News

एआइजी बढुवा विरुद्धको रिटमा अन्तरिम आदेश भएन

एआइजी बढुवा विरुद्धको रिटमा अन्तरिम आदेश भएन

नेपाल प्रहरीका तीन एआइजीका लागि भएको बढुवा सिफारिसविरुद्धको रिटमा अन्तरिम आदेश अस्वीकार भएको छ। डीआईजी ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्विकार गरेको हो।

सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको इजलासले ‘वरीयताक्रम अनुसार एआईजी बढुवा किन नभएको’ भन्ने प्रश्नको जवाफसहित छलफलमा उपस्थित हुन वादी–प्रतिवादी दुवै पक्षलाई बोलाएको छ। छलफलका लागि चैत २८ गतेको मिति तोकिएको छ। 

यसअघि गोलाप्रथाद्वारा तोकिएको पेसी लगातार दुई दिनसम्म हेर्न नमिल्ने न्यायाधीशको इजलासमा परेपछि आज तेस्रो दिन मंगलबार चुडालको इजलासमा परेको थियो।

चैत १ गते गृहसचिव नेतृत्वको बढुवा सिफारिस समितिले वसन्त पन्त, धीरजप्रताप सिंह र रवीन्द्र धानुकलाई बढुवाका लागि सिफारिस गरेको थियो। तर, आफूभन्दा जुनियर डीआईजीद्वय सिंह र धानुकलाई एआईजी बनाउन सिफारिस गरेको भन्दै उनीहरुले बढुवामाथिको उजुरी सुन्ने समितिमा उजुरी दिएका थिए। 

उक्त उजुरीमाथि कारबाही गर्दै लोकसेवा आयोगका अध्यक्ष रहेको उजुरी सुन्ने समितिले बढुवा सिफारिस समितिको निर्णयलाई सदर गरेसँगै सरकारले समेत उनीहरुलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो।  बढुवा भएकै दिन उनीहरुले एआईजीको फुलीसमेत लगाइसकेका छन्।
 

एआइजी

विशेष