News

भ्यु टावरः गोरखपुर देखियो, रसुवा र तातोपानी किन देखिएन ?

भ्यु टावरः गोरखपुर देखियो, रसुवा र तातोपानी किन देखिएन ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत चैत १५ गते रुपन्देहीको तिलोत्तमा नगरपालिका पुगेर १ सय ३४ फिट अग्लो भ्यु टावर उद्घाटन गरे । तिलोत्तमा नगरपालिका–२, बनवाटिकामा रहेको १० तले यो टावर नगरपालिकाको साढे ११ करोड रुपैयाँ लगानीमा निर्माण भएको हो।

धरहरापछिको सवैभन्दा अग्लो भनिएको यो टावर उद्घाटनपछि अध्यक्ष ओलीले बाईनोकुलर लगाएर ओरीपरीको दृष्य अवलोकन गरे। उक्त भ्युटावरबाट भारतको गोरखपुरसम्म देख्न सकिने जनाईएको छ । 

यो उदहरण मात्रै हो, पछिल्लो समय देशभर ‘भ्यु टावर’ निर्माण गर्ने प्रतिस्पर्धा नै चलेको छ। प्रमुख राजनीतिक दलका ठुला नेताहरु यसको उद्घाटनमा तँछाड–मँछाड गरिरहेका छन् । करोडौँ लगानी गरेर निर्माण गरिएका यस्ता भ्यु टावरहरू पर्यटन प्रवद्र्धनका लागि बनाइएको दाबी गरिन्छ । तर, लहडका भरमा निर्माण भएका यस्ता टावरले पर्यटक आकर्षण गर्नुको सट्टा विकर्षित गरेको भन्दै आलोचना पनि भईरहेका छन्।

पर्यटकीय स्थानलाई नै कुरुप देखाउने गरी यी कंक्रिट टावर किन निर्माण भईरहेका छन् ? भन्ने विषयमा सर्वत्र आलोचना हुँदा पनि भ्यु टावरको लत लागेका स्थानीय र प्रदेश सरकारले त्यसलाई वास्ता गरेका छैनन्।

होचा भए भ्यु टावर 
देशभरी अनगिन्ति निर्माण भएका/भईरहेका भ्यूटावरको उपयोगिता त पछि देखिएला नै । तर, तत्काल भने सर्वसाधारणले अन्तराष्ट्रिय सम्वन्धलाई जोडेर टावरप्रतिको मोहलाई ब्यंग्य गर्न थालेका छन् । खास गरी एमाले अध्यक्ष ओलीले बाइनोकुलरले गोरखपुर हेरेपछि यसलाई ब्यंग्यात्मक रुपमा हेर्न थालिएको छ।

‘देशकै दोश्रो अग्लो टावरबाट हेर्दा पनि ओलीले भारत मात्र देखे, चीन देखेनन्। चीनले सीमा मिचेको र नाकावन्दी देखिएन। चीनियाँ सुरक्षाकर्मीले हुम्लामा नेपाली किसानको चौरी खाएको देखिएन। रसुवा र तातोपानी नाकामा चीनको अवरोध पनि देखिएन। यतिमात्रै होईन, नेपालमा वनेका कुनै पनि टावरलबाट चीनले तिब्बत निलेको देखिएन’ चीनको अघोषित नाकावन्दीका कारण ब्यापार÷ब्यवसाय धर्मराएका एक ब्यापारी भन्छन्–‘भारत हेर्न त घरका बार्दली नै काफि भए। कुनै डाँडामा चढेर हेर्दा पनि देख्न सकिने भयो। लोकतान्त्रिक मुलुक भएका कारण हिसाब–किताव, सन्धि–सम्झौता सवै देख्न पाईयो। समान–असमान सम्झौता वार्दलीबाटै देखिए त।’ 

भ्युटाबर नै नचढी एमसीसी सम्झौताको बुँदा–बुँदा देखियो। विकास बिरोधिहरुले एमसीसी बिरुद्ध गरेको तान्डब पनि देखियो। भारतसँग अहिलेसम्म गरेका सन्धि–सम्झौता देखियो। लोकतान्त्रिक अधिकार प्रयोग गर्दै नेपाल–भारतको सिमामा गएर अभियान्ताहरुले बिरोध गरेको देखियो। भारतको जन्तर मन्तरमा गएर नेपालीले प्रदर्शन गरेको पनि देखियो। तर, देशका अग्ला–अग्ला भ्यूटावर चढेर हेर्दा पनि कतिपय कुरा देखिएनन्।

भ्यूटावरबाट के देखिएन ?
– नेपाल–चीन रेल सम्झौता 
– बिआरआई सम्झौता
– नेपाल–चीन सीमाका पिल्लर 

यी कुराहरु हेर्न भ्युटावर होचा भए। पुड्का र फुच्चे टावरको कुरै छोडौं धरहराबाट हेर्दा पनि यी समस्या देखिएनन्। एमाले अधयक्ष ओलीले धरहराको २०औंतलाबाट हेरेकै हुन। तर, चीनसँग सम्वन्धित कुनै कुरा पनि उनले देखेनन्। चीनसँगका समस्या नदखिनुलाई भ्यु टावर होचा भएको रुपमा अर्थ लगाउन थालिएको छ। चीनसँगका समस्या हेर्न र त्यसको समाधान गरी दुई देशको सम्वन्ध मजवुत वनाउन बुर्जखलिफा भन्दा अग्ला भ्युटावर आवश्यक भएको भन्दै कतिपयले ब्यंग्य गर्ने गरेका छन् ।

यो पनि,

ओलीको उचाई मोहः धरहराबाट पुष्पवृष्टि, भ्यु टावरवाट गोरखपुर दर्शन

भ्यु टावर

विशेष