News

पोखरा कांग्रेस पार्टी कार्यालयमा तोडफोड, यस्तो छ नालिवेली

पोखरा कांग्रेस पार्टी कार्यालयमा तोडफोड, यस्तो छ नालिवेली

पोखरा महानगरको नेतृत्व नेकपा एकिकृत समाजवादीलाई दिने निर्णयले आक्रोशित नेपाली कांग्रेसका नेता/कार्यकर्ताले आज आफ्नै पार्टी कार्यालयमा तोडफोड गरेका छन् । पोखरा महानगरपालिकामा आज आयोजित घोषणापत्र सार्वजनिक कार्यक्रममा अवरोध गरेका उनीहरुले त्यसपछि कार्यालयमा तोडफोड गरेका हुन।

पोखरामा गठबन्धनले बिहीबार दिउँसो स्थानीय निर्वाचनका लागि पोखरा महानगरको घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम राखेको थियो । तर, कार्यक्रमस्थलबाहिर कांग्रेस कार्यकर्ताले होहल्ला र नाराबाजी गरे। रुष्ट रहेका कार्यकर्ताले वडा तहमा पनि कांग्रेसले जित्ने ठाउँ बाँडफाँट गर्न लागेको भन्दै विरोध गरेका छन् । 

‘गठबन्धन चाहिँदैन, रुख बेच्न पाइँदैन’ भन्ने नारा लगाउँदै कार्यकर्ताले घोषणापत्र सार्वजनिक गर्ने स्थलमा नाराबाजी गरेका थिए। यसअघि जिल्ला नेताहरुलाई थुनेर कार्यकर्ताले वडामा एक्ला एक्लै लड्ने घोषणा जिल्ला सभापति किशोरदत्त बरालबाट गराएका थिए । तर, गठबन्धन दलका माओवादी, नेकपा एस लगायतले वडामा पनि गठबन्धन हुनुपर्ने दबाब दिएका छन् ।

कार्यकर्ताको आग्रहलाई अवज्ञा गरेपछि कांग्रेस कार्यकर्ताले पत्रकार सम्मेलन सकिएलगत्तै प्रदेश कार्यालय पुगेर तोडफोड गरेका हुन्। तोडफोडबाट प्रदेश कार्यालयमा क्षति पुगेको छ। कास्की प्रहरीका प्रवक्ता सुन्दर तिवारीका अनुसार तोडफोडमा संलग्न २३ जनालाई पक्राउ गरिएको छ। 

माओवादी केन्द्रले पोखराका ३३ वटै वडामा कांग्रेसले एकलौटी उम्मेदवार उठाएको र आफूले भाग नपाएको भन्दै विरोध जनाएपछि गठबन्धनले माओवादीलाई पनि केही वडाको नेतृत्व दिने सहमति गर्न लागेको भन्दै कांग्रेस कार्यकर्ता विरोधमा उत्रिएका हुन्।
 

विशेष