् २०११ मा मिस नेवाको ताज पहिरिएकी डंगोल रञ्जना लिपीलाई विश्वभर फैलाउन भूमिका खेलिरहेकी अभियन्ताका रुपमा परिचित छिन् । उनलाई कसैकसैले ‘लिपी क्वीन’ पनि भन्ने गरेका छन् । नेपाल टेलिभिजनमा शैक्षिक कार्यक्रम चलाउँने डंगोलले सामाजिक विज्ञानमा स्नातकोत्तर गरेकी छिन् । 

सोमवार उपमेयरको मनोनयन दर्ता गर्दै गर्दा उनले आफ्नो उम्मेद्वारीले युवा र महिलाको भावना सम्बोधन भएको उल्लेख गरिन। ‘सवैभन्दा ठूलो पार्टीले मलाई विश्वास गरेर उपमेयरको जिम्मेवारी दिनु भनेको मलाई मात्रै होइन, युवा, महिला, सामाजिक–सांस्कृतिक अभियान्ता लगायत सम्पूर्ण काठमाडौंबासीहरुको भावना सबैको प्रतिनिधित्व हुनेगरी युवाहरुलाई उपहारको रुपमा प्रदान गरेको अवसर हो भन्ने मैले ठाँनेकी छु’–डंगोलले भनेकी छिन्।

यतिमात्रै होईन, उनले मेयरको दावीसहित ‘८ खम्बे विकास मोडल’ सार्वजनिक गर्दा पनि अन्यायमा परेका महिलाहरुको संरक्षण, आवश्यक कानुनी सहयोग तथा सहजीकरण र महिलाहरुलाई आत्मरक्षाको तालिम आदिको व्यवस्था गरिने घोषणा गरेकी थिईन। उनले अघि सारेका ‘अल्पकालिन योजनाहरु’ को २२ नम्वर बुँदामा ‘महिला सेल बनाएर अन्यायमा परेका महिलाहरुको संरक्षण, आवश्यक कानुनी सहयोग तथा सहजीकरण र महिलाहरुलाई आत्मरक्षाको तालिम आदिको व्यवस्था गरिने छ’ भनेर उल्लेख छ।

तर, उनको उम्मेदवारी युवा र महिलाका लागि ‘हुँदै होईन’ भन्ने कुरा उम्मेदवारी दर्ताबाटै पुष्टि भएको छ। एमालेले अघि सारेका मेयर उम्मेदवार स्थापित विरुद्ध दुई सञ्चारकर्मी रश्मिला प्रजापति र उज्जला महर्जनले यौन दुराचारको आरोप लगाएका छन्। प्रजापति काठमाण्डौं महानगरपालिकाकी पुर्वकर्मचारी समेत हुन। स्थापितको यौन प्रस्ताव नमान्दा स्थापितले आफुलाई जागिरबाट निकालेको आरोप उनलेलगाएकी छिन् भने महर्जनले भने अन्तर्वार्ता लिन जाँदाको चिनजानका कारण फोन गरेर पटक पटक दुर्ब्यर्ववहार गरेको आरोप लगाएकी छिन् ।

उनीहरुका अनुसार स्थापितले अहिले पनि दर्जनौ महिलालाई यौन दुर्ब्यवहार गरिरहेको आरोप लगाएका छन् । यस्तो अवस्थामा डंगोल स्थापितको दौराको फेरो समाएर उपमेयरमा उम्मेदवारी दिन जानुनै महिला विरुद्धको कदम भएको कतिपयले अर्थ लगाउन थालेका छन् ।

यति मात्रै होईन, मेयरको उम्मेदवारी दिएर निस्कदै गरेका स्थापितलाई पत्रकारहरुले यौन दुर्ब्यवहारको आरोपमा विषयमा जिज्ञासा राखेका थिए । उनले ति जिज्ञासामा हल्का टिप्पणी गर्दै आरोप लगाउने महिलाहरूलाई पागलको संज्ञा दिएका थिए ।

’आजकल यो पागलहरुका लागि औषधि खान केही पैसा लाग्दैन । मेरो अरु भनाइ छैन । बेलाबेलामा यो इस्यु उठ्छ । त्यसमा मेरो भनाइ केही पनि छैन,’ उनले भने, ‘विवादमा आएन भने केशव स्थापित नै हुँदैन नि ।’

स्थापितले यति भन्दै गर्दा उनका समर्थकले तालि वजाए। कुराकानीका क्रममा उनीसँगै उपमेयरकी उम्मेदवार सुनिता डंगोल पनि उपस्थित थिइन् । तर, उनले त्यसको प्रतिवाद गर्नुको सट्टा हाँसेर समर्थन जनाईन। यो प्रकरणपछि डंगोलको बोली र ब्यवहार फरक भएको भन्दै काठमाण्डौवासी आलोचना गर्न थालेका छन् । 

यो पनि,

केशव स्थापित सुनिता डंगोल

विशेष