News

आयोगको प्रश्नपत्र आउट गर्नमा पुतलीसडक स्थित ‘नेम’ को संलग्नता छ?

माधबप्रसाद गुरुगाई

आयोगको प्रश्नपत्र आउट गर्नमा पुतलीसडक स्थित ‘नेम’ को संलग्नता छ?

‘पानी भएको देशमा पानी बेचेर मान्छे अर्बपति हुन्छन, पानी नभएको देशमा पनि पानी बेचेर अर्बपति। फरक यत्ति हो, पानी भएको देशमा पानी बेच्दा रुपैयाँमा अर्वपति र पानी नभएको देशमा पानी बेच्दा डलरमा।’

यो कुनै फिल्मको डाईलोग होईन, हालसालैको यथार्थ कुरा हो। झुस्स दारी पालेको, हेर्दा २५÷२६ वर्षका देखिन जोसिला युवक केही साथीहरुसँग गफिदै थिए। पुतली सडकको नेम इन्स्टिच्युट नजिक। उनको त्यो डाईलोग मेरो कानमा पर्यो। बुझ्दै जाँदा उनी शिक्षक सेवा आयोगको परिक्षाको तयारी गर्दै गरेका विद्यार्थी रहेछन, नेम इन्स्टिच्युटमा भर्ना भएका। उनको त्यो भनाईमा नेममा पढ्नै पर्ने बाध्यता र शिक्षाका नाममा बेरोजगारहरु ठगिएको आसय बुझ्न सकिन्थ्यो।
 
उनको यो कुराले मलाई आफैमाथि घटेको घट्ना याद आयो। करिब १३ वर्ष अगाडिको कुरा हो। कक्षा १२ सकेर म पनि एमबिबिएसको तयारी गर्न नेमको तयारी कक्षामा साथीहरुसहित भर्ना भएको थिए। त्यहाँ भर्ना हुने बेला एक कर्मचारीले भनेका थिए–‘यहाँ हामि पढाउँछौ, किताव पनि दिन्छौ, त्यो तपाईहरुले किन्नु पर्छ। परीक्षाको लागि त्यति तयारी गरे पुग्छ। प्रश्न त्यहाँ बाहिर बाट आउदैन।’ 

हामीलाई लाग्यो– ति मान्छेले गफ दिए। कक्षा सुरु भयो। केहि दिनपछि एक भारतीय मुलका शिक्षकले कक्षामा भने –‘एमबीबीएसको छात्रवृत्तिको सिट चाहिएको छ भने कक्षा सकेर मलाई भेटनु।’ हामि कक्षा सकेर उनलाई भेट्न गयौं। हामी ३÷४ जनाको समुहलाई लक्षित गरेर उनले भने– २० लाख चाहिन्छ, अभिभावकसँग कुरा गरेर आउनु। उनको यो कुरालाई हामीले खासै गम्भिर रुपमा लिएनौ, एमबीबीएसको तयारी पनि खास लगनशिल भएर नगरेकाले हामीले त्यसलाई सामान्य रुपमा लियौं। त्यसैले यस्ता कुरामा अभिभावकसँग कुरा गर्ने सवाल नै भएन। 

तर, हामीले त्यहाँ एउटा भारतीय शिक्षकले यस्तो भने भनेर एभिन्युज टेलिभिजनको कार्यालयमा भने जानकारी गराएका थियौं। केही समय पछि  मैले ‘काठमाण्डौं युनियभर्सिटी’ को परिक्षा दिएँ। नेमका कर्मचारीले भनेझै सबै प्रश्न त्यही किताबबाट आए। सामान्य तयारीमै पेइङमा नाम निस्कियो। तर म कतै भर्ना भने भईन। 

नेम इन्स्टिच्युट अगाडि झुस्स दारी पालेका ति युवकले उठाएको पानीको प्रसंग शिक्षक सेवा आयोगको रहेछ र परिक्षा अगाडि नै प्रश्नपत्र आउट हुने चर्चा । सेडेप नेपालका श्रोत ब्यक्ति डा. दत्तात्रय दहालले लेखेका दुई वटा पुस्तक ‘गुरु’ र ‘गुरु टु’ को चर्चा।  ‘गुरु’ बजारमा उपलब्ध हुनु र ‘गुरु टु’ नामक पुस्तक नेम इन्स्टिच्युटमा अध्ययन गर्ने बिधार्थीलाई मात्र बेच्नु। बजार नपठाउनु र अधिकाशं प्रश्न उही पुस्तकबाट, उही स्वरुपमा अलिकति पनि परिमार्जन नगरी समावेश हुनु।   वजारमा उपलब्ध अन्य केही पुस्तकहरु करिब १२५० पेजका करिव १ हजार ३ सयमा प्राप्त हुनु र गुरु नामको पुस्तक ३६५ पेजकै करिव १ हजार पर्नु। यो संयोग मात्र होईन, ति युवकको पानीको प्रसंग र गुरुको चर्चा यथार्थमा आधारित थियो भन्नेमा कुनै शंका रहेन।

यस्तो छ नेममा पढ्नै पर्ने बाध्यताः 
१. शिक्षक सेवा आयोगको परिक्षामा ‘गुरु’ र ‘गुरु टु’ जस्तै अन्य विषयको परिक्षामा पनि नेमबाट सिफारिस गरिएको पुस्तकबाट मात्रै प्रस्न आउने मान्यता 
२. महंगा र राम्रा शिक्षक 
३. विभिन्न ठाउँमा सेटिङ्ग 

कसरी लुट्छ नेमले ? 
१. नेममा भर्ना हुने विद्यार्थीलाई ‘हामीसँग प्रश्नपत्र आउट गर्न सक्ने क्षमता छ’ भन्ने र सोही अनुसारको भ्रम श्रृजना गर्ने गरेको। किन्न सक्नेलाई  नेमले प्रश्नपत्र पनि बेच्ने गरेको आरोप लाग्छ।  
२. नेमले आफुले सिफारिस गरेका पुस्तकबाट मात्र प्रश्न आउने दावी गर्छ। पछिल्लो घट्नाक्रमले नेमले सिफारिस गरेको पुस्तक गुरु र गुरु टुबाट मात्र प्रश्न आउनु संयोग मात्र हो र? भन्ने प्रश्न उठ्नु यसको उत्तर हो। 
३. धेरै पैसा दिएर उच्च सरकारी कर्मचारी, त्रिभुवन युनिभर्सिटीका प्रोफेसर, लेक्चरलाई प्रशिक्षक बनाएर ल्याएर मार्केटिङ गर्ने गरेको । यी र यस्तै कारणले भ्रम श्रृजना गरेर बेरोजगार युवालाई नेमले ठगी गर्ने गरेको आरोप लाग्दै आएको छ।

अतिथी प्रशिक्षक भएर जाने एक उच्च सरकारी कर्मचारी भन्छन–‘हामीले खास केही पढाउने त होईन,  गेस्ट लेक्चर भएर जाने हो। आफ्नो अनुभब शेयर गर्ने हो। तर एकदम राम्रो पैसा दिन्छ।’ 

यसरी पनि जोडिन्छ गुरु
केही दिनअघि सेडेप नेपालका श्रोत ब्यक्ति डा. दत्तात्रय दहालले जुमको प्रयोग गरेर आफनो पुस्तकको विज्ञापन गरेको भिडियो सार्वजनिक भयो। उनले गुरु वाहेक अन्य कुनै पनि पुस्तक नपढ्नु सवै प्रश्न त्यसैबाट पर्छ भन्दै परिक्षार्थीहरुलाई आश्वास्त पारिएको छ। 

भिडियोमा दहालले फागुन महिनाको २० गतेसम्म गुरु पुस्तक तीन पटक पढिसक्न आग्रह गरेका छन् । ‘यो २० गतेसम्म, यो फागुन महिनाको २० गतेसम्म तपाईले तीन चोटी पढिसक्नोस। त्यसपछि तपाई फेरी यो खालको जाँचमा वस्नोस, अव त्यतिवेला तपाईको परिक्षामा सुधार भएन भने, म त तपाईकै क्लासमा हुन्छुनी त। अनि मलाई भन्नोस। तर तीन चोटी पढिसक्नोस’ उनले भनेका छन–‘अरु कुनै किताव नहेर्नोस, कुनै पनि । कुनै पनि, मात्रै गुरु वुक पढ्नोस। मात्रै तीन चोटी। यो महिनाको २० गतेसम्म।’

दहालले आफुहरु रणनीतिक रुपमा अगाडि वढेको वताएका छन् । ‘हामी के गर्दैछौ भने रणनीतिक हिसावले, तपाईहरु पास हुनुपर्छ। तपाईहरुलाई यो महिनाभित्र हामीले कोर्ष सक्छौ। सवै कोर्ष सक्छौ। चैत १ गतेदेखि कम्तीमा दुई हप्ता वेलुका यसैगरी दुई घण्टा समय छुट्याउँछौं। आधा समय मुल–मुल कन्टेन्टको वारेमा तपाईहरुलाई भन्छो र आधा समय कैशन एन्सर यहाँबाट गछौं।’ उनले भनेका छन–‘तर, त्यो आईडि र पासवर्ड जल्ले एड्मिसन गर्नु भाको छ, त्यो भन्दा वाहेकलाई दिन पनि पाउनु हुन्न। त्यहाँ भित्र धेरै सेक्रेट कुराहरु तपाईलाई आउँछ। त्यो भन्दा वढि भन्न मिल्दैन। विशुद्ध परिक्षा केन्द्रित कृयाकलाप हामी गर्छौ।’

दहाल नेम इन्स्टिच्युटकै प्रशिक्षक हुन । उनले त्यहाँ शिक्षा सेवाको प्राविधिक सहायक, बीनी तथा शिक्षक सेवा आयोगका कक्षाहरु लिन्छन्।

फेसवुक पेजमा आदर्शका कुरा
माथिका घट्नाक्रमले नेमबाट भईरहेको गतिविधिका विषयमा प्रष्ट्याउँछ। आरोप लगाउनेहरुले यिनै आधारमा रहेर नेमलाई ठगी गरेको आरोप लगाउँछन्। तर, नेमको फेसवुक पेजमा भने निकै आदर्शका कुराहरु उल्लेख गरिएको छ।

विद्यार्थी र अभिभावकसँग अनावश्यक प्रतिवद्धता नगर्ने र हुँदै नभएका नजितामा दावी नगरेका कारणले विद्यार्थीहरू र अभिभावकहरूले नेमलाई विश्वास गरेका छ र यसले नै आफुहरुलाई थप जिम्मेवार वनाएको उल्लेख छ। 

नेम ‘विकास तथा नीति अध्ययन केन्द्र नेपाल’ अन्तर्गत सञ्चालनमा छ।

यो पनि, 

शिक्षक सेवा आयोगको परिक्षा पास गराइ दिने भन्दै लाखौं असुल्ने माथि प्रहरीको एक्सन

शिक्षक सेवा आयोगको प्रश्नपत्र बजारमा लिलामी, अडियो सम्वाद सार्वजनिक

शिक्षक सेवा आयोग

विशेष