News

तिन लाखको बार्गेनिङ गर्ने व्यक्ति प्रहरीको अनुसन्धान बाहिर

तिन लाखको बार्गेनिङ गर्ने व्यक्ति प्रहरीको अनुसन्धान बाहिर

शनिबार शिक्षक सेवा आयोगको प्राथमिक तह तृतिय श्रेणीको परिक्षा देशव्यापी रुपमा सञ्चालन भएको थियो । परिक्षा सञ्चालन हुनुभन्दा एकदिन अघि नै प्रश्न पत्र लिलाम विक्रि हुँदै गरेको अडियो सार्वजनिक भएको थियो । 


तीन लाख रुपैयाँमा प्रश्न पत्र हातमा पाईने भन्दै कुराकानी भएको अडियो रेकर्डमा डेढ लाख रुपैयाँ तत्काल र डेढ लाख रुपैयाँ पछि दिँदा हुने जनाईएको छ । दुई जनाको सम्वादमा दिपा नामकी महिलाको नाम लिईएको छ । सम्वाद गर्ने दुई जना मध्ये एक जनालाई नेपाल आजले पहिचान गरेको छ । यद्यपी तिनलाखको बार्गेनिङ गर्ने व्यक्ति भने प्रहरीको अनुसन्धान बाहिर रहेका छन् । 

 

पैसा दिएपछि प्रश्नपत्र पाइन्छ, भन्दै एक ब्यक्तिले अर्का ब्यक्तिलाई पैसा पठाउँन दबाव श्रृजना गरिरहेको अडियोमा सुन्न सकिन्छ । कुरामा कुनै तलमाथि हुँदैन एक सय प्रतिशत प्रश्न पत्र पाईन्छ भन्दै उनले विश्वास दिलाईरहेका छन् । काम नभए तत्कालै पैसा फिर्ता हुने पनि उनले जनाएका छन् ।

अर्को ब्यक्तिले भने प्रश्न पत्र कहाँबाट आउँछ, प्रश्न पत्र दिने ब्यक्ति कर्मचारी हुन की अन्य कोही ब्यक्ति हुन रु भन्ने स्पष्ट हुन खोजेका छन् । भोलीका दिनमा काम नभए पैसा पनि डुब्ने र मुद्दा मामिला गर्न पनि नसकिने भन्दै उनले त्यसमा थप प्रष्ट हुन खोजेका छन् । तर, प्रश्न पत्र दिलाउने ब्यक्तिले भने ‘यो नेपाल हो, यहाँ चै तपाईको सप्पै कुराहरु यसरी सेटिङबाट नै हुन्छ । भोली शिक्षक सेवा आयोग फेरी पनि खुल्दैन हैन । स्थायी जव भनेको स्थायी जव हुन्छ । वर्षको ५\६ लाख रुपैयाँ आईहाल्छ । यो धेरै राम्रो हो, यो चान्स हो, गोल्डेन अफर हो । खासमा यस्तो कुराहरुमा लोभ गर्नु हुँदैन’ भन्दै अर्को ब्यक्तिलाई विश्वास दिलाएका छन् । विश्वास दिलाईएका व्यक्ती डडेल्धुराको भागेश्वर गाउँपालिका ०५ का राजेन्द्र भट्ट भएको खुलेको छ । भट्ट शिक्षक सेवा आयोगका परिक्षार्थि हुन् ।


फोनमा संवाद गर्ने दुई मध्ये एक जना भट्ट भएको भन्ने जानकारी समाचार स्रोतबाट प्राप्त भएको थियो । सोही आधारमा नेपाल आजले भट्टको ९७४६९६९६...२ नम्बरको फोनमा सम्र्पक गरेर उक्त विषयको बारेमा निश्चित गरेको थियो । 


नेपाल आजले भट्टलाई अडियोको बारेमा कुरा गर्दा सुरुमा बोल्न नखोजेपनि पछिभने आफ्नो संग्लनता रहेको र जे भएको हो त्यही भन्न आफु तयार रहेको बताएका थिए । 


संवादको क्रममा भट्टले नेपाल आजसँग दिएको प्रतिक्रिया यस्तो छ, ‘मलाई प्रश्न पत्र मिलाई दिन्छु भनेर फोन गर्ने व्यक्ति मेरो नजिकका साथि हुन् । उनले मलाई फोन गरेर प्रश्न पत्र मिलाई दिन्छु भनेर भनेका थिए । म आफै पनि शिक्षक सेवाको परिक्षार्थी भएको हुनाले मिहिनेत गरेर पास हुनुपर्छ भन्ने लाग्छ । साथीले त्यसरी प्रश्न पत्र किनबेच हुन्छ पैसा पठाउनुस भनेपछि मैले उक्त अडियो अर्काे साथिलाई यस्तो कुरा आयो भनेर पठाएको थिए । त्यसपछि अडियो भाइरल भएछ । अडियो भाइरल भएपछि मलाई फोन गर्ने साथिले मुर्ख दिवस (अप्रिल फुल) भएकोले त्यस्तो भनेको भन्दै आत्तिदै फोन गरे ।’

तपाईले प्रश्न पत्र पाउनु भयो? भनेर प्रश्न गर्दा भट्टले आफुले प्रश्न पत्र नपाएको प्रतिक्रिया दिएकाछन् । आफुले पैँसा पनि नदिएको र प्रश्न पत्र पनि नपाएको उनको भनाई छ । 


तपाईको साथिले तपाईलाई मुर्ख बनाएको र प्रश्न पत्र किनबेच नभएको भनेर तपाई कसरी विश्वास गर्नुहुन्छ भन्ने प्रश्नमा भट्टको प्रतिक्रिया थियो, ‘उहाँपनि मेरो बेस्ट फ्रेण्ड हो । उहाँ साथिले मजाक गरेको रहेछ । नजिकको साथि भएको हुनाले हाम्रो हँसिमजाक चलि रहन्थ्यो । त्यसैले मजाक गरेको होकी भन्ने लाग्छ ।’


भट्टले मुर्ख दिवस मनाउँदा अडियो भाइरल भएको जिकिर गरेपनि उनिसँग फोन संवाद गर्ने व्यक्तिको बारेमा भने केही खुलाउन चाहेनन् । हामीले तपाईसँग बार्गेनिङ गर्ने व्यक्तिको सम्पर्क नम्बर उपलब्ध गराउनुस् भन्दा उक्त व्यक्ति आफ्नो मिल्ने साथि भएको र आफ्नो कारणले थप अप्ठयारोमा पर्ने भएको भन्दै नम्बर दिन नसकिने बरु अन्य ठाउँमा आवश्यक परे स्पष्टिकरण दिने भन्दै फोन काटे । 


प्रश्न पत्र समेत किनबेच भएको अडियो समेत सार्वजनिक भएपछि शिक्षक सेवा आयोगको परिक्षा निष्पक्ष नभएको भन्दै आलोचना समेत भएको छ । शिक्षक सेवा आयोगको जारी परिक्षामा दलालहरुले प्रश्न पत्र आउट गरेको आशंका वढेको छ । तीन लाख रुपैयाँमा प्रश्न पत्र हातमा पुर्यादिने भन्दै पैसाको दलाली भईरहेको अडियो रेकर्ड सार्वजनिक भएपछि प्रश्न पत्र आउट भएको आशंका गरिएको हो । 


सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद पाण्डेले अडियो प्रकरणसँग जोडिएका व्यक्तिहरु माथि अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिने बताएकाछन् । 

चैत १५ गतेबाट सुरु भएको आयोगको परीक्षामा पास गराइदिने भन्दै प्रतिव्यक्ति २ लाखका दरले रकम उठाएको खुलेको छ । प्रश्नपत्रसहित उत्तर लेखेर पठाइदिने सर्तमा पैसा उठाउने दुई जना व्यक्तिलाई सुर्खेत प्रहरीले खोजि गरेपनि प्रश्न पत्र किनबेचको बार्गेनिङ गर्ने व्यक्ति भने अनुसन्धानको दायरामा परेका छैनन् । 


कालीकोट गेला निवासी जगत शाहीले आयोगका पदाधिकारी र कर्मचारीसँग सेटिङ मिलाएर झन्डै ५०÷६० लाख रकम असुलेको पीडित परीक्षार्थीले बताएका छन् । कालिका माध्यमिक विद्यालयका शिक्षक खेमराज शाहीले परीक्षार्थीबाट प्रतिव्यक्ति दुई लाख असुलेको बताए ।

फरार जगत शाहीले परीक्षा समयअगावै प्रश्नपत्र लिक गराउने सर्तमा परीक्षार्थीबाट रकम असुलेका थिए । प्रश्नपत्र उपलब्ध नगराएपछि रकम बुझाएका परीक्षार्थीले शुक्रबार वीरेन्द्रनगरस्थित मंगलगढी चोकको होटल घेराउ गरेका थिए । त्यसपछि दुई तलाको घरबाट हाम फालेर भागेका शाही अझै फरार छन् । गैरकानुनी रूपमा रकम असुल्ने जगत र उनका सहयोगी मनराज शाहीलाई खोजी गरिरहेको सुर्खेत प्रहरी प्रमुख पदम विष्टले बताए ।

शिक्षक सेवा आयोग अडियो राजेन्द्र भट्ट

विशेष