News

देउवासहित उनका मन्त्रीले उम्मेदवारका लागि भोट माग्न नपाउने 

देउवासहित उनका मन्त्रीले उम्मेदवारका लागि भोट माग्न नपाउने 

निर्वाचन अयोगले स्थानीय तहको निर्वाचनमा प्रधानमन्त्री र मन्त्रीहरूले भोट माग्न नपाउने ब्यवस्था गरेको छ। आयोगले जारी गरेको निर्वाचन आचारसंहिता–०७८ ले प्रधानमन्त्री, मन्त्री वा सार्वजनिक पद धारण गरेको कसैले पनि आफ्नो पार्टी वा पार्टीको उम्मेदवार वा अन्य उम्मेदवारका लागि भोट माग्न नपाउने व्यवस्था गरेको हो । 

आचारसंहिताको यो व्यवस्था अनुसार कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासहित सरकारका मन्त्री, प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री एवम् सार्वजनिक पद धारण गरेको व्यक्तिले चुनावी सभामा भाग लिन र उम्मेदवारको लागि भोट माग्न पाउने छैनन् । 

यदि आफैँ उम्मेदवार भएको खण्डमा भने त्यस्ता मन्त्री वा पदाधिकारीले आफू उम्मेदवार भएको क्षेत्रमा मात्रै प्रचार प्रसार गर्न पाउँछन् । देशभर ७५३ वटै स्थानीय तहमा खडा हुने कांग्रेसका उम्मेदवारका लागि प्रधानमन्त्री भएका कारण कांग्रेस सभापति देउवाले समेत भोट माग्न नपाउने अयोगले जनाएको छ। 

आयोगले निर्वाचनमा भाग लिन दर्ता भएका ७९ वटा दललाई आचारसंहिता कार्यान्वयनका लागि प्रतिबद्धता लिन बोलाएको थियो । आचारसंहितामा सत्तारुढ गठबन्धनको नेतृत्वमा रहेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसहित दलका प्रतिनिधिहरूले हस्ताक्षर गरिसकेका छन् ।

आयोगले जारी गरेको आचारसंहितामा मंगलबार नेकपा एमालेका प्रतिनिधि नेताहरूले भने हस्ताक्षर गरेका छैनन् । तर, एमालेले आचारसंहितामा असहमति जनाएको भने होईन। 

३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ गतेदेखि मनोनयन दर्तालगायत निर्वाचन कार्यक्रम सार्वजनिक गरिसकेको छ । त्यसआधारमा निर्वाचन कार्यक्रम सुरू अब १७ दिनमात्रै बाँकी छ । तर, अहिलेसम्म आचारसंहिता लगाएको छैन । आयोगले निर्णय गरेपछि मात्रै आचारसंहिता लागू हुने व्यवस्था छ । 

आयोगका अनुसार नेपाल सरकार, प्रदेश सरकार र दुवै सरकारका मन्त्री, संवैधानिक निकाय र ती निकायका पदाधिकारी, प्रदेश सरकार निकाय र ती निकायका पदाधिकारी, स्थानीय कार्यपालिका र सोका सदस्य, संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा सुरक्षासम्बद्ध कर्मचारीलाई आचारसंहिता लागू हुनेछ ।

त्यस्तै, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय तथा कर्मचारी, राजनीतिक दल तथा दलको भ्रातृ संगठन, उम्मेदवार तथा उम्मेदवारको प्रतिनिधि, राजनीतिक दल तथा उम्मेदवारको मतदान एवम् मतगणना प्रतिनिधि, सार्वजनिक पद धारण गरेको व्यक्ति, अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्ता, पर्यवेक्षण संस्था तथा पर्यवेक्षक, सञ्चार प्रतिष्ठान, सोका कर्मचारी र सञ्चारकर्मीलाई आचारसंहिता लाग्छ ।

उनीहरुले कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा भोट माग्न वा प्रचार गर्न, सार्वजनिक सरकारी सम्पत्ति र सरकारी स्थान वा भवनहरूको उपयोग गर्न पाउदैनन् । निर्वाचन चिन्ह अंकित ज्याकेट, कमिज, भेष्ट, टिसर्ट, टोपी वा क्याप, गम्छा, मास्क, लकेट वा अन्य कुनै किसिमको पहिरन वा स्टीकर समेत बनाउन पाइदैन ।
 

विशेष