News

२ किलो सुन भाग लगाउँदै गर्दा यसरी पक्राउ परे विमानस्थलका कर्मचारी

२ किलो सुन भाग लगाउँदै गर्दा यसरी पक्राउ परे विमानस्थलका कर्मचारी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानको शौचालयमा २ किलो ३ सय ३२ ग्राम सुन फेला परेपछि प्रहरीले कमैचारीसहित पाँच जनालाई पक्राउ गरेको छ। 

दुबईबाट काठमाडौं आएको हिमालय एयरलाइन्सको विमान भित्रको शौचालयमा सुन फेला परेको हो। सरसफाइ गर्ने क्रममा विमानको शौचालय भित्र फोहरसँगै रहेको सुनका विस्कुटहरू लिएर कर्मचारीहरु बाहिर निस्कने क्रममा पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा पाँचथर याङवरक गाउँपालिका–४ का २८ वर्षीय भिम कुमार माबो, नुवाकोट तादी गाउँपालिका–५ का २७ वर्षीय सुमन तामाङ, उदयपुर लिम्चुङबुङ गाउँपालिका–२ का २८ वर्षीय राजेश राई, दोलखा गौरीशंकर गाउँपालिका–२ का ४१ वर्षीय हेम बहादुर थापा र सप्तरी सुरूंगा नगरपालिका–४ का ३६ वर्षिय ताराकान्त चौधरी रहेको विमानस्थल कार्यालयले जानकारी दिएको छ।

बाहिर ल्याई फोहोर जम्मा गर्ने स्थानमा आई निजसँगै काम गर्ने सहकर्मी साथी सुमनलाई सुनको बिस्कुटहरु बाँडी लग्ने क्रममा पक्राउ गरेको हो । भीमले बिमानको शौचालय भित्र फोहरसँगै फेला पारेका सुनका विस्कुटहरू बाहिर फोहोर जम्मा गर्ने स्थानमा आएर उनीसँगै काम गर्ने सुमन तामाङसँग बाँडेका थिए।

त्यसपछि सुनका बिस्कुट आ–आफ्नो मनि पर्समा  लुकाएर विमानस्थलको फलामे गेटहुँदै बाहिर निस्कने क्रममा स्क्रिनिङ गर्दा दुबैको साथबाट समान १०–१० वटा सुनको बिस्कुट फेला परेको प्रहरीले जनाएको छ।


उनीहरूलाई नियन्त्रणमा लिएर बरामद सुनसहित आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाएको प्रहरीले जनाएको छ। यो घट्नासँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत फेरि संगठित रुपमा सुन तस्करी हुन थालेको पाईएको छ । 

सरकारले साढे ३३ किलो सुन तस्करी प्रकरणको छानबिनका लागि उच्च स्तरीय समिति बनाएर अनुसन्धान गरेयता संगठित रुपमा सुन तस्करी भएको भटिएको थिएन । 
 

विशेष