News

छात्रामाथि यौन दुर्ब्यवहार गर्ने शिक्षक जोगाउन खोज्दा विद्यालयमा तोडफोड

छात्रामाथि यौन दुर्ब्यवहार गर्ने शिक्षक जोगाउन खोज्दा विद्यालयमा तोडफोड

मोरङको लेटाङका एक शिक्षकले विद्यार्थीलाई यौन दुर्ब्यवहार गरेको घट्नामा महिला प्रहरीको हत्या भएको घट्ना सेलाउन नपाउँदै मकवानपुरमा यस्तै अर्को घट्ना दोहोरिएको छ।

मकवानपुरको वाग्मती गाउँपालिका–८ मा रहेको जनता मावि फापरबारीका शिक्षकले छात्रामाथि यौन दुर्ब्यवहार गरेको भन्दै मंगलबार विद्यालयमा तोडफोड गरिएको छ। कक्षा ४ देखि ८ सम्म अध्ययनरत छात्राहरुले विद्यालयका तीन जना शिक्षक विरुद्ध यौन दुर्व्यवहारको आरोप लगाएका छन् ।

शिक्षकहरु रुद्र विक, हेम विक र लोक विकले आफूहरुलाई गलत नियतले छुने गरेको आरोप उनीहरुको छ। शिक्षकहरुका विषमा बालिकाहरुले चैतको १४ गते नै विद्यालयमा निवेदन दिएका थिए ।

सोही निवेदनका विषयमा छलफल गर्न मंगलबार विद्यालय परिसरमा बैठक बसेको थियो । बैठकमा भएको छलफलमा चित्त नबुझेको भन्दै विद्यार्थीहरुले विद्यालयमा तोडफोड गर्दै तालाबन्दी गरेको प्रधानाध्यापक बसन्तराज खरेलले जानकारी दिए ।

घटनापछि विद्यालयमा प्रहरीले सुरक्षा दिईरहेको छ। इलाका प्रहरी कार्यालय फापरबारीका प्रहरी निरीक्षक कमल लुङ्गेलीका अनुसार शिक्षकहरु विदामा रहेका कारण पक्राउ गरिएको छैन।

यसअघि चैतको पहिलो साता लेटाङको शिक्षा विकास माविका शिक्षकले विद्यार्थीलाई यौन दुर्ब्यवहार गरेको विरोधमा आन्दोलन भएको थियो। सो विषयमा चैत ६ गते हिंसात्मक झडप हुँदा प्रहरी जवान २६ वर्षीया उर्मिला श्रेष्ठको हत्या भएको थियो । 

उक्त घट्नामा प्रहरीले ६३ जना विरुद्ध अनुसन्धान सुरु गरेको छ । मोरङ प्रहरीले २० जना विरुद्ध कर्तव्य ज्यान र ४३ जना विरुद्ध अभद्र व्यवहारको मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको हो । उक्त प्रकरणमा प्रहरीले एक जना महिलासहित २० जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा लेटाङ नगरपालिका–५ का ४८ वर्षीय चन्द्र तामाङ भन्ने चन्द्रकान्ता लामा, सोही ठाउँका २५ वर्षीय रविन राई, २० वर्षीय रविन तामाङ, ६ का १८ वर्षीय बलराम भन्ने पालाराम राई, सोही वडाका १८ वर्षीय राम राई, १८ वर्षीय सन्तोष पौडेल, २० वर्षीय हिमाल श्रेष्ठ, लेटाङ–५ का २३ वर्षीय प्रदीप राई, सोही वडाकी १८ वर्षीय निशा पुलामी मगर, १८ वर्षीय सुरज अधिकारी, १९ वर्षीय सञ्जय मगर रहेका छन् ।

त्यस्तै मिक्लाजुङ गाउँपालिका–२ घर भई लेटाङ–५ का २० वर्षीय कृष्ण विक, लेटाङ–५ कै सञ्जीव प्रधान, प्रनिस कट्टेल, झविन भन्ने जस्वीन पाख्रिन, सनिल लिम्बू, प्रल्हाद खड्का, अर्पण परियार, पासाङ तामाङ र लेटाङ–६ का श्रवण यादवलाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूलाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यस्तै सञ्जोग राईसहित ४२ जना विरुद्ध प्रहरीले जिल्ला प्रशासन कार्यालय मोरङमा अभद्र व्यवहारको मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको छ । पक्राउ परेकामध्ये १० जना विद्यार्थी छन् । 
 

मकवानपुर यौन दुर्ब्यवहार विद्यालयमा तोडफोड जनता मावि फापरबारी

विशेष