News

केशव स्थापितका विकास योजनाः प्रतिस्पर्धी शहरदेखि एकिकृत वस्ति निर्माणसम्म

केशव स्थापितका विकास योजनाः प्रतिस्पर्धी शहरदेखि एकिकृत वस्ति निर्माणसम्म

काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितविरूद्ध यतिवेला यौन दुराचारको आरोप चर्को छ। पाईला–पाईलामा उनले यसैसँग सम्वन्धित प्रश्नको सामाना गरिरहेका छन्। एउटा तप्काले उनलाई यौन दुराचारीका रुपमा हेरिरहेको छ र त्यही अनुसार प्रचार गरिरहेको छ।

अरु वेला केशव स्थापितको अगाडि पर्न हच्किनेहरु अहिले उनको अनुहार अगाडि औला ठड्याएर खिसी–टिउरी गरिरहेका छन् । यो पक्षका कुरा सुन्ने हो भने ‘केशव स्थापित भन्ने मान्छे माटोमै मिलिसक्यो, अव उबाट कुनै पनि कुराको अपेक्षा राख्नु नै बकार हो’ भन्ने वुझ्न धेरै सोचिरहन पर्दैन। केशव स्थापित भन्ने मान्छेको अस्तित्व सकियो भन्ने आसयमा उनीहरु कुरा गर्छन। ‘मेयरमा त के समाजमा पनि राख्न अयोग्य ब्यक्ति’ का रुपमा स्थापितलाई ‘स्थापित’ गर्ने प्रयास भईरहेको छ। 

तर, अर्को पक्षले भने स्थापित विरूद्ध षडयन्त्रपूर्वक सोचिविचारीकन यो मुद्दा उठाईएको र चुनाव प्रभावित गर्ने उद्देश्यले लगाइएको आरोपका रुपमा परिभाषित गरिरहेको छ। अरुको त कुरै छोडौं स्थापितको पार्टी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि त्यही भन्छन्। उनका अनुसार स्थापितलाई लगाईएको आरोप चुनाव प्रभावित पार्ने ‘टुल्स’ बाहेक अर्को केही होईन।

‘मिटु कति बेला आउँछ भन्दा चुनावका बेला, चुनाव आयो कि मिटु आउँछ। यस्ता बेलामा चरित्र हत्याका कुरा आउँछन्’ उनले भनेका छन्–‘मिटुको के जवाफ हुन्छ? हामी यस्ता कुरामा होइन, महान् विषयमा अगाडि बढेका छौं। महिला अस्मिताको सम्मानको सन्दर्भमा एमाले जति संवेदनशील अरू कोही छैन।’ओलीको यो अभिब्यक्तिले के देखाउँछ भने एमाले यो विषयमा थोरै पनि गम्भिर छैन र विचलित पनि छैन।

जे सुकै भएपनि स्थापितमाथि गम्भिर आरोप लागेको छ। उनीमाथि लागेको आरोप निचोडमा पुग्ला नै। यदि यो विषयलाई छोडेर कुरा गर्ने हो भने उनी विरुद्ध प्रचार गरिए झै ‘स्थापित माटोमै मिलिसकेका ब्यक्ति’ भने होईनन्। उनमा अनेकौ सम्भावना छन् ।

केशब स्थापित जति नै गफाडी र सन्काहा भएपनि काम गर्ने सबालमा जनताको नजरमा परेका व्यक्ति हुन । २०५१ सालमा धेरै बिबाद र तीव्र आलोचनावीच पनि स्थापितले खेलकुद परिषद्को सदस्य सचिव भएर राम्रो काम गरेर देखाएका थिए। त्यसपछि उनी ०४९ को स्थानीय निकायको चुनावमा उपमेयरमा पराजित भए। तर ०५४ मा मेयर नै जितेर देखाई दिए। मेयर हुँदा बिबाद र आलोचनाका बीचमा पनि उनले राम्रा र उदाहरण योग्य काम गरेका छन् ।

उनले हालको माइतीघर मण्डला रहेको व्यस्त बजारमा सडक अतिक्रमण गरेर बनाएको बजार नै भत्काएर रातारात आकर्षक मण्डला तयार पारेका थिए । कालिमाटी कुलेश्वर खण्ड विस्तार गरेर जनताको नजरमा बिकासप्रेमी नेताको उपमा पनि पाएका मान्छे हुन स्थापित। आधुनिक काठमाण्डौंमा आशा र उर्जाको प्राण भर्ने मान्छे हुन उनी।

मान्छेलाई उत्साहित पार्ने, प्रेरणा भर्ने र झिलिमिली सपनाको खेति गर्ने मान्छेमा गनिन्छन । बाबु बितेको बेला पनि सडकमा बसेर एक्सकाभेटर दौडाउने मान्छे हुन। राष्ट्रियस्तरको व्यक्तित्व भएका काठमाडौँको रैथाने नेवार हुन । खरो र स्पष्ट बोल्छन्। बोलीहाल्ने, सपना देखाई हाल्ने, योजना सुनाई हाल्ने, आशाबादी बन्न प्रेरित गर्ने व्यक्तिको रुपमा नेता कार्यकर्ताको वीचमा छवि निर्माण गरेका स्थापित काम नगर्ने, कुरा मात्रै गर्नेको भिडमा काम गर्ने मान्छे हुन। 

समग्रमा क्षमता भएका नेता मै पर्छन स्थापित। व्यापारिक योजना र सपनाको जाल बुन्न सिपालु छन्। उनको कुरा धेरैलाई अपत्यारिलो लागेपछि उनका योजना र सपना पत्याउँने मात्रै हो भने देशको गरिबी, असमानता र पछौटेपन सकिन धेरै कुर्नु पर्दैन । अहिले पनि उनको त्यो जोश मरिसकेको छैन। उनी अहिले पनि निकै गतिला र गहकिला योजना वनाएर वसेका छन्। मेयरमा निर्वाचित भए त्यो सपना पुरा गर्छु भन्ने उनको इच्छा छ।

विश्वस्तरीय प्रतिस्पर्धी शहर बनाउने 
स्थापितले बाग्मती प्रदेशको प्रदेश सदस्यमा निर्वाचित भएपछि एउटा शहर वनाएर विकासको मुल फुटाउने योजना वनाएका थिए । उनी मन्त्री पनि भए तर, आफनो योजना सुरु गर्नै लाग्दा उनी मन्त्रीबाट हटाईए। जसका कारण उनको योजना गर्भमै तुहिए जस्तो भएको छ। उनले बाग्मती प्रदेशमा विश्वको प्रतिस्पर्धी शहरको मोडल अगाडि वढाउने योजना सुनाएका थिए । विदेशका शहर राम्रा भएपनि त्यहाँ अशान्ती र वेचैनी मात्रै रहेको वताउने उनीसँग न्यूयोर्कतिरका मानिस पनि आत्मशान्ति खोज्न आउने खालको एउटा शहर वनाउनु पर्ने योजना छ।

नदि प्रणाली र पहाडको मनोरम ठाउँलाई छानेर हिमाल हेर्न मिल्ने गरी यस्तो शहर वनाउने हो भने ‘पर्यटन वर्ष’ को औपचारिक्ता समाप्त हुने र नेपालीले विदेश जानु पर्ने बाध्यता पनि हट्ने उनको वुझाई छ। ‘अरु देशमा कस्ले नदि प्रणाली विकास गर्न सक्छ ? हामीकहाँ पहाड छ, त्यहीबाट हिमाल देखिन्छ। यो अन्त कुनै देशमा छैन’ उनी भन्छन्–‘यो इश्वर प्रदत्त हो, ब्यवस्थित गर्न मात्रै वाँकी छ।’

अन्य देशमा जस्तो सुकै सहर भएपनि चित्त शान्तिको लागि र मन वहालाउनका लागि नेपालनै आउनु पर्ने बातावरण तयार गर्नु पर्ने उनको भनाई छ। ‘हेर्न लायक कहाँ भन्दा हाम्रो ठाउँमा आउने हो। पुतली हेर्न, जिवजन्तु, चरा, वनस्पती हेर्न र जल प्रवाह गर्न कहाँ जाने भन्दा नेपाल बनाउनु पर्यो’ उनी थप्छन–‘विश्वमा भएका राम्रा कुराहरुमा हाम्रो विशिष्ठता थपेर विश्वका भब्य सहरभन्दा हाम्रो सहर युनिक बनाउन सकिन्छ।’

४० रोपनी जग्गामा १० वर्षभित्र त्यस्तो शहर तयार गर्न सकिने उनको भनाई छ। ‘युनिभर्सिटी जस्तो तयार हुन्छ। तीन वर्षपछि ५० हजार मानिसलाई भित्र्याउन सक्छ’ उनले भने–‘त्यहाँ कन्स्ट्रक्सन चै ५ प्रतिशत भन्दा नगर्ने भन्ने छ। मान्छेलाई अचम्म लाग्ला तर म अचम्म गर्नै आउने हो ।’

एकिकृत वस्ति निर्माण
राजनीतिक दलको झुठो आश्वासनका कारण नेपालले विकास गर्न नसकेको स्थापित वताउँछन्। अव नेताहरुले भोट माग्न जाँदा  पनि विजुली, धारा, सडकलगायतका झुठा आस्वासन छोडेर एकिकृत वस्ति निर्माणको योजना लिएर जानु पर्ने उनको भनाई छ। ‘अव एकिकृत जग्गा विकास गर्ने। ५÷६ आना जग्गामा स्थानान्तरण गर्न सक्ने घर निर्माण गर्ने’ उनी भन्छन्–‘अहिले विदेशमा रहेका लाखौं मानिसले जहाँत्यही जग्गामा पैसा हालेर फसिरहेका छन् । त्यस्ता मानिसलाई सस्तोमा जग्गा र घर दिन्छु भन्यो भने उनीहरुको पैसा परिचालन गर्न सकिन्छ। उनीहरुले घर पाउँछन्, आधुनिक वस्ति निर्माण हुन्छ। स्वास्थ्य शिक्षा, सिनेमा हल, स्विमिङ हलसहितको वस्ति निर्माण गर्ने। कस्ले रोकेको छ।’ जस्ले घर जग्गा किन्न सक्दैन र उनीहरुसँग थोरै पनि जग्गा छ भने त्यस्तो जग्गा सट्टापट्टा गरेर पनि वस्ति निर्माण गर्न सकिने उनको तर्क छ। नेताहरुले ढाँटिरहेको विषयमा उनी भन्छन्–‘सुरुवातनै असत्यवाट भएपछि सत्य कहाँबाट उभिन्छ।’

गाँजालाई वैधानिक्ता
स्थापितले बाग्मती प्रदेशको मन्त्री हुँदा नेपालमा प्रतिवन्धित गाँजा खेती गर्न पाउनु पर्छ भन्दै प्रदेश सभामा विधेयक नै दर्ता गरे। प्रदेश संसदीय दलको बैठकमा गाँजा खेति गर्न कानून पास हुनुपर्ने बताए । गाँजाबाट कपडा र तेल उत्पादन हुने र केजीकै १५ हजार रुपैयाँ पर्ने भएकाले सबैलाई गाँजाखेतिमा प्रोत्साहन गर्नुपर्ने उनको भनाई छ। 

‘अब हामी १५/२० रुपैयाँ केजी पर्ने अन्न किन उत्पादन गर्ने ? जबकी गाँजा एक केजीकै १५ हजार रुपैयाँ पर्छ, त्यही बेचेर करोडपति हुन सकिन्छ, करोडपति भएपछि सार्की पनि कार्की हुन्छ,’ उनी भन्छन्। केही मान्छेहरुले गाँजाखेतीको कुरालाई हाँसोको रुपमा लिने गरेको भन्दै उनी विदेशमा रहेका लाखौ युवालाई गाँजा खेती मार्फत स्वरोजगार वनाउन सकिने दावी गर्छन। बाँझो रहेको र छोडेर गएको जमिनमा यसको खेति गर्नुपर्नेमा उनको जोड छ । एक रोपनी गाँजाखेतीबाट ५ लाख कमाउन सकिने पनि उनको अनुमान छ ।

सुकुम्वासी नराख्ने
घर जग्गा र पेशा नभएका ब्यक्तिलाई काम दिने र जिविको पार्जनको ब्यवस्था गर्ने जिम्मेवारी पनि सरकारकै भएको भन्दै उनले हरेकलाई काम दिने र त्यसबाट आएको निश्चित प्रतिशत काट्ने ब्यवस्था मिलाएर एकिकृत वस्तिमा समावेश गराउन सकिने उनी तर्क गर्छन। ‘सुकुम्वासी भन्ने चिज नै रहँदैन। उसलाई सरकारले एडप्ट गर्ने हो। काम दिने हो। उसको आम्दानीको निश्चित प्रतिशत निश्चित समयसम्म काटेर घर उपलब्ध गराउने हो’ उनी भन्छन्–‘अनि कहाँ रहन्छ सुकुम्वासी ?’

ठुला योजना चाहियो
मान्छेहरुले अहिले खण्डित कल्पना गर्ने गरेको भन्दै ढल, पानी, विजुली, विद्यालय लगायतका आधारभुत आवश्यक्ता पुरा भए मान्छे खुसी हुने गरेको सुनाए। यसले नागरिकमा सन्तुष्टि त होला तर देशको विकास नहुने उनको तर्क छ। देशको विकासका लागि ठुलै योजना वनाउनु पर्ने र त्यसको लागि जिम्मेवारी लिने मान्छे चाहिने उनले वताए ।

ब्युरोक्रेसीमा जाँगर हाल्नु पर्यो
स्थापित नेपालको ब्युरोक्रेसी निराश रहेकाले उनीहरुमा जाँगर भर्ने काम सरकारले नै गर्नु पर्ने वताउँछन् । विकाशको सम्भावना पनि नदेखेको र आफनो सुरक्षा पनि नदेखेकाले कर्मचारी लोसे भएको उनको वुझाई छ। ‘वर्षौवर्षको ज्ञान छ, अनुभव छ तर केही गर्दैन’ उनी भन्छन–‘ब्युरोक्रेसी निरास छ। असुरक्षित छ। उनीहरु सुरक्षित भए भने र सम्भावना देखे भने केही गर्छन।’
 

केशव स्थापित

विशेष