News

८० हजारको लोभलाग्दो विज्ञको जागिर छोडेर सुनिता किन आईन राजनीतिमा ?

८० हजारको लोभलाग्दो विज्ञको जागिर छोडेर सुनिता किन आईन राजनीतिमा ?

सरकारले वैशाख ३० गते स्थानीय तह निर्वाचन गर्ने निर्णय गरेपछि मेयर र अध्यक्षको उम्मेदवारी घोषणा गर्नेको होड चल्यो। संघीय राजधानी समेत रहेको काठमाण्डौंमा त झन यसको असर अलि वढि हुने नै भयो। राजनीतिक दलदेखि कलाकार र कर्मचारीसमेतले मेयरमा उम्मेदवारी दिने घोषणा गरे। मदनदास श्रेष्ठ, गायक तथा -यापर बालेन शाह, राजेश हमालसम्मको नाम चर्चामा रह्यो।

त्यही चर्चा र होडवाजीमा पुर्व मिस नेवाः तथा मोडेल सुनिता डंगोलको नाम पनि मिसियो। ८ खम्वे विकास मोडल सार्वजनिक गर्दै मेयरमा उम्मेदवारी दिने घोषणा गरेकी उनी एकाएक चर्चामा आईन। सुरुमा त उनलाई -यापर बालेनकै दाँजोमा राखेर तुलना गरियो। तर, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नै उपमेयर वनाउने निर्णय गरेपछि उनलाई हेर्ने नजर फेरिएको छ।

सुरुका केही दिन ‘सुनिता डंगोल को हो ?’ भन्ने आसयमा सर्वसाधारणले उत्सुकता देखाए । राजधानी वाहिर ‘सुनिता डंगोल’ खासै चर्चाको नाम होईन, राजधानी भित्र भने उनी चर्चाको खुड्किलो चढ्दै गरेकी जुझारु युवा हुन। मिस नेवाः २०११ की विजेता डंगोल रैथाने नेवार समुदायबाट प्रतिनिधित्व गर्छिन। उनी संचारकर्मी, कुशल उदघोषक तथा आरजे–भिजे पनि हुन। भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी पहिलो पटक नेपाल भ्रमणमा आउँदा उनको एउटा कार्यक्रमको उद्घोषण डंगोलले नै गरेकी थिईन। यही वेलादेखि उनी एमाले अध्यक्ष केपी ओलीको नजरमा परेको चर्चा छ।

रञ्जना लिपीलाई विश्वभर फैलाउन भूमिका खेलिरहेकी अभियन्ताका रुपमा उनको नाम परिचित छ। उनलाई कसैकसैले ‘लिपी क्वीन’ पनि भन्ने गरेका छन् । नेपाल टेलिभिजनमा शैक्षिक कार्यक्रम चलाउँने डंगोलले सामाजिक विज्ञानमा स्नातकोत्तर गरेकी छिन् । 

जापान, कोरिया, जर्मनलगायत एक दर्जन बढी देशहरुको भ्रमण गरेकी उनले विदेशमा देखेका र भएका प्रविधिहरुलाई विकासका लागि प्रयोग गर्ने वताएकी छिन्। फोहरलाई मोहरमा बदल्ने सुत्र आफुसँग रहेको उनी दावी गर्छिन। संस्कृति संरक्षणका कुरामा जोड दिन्छिन्।

कसरी आईन राजनीतिमा
एकाएक चर्चामा आएर देशकै सवैभन्दा ठुलो पार्टी नेकपा एमालेकोतर्फबाट संघीय राजधानी समेत रहेको काठमाण्डौ महानगरपालिकाको उपमेयरको उम्मेदवार वन्नु चानचुने कुरा होईन। राजनीतिमा आफनो जिवनको उर्वर समय खेर फालेका नेताहरुलाई पछाडि धकेलेर उनी कसरी आईन भन्ने सर्वत्र चासो छ। किनकी डंगोलको पछाडि खासै लामो राजनीतिक पृष्ठभुमी भने छैन। 

उनी मात्र होईन, उनको परिवारमा नाम चल्ने गरेर राजनीतिमा जिवन विताएको सदस्य पनि छैन। उनी स्वयमले ‘गाउँमा राजनीति गर्ने मान्छे देखेर त्यसतर्फ आकर्षण वढेको’ वताउँने गरेकी छिन् । यस अर्थमा पनि उनलाई उपमेयरमै ल्याउनु पर्ने राजनीतक कारण छैन। उनलाई उपमेयरमा उम्मेदवार वनाएकोमा एमाले नगरकमिटिमा समेत विवाद छ।

तर, विवाद र असन्तुष्टिका विच उनी उपमेयरको उम्मेदवार वनिन्। उनी नेकपा एमाले समर्थक र निवर्तमान मेयर विद्यासुन्दर शाक्यको नजिकको मान्छे भएको देखिएको छ। मेयर विद्यासुन्दर शाक्यको फेसवुक एकाउण्टमा दुई पटक सुनिता डंगोलको फोटो अपलोड गरिएको छ। पहिलो फोटो सन २०१४ अगष्ट २० मा अपलोड गरिएको छ, जसमा डंगोल सिंगल छिन्। दोस्रो फोटो सन २०१४ अक्टोवर १८ मा अपलोड गरिएको छ। जुन फोटोमा विद्यासुन्दर र सुनिता दुवै जना छन्। विद्यासुन्दरले सुनितालाई कुनै प्रमाणपत्र र पुरस्कार दिदै गरेको र काँधमा हात राखेर आत्मियता दर्शाएको देखिन्छ। दुवै फोटो सुनितालाई पनि ट्याग गरिएको छ।

यति मात्रै होईन, उनको प्रतिभा र क्षमताको कदर गर्दै मेयर विद्यासुन्दरले आफनो कार्यकालमा सुनितालाई नियुक्ति समेत दिलाएको पाईएको छ। काठमाण्डौं महानगरपालिकाको शहरी योजना आयोगमा सुनिता विज्ञको रुपमा नियुक्त भएकी थिईन। उनको पारिश्रमिक करिव ८० हजार थियो । काठमाण्डौं महानगरपालिकाका सुचना अधिकारी बसन्त आचार्यले पनि सुनिता आयोगमा नियुक्त भएको पुष्टि गरे। तर, उक्त आयोजना काठमाण्डौं महानगरपालिका अन्तर्गत नभई राष्ट्रिय योजना आयोग अन्तर्गत रहेको उनले वताए ।

काठमाण्डौं महानगरपालिकाको शहरी योजना आयोगमा हाल सरोज बस्नेत उपाध्यक्ष छन्। काठमाडौं महानगरको ३३ औं नगर कार्यपालिका बैठकले बस्नेतलाई उपाध्यक्ष नियुक्त गरेको हो। शहरी योजनाविद बस्नेत यसअघि शहरी योजना आयोगकै सदस्य सचिव थिए। काठमाडौँ महानगरपालिका शहरी योजना आयोग (गठन तथा सञ्चालन कार्यविधि) ऐन, २०७५ को व्यवस्थाबमोजिम बस्नेतलाई उपाध्यक्ष नियुक्त गरिएको हो। सोही ऐन अन्तर्गत सुनितालाई पनि विद्यासुन्दरले विज्ञको रुपमा नियुक्त गरी तलव खुवाएको श्रोतको दावी छ।

चुनावी चर्चा सुरु भएपछि डंगोलले पदबाट राजिनामा दिएको काठमाण्डौं महानगरपालिकाका सुचना अधिकारी आचार्यले वताए ।

यो पनि,

काठमाण्डौंमा सुनिता डंगोलको उम्मेदवारी महिलाको सम्मान की अपमान ?
 

सुनिता डंगोल

विशेष