फिल्मको असरः सँगैको कोठा भाडामा लिएर ५ करोडको सुनचाँदी चोरी
बुटवलमा सोमवार राती फिल्मी शैलीमा ५ करोड मुल्य वरावरको सुनचाँदी चोरी भएको छ। बुटवल उपमहानगरपालिका– ६ स्थित गुल्मेली कोटेश्वर मजुवा सुनचाँदी पसलबाट यसरी चोरी भएको हो ।
चोरले साढे ४ केजी सुन र चादीका गरगहना र नगद चोरी गरेको संचालक वीरबहादुर सुनारले बताए। पसलबाट २२ तोला काँचो सुन र अरु तयारी गरगहना गरी ५ करोड बराबरको लुटपाट भएको सञ्चालकको दावी छ।
जानकारी अनुसार भारतबाट आएका ब्यक्तिले योजनावद्ध रुपमा पसलमा चोरी गरेको पाईएको छ। उनीहरु समान चोरी गरेर भारततर्फ नै भागेको आशंका गरिएको छ। बुटवल सुनचाँदी व्यवसायी संघले बुधबार बिहान पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार चोरहरुले सुन पसल नजिकै व्यवसाय गर्न भनेर कोठा भाडामा लिएका थिए।
घरधनी योगेन्द्र अग्रहरिसँग वकिल समेत राखेर विभिन्न कागजात बुझाएर भाडाको सम्झौता गरेको पाईएको छ। व्यवसायका लागि अग्रिम पेस्कीसमेत बुझाएको अग्रहरीले वताए । भाडामा लिएको कोठा रंगरोगन गर्ने लगायतका काम पनि गर्दै आएका थिए । तर, यही विचमा पसल फोडेर चोरी गरी उनीहरु फरार भएका छन्।
ग्यास वेल्डिङ मेसिनलगायतका विभिन्न प्रकारका आधुनिक औजार प्रयोग गरी सुन राखेको लकर समेत टुक्रा टुक्रा पारिएको छ। सामान चोरी गरी उनीहरु मोवाईबाट सिम समेत निकालेर फरार भएको अनुसन्धानबाट खुलेको छ। उनीहरुले प्रयोग गरेको मोवाईल सिमको नम्बरलाई पच्छ्याउँदा मंगलबार ११ बजे सुनौली टावरमा लोकेशन देखाएको छ। कपिलवस्तुको तौलिहवाबाट मोबाइल फोनको सिम निकालेर उनीहरु भारत पसेका छन्।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी नवरत्न पौडेलले घटनाबारे अनुसन्धान भइरहेको बताए। उनीहरु भारतको उत्तर प्रदेश देवरिया जिल्ला अगस्तपार बस्ने सत्येन्द्र कुमार गौतम र उत्तरप्रदेश नविनमण्डी भोला रोड मुल्तान नगर बस्ने राजिव शर्मा रहेको खुलेको छ।
आधारकार्ड, सिसिटिभी फुटेज, घरभाडा सम्झौता पत्र, टेक्निकल एनालाइसिस र अन्य अनुसन्धानबाट उनीहरु संलग्न रहेको हुनसक्ने देखिएको हो। प्रहरीले सीमा क्षेत्र र भारतिय प्रहरीहरूसँग समन्वय भइरहेको जनाएको छ। आवश्यक परे भारतमै पुगेर पनि यसको अनुसन्धान तयारी प्रहरीले गरिरहेको छ।