News

भरतपुरका बागी उम्मेदवार पौडेललाई भुईँकटहर चुनाव चिन्ह

भरतपुरका बागी उम्मेदवार पौडेललाई भुईँकटहर चुनाव चिन्ह

स्थानीय तहको निर्वाचनको चर्चा र केन्द्रमा रहेको भरतपुर महानगरपाकिलाका बागी उम्मेदवार जगन्नाथ पौडेललाई भुइँकटहर चुनाव चिह्न परेको छ । भरतपुर नगरपालिकाका पूर्वउपमेयर पौडेल राष्ट्रियसभाका पूर्वसांसद हुन् ।

निर्वाचन आयोगले वैशाख ३० मा हुने स्थानीय तहका चुनावका उम्मेदवारहरुलाई चुनाव चिह्न प्रदान गर्ने क्रममा पौडेलले भइँकटर छाप पाएका हुन । त्यसैगरी काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहलाई लौरो चुनाव चिह्न परेको छ । त्यसैगरी पोखरा महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका गनेस पौडेललाई पनि चुनाव चिह्न लौरो परेको छ ।

खास गरी भरतपुर महानगरपालिका यस पटक उम्मेदवारका कारण निकै चर्चामा छ। माओवादीका अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेनु दाहाल उम्मेदवार वनेपछि सत्ता गठवन्धनलाई भरतपुर प्रतिष्ठाको विषय बनेको छ।

उनलाई सर्मथन गर्ने दल नेपाली कांग्रेसभित्रको भाँडभैलोका कारण कांग्रेसका पुराना नेता जगन्नाथ पौडेलले यहाँ मेयरमा बागी उम्मेदवारी दर्ता गराएका छन् । उनलाई फिर्ता गर्न राज्यले आफनो सम्पुर्ण शक्ति प्रयोग गर्यो। कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरवहादुर देउवालाई उम्मेदवारी फिर्ता गराउन गृहममन्त्री सहितका दुई जना मन्त्री नै खटाए । तर, पौडेल टसमस भएनन्।

पौडेलको उम्मेदवारी फिर्ता गराउन राज्यसत्ता नै लागिपरेको घटनाले सत्ता गठबन्धनका लागि भरतपुर कति प्राथमिकतामा छ भन्ने प्रस्ट छ । गृहमन्त्री बालकृष्ण खाँण र प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठदेखि पूर्व प्रधानन्यायधीश गोपालप्रसाद पराजुलीसम्म पौडेलको उम्मेदवारी फिर्ता गराउन लागि परे । तर, उनले कसैको आग्रहलाई स्विकार गर्न नसकेनन्। त्यसैले उनलाई जिवनभर लगानी गरेको पार्टीले साधारण सदस्य समेत नरहने गरी निस्कासन गर्यो ।

तर, उनी अहिले पनि कांग्रेसको अधिकांश भोट पाउनेमा निश्चिन्त छन् । चितवनमा कांग्रेसको अधिक संख्या संस्थापन इतरमा छ । संस्थापन इतरले गठवन्धन गर्नै नहुने अडान लिईरहेका वेला सभापति देउवाले गठवन्धन गर्ने निर्णय गरे। त्यसैले इतरसमुह पौडेलको पक्षमा छ भन्ने वुझाई छ। अर्कोतर्फ जिल्लाको नेतृत्वमा देउवाको रुची विपरीतका पात्रहरु छन् र जिल्लाबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्छन् ।

अघिल्लो पटक रेनुलाई मेयर स्वीकार गरेका भरतपुरका कांग्रेस यसपटक कुनै पनि हालतमा माओवादीलाई कांग्रेसले समर्थन गर्न नहुने लाइनमा उभिए । चैत २० गते जिल्ला कार्यसमितिको बैठकबाट सर्वसम्मत र चैत २९ गते महानगरका वडा सभापतिहरुको बैठकले मेयर कांग्रेसले नछाड्ने निर्णय लियो ।

तर, नेतृत्वले यसलाई वेवास्ता गर्यो। जिल्लाका पुराना नेताले भने आफनो अडानलाई कायम राखे । उनीहरुले पूर्व सभापति कृष्णलाल सापकोटाको नेतृत्वमा पूर्व सभापति, केन्द्रीय सदस्य, क्षेत्रीय सभापति, वडा सभापति, पूर्व सांसदहरुको वैठक वसाएर पौडेललाई मेयरको उम्मेदवार बनाउने निर्णय गरे। ८४ वर्षीय नेता सापकोटा प्रस्तावक बसे भने, चितवनको महिला आन्दोलनमा अग्रणी छवि बनाएकी नेता मीना खरेल प्रस्तावक बसिन् ।

उम्मेदवार, प्रश्तावक वा समर्थक मध्ये कसैलाई गलाएर उम्मेदवारी फिर्ता गराउने राज्यको योजना यसैका कारण अफल भयो। तीन जना मध्ये कोही पनि गल्न तयार नभएपछि गृहमन्त्री खाँण र राज्यमन्त्री श्रेष्ठ फर्किए। यो दौडधुपले पौडेल अझै वलियो भएको आंकलन गर्न थालिएको छ। उनी उत्साहित भएर चुनावी तयारीमा लागेका छन् ।

केन्द्रीय नेताको दबावका कारण तनावमा रहेका पौडेल शनिबारबाट चुनावी अभियानमा होमिने तयारीमा छन् ।

जगन्नाथ पौडेल

विशेष