News

अनैतिक काममा अर्थमन्त्रीको सकृयताः शंकास्पद रकम छुटाउन चलखेल

अनैतिक काममा अर्थमन्त्रीको सकृयताः शंकास्पद रकम छुटाउन चलखेल

दुई महिनाअघि अछामको बान्नीगढी जयगढ घर भएका ब्यापारी पृथ्वीबहादुर शाह र परिवारको खातामा विदेशबाट करिब ४० करोड रुपैयाँ आयो। उक्त पैसा शंकास्पद देखिएपछि राष्ट्र बैंकले रोक्का गरेर राखेको छ। 

अमेरिकाको सरकारी निकाय फाइनान्सियल क्राइम इन्फोर्समेन्ट नेटवर्क (फिनसेन) ले नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेर शाह र परिवारका नाममा आएको रकम जफत गर्न तथा उक्त रकम अमेरिकालाई फिर्ता दिन राष्ट्र बैंकलाई पत्राचार गरेको थियो। पत्राचार लगत्तै राष्ट्र बैंकले सम्बन्धित खाता रोक्का गरी अनुसन्धान थालेको छ । राष्ट्र बैंककै सिफारिसमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि उक्त रकमका विषयमा अनुसन्धान गरिरहेका छ।

तर, सोही पैसा छुटाउन अहिले अर्थमन्त्री जनार्दन शर्माको सकृयता देखिएको छ। उनले पैसा छुटाउन लिखित निर्देशन नै दिएपछि विषय झन गम्भिर वनेको छ। मन्त्री शर्माले विभाग र राष्ट्र बैंक दुवैतर्फ दबाब दिईरहेको स्रोतको दावी छ।

तर, राष्ट्र बैंकले भने अर्थमन्त्रीले लिखित निर्देशन दिए पनि त्यसकै आधारमा रकम फुकुवा दिन नसकिने जनाएको छ। फिनसेनजस्ता निकायको पत्राचार तथा चेतावनी नमान्ने हो भने सम्पत्ति शुद्धीकरण निवारणमा काम नगरेको भन्दै अन्तर्राष्ट्रिय जगत्मा नेपाल कालोसूचीमा पर्ने अवस्था आउने भएकाले मन्त्रीको चिठीको मतलव नहुने एक अधिकारीले वताए ।

सर्वप्रथम सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग अर्थ मन्त्रालय मातहतको निकाय नभएको र अनुसन्धान गरिरहेको निकाय वा अधिकारीलाई अनुसन्धान रोक भनेर निर्देशन दिन कुनै पनि पदमा आसीन व्यक्तिले नमिल्ने विभागका अधिकारीहरु वताउँछन्।

सम्पत्ति सुद्धिकरण विभागलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा अर्थबाट प्रधानमन्त्री कार्यालय मातहत सारिएको छ । त्यस्तै राष्ट्र बैंक आफैंमा स्वायत्त नियामक निकाय हो, जसलाई अर्थमन्त्रीले निर्देशन दिन मिल्दैन ।

उता फिनसेनले भने शाहमाथिको अनुसन्धान प्रगतिबारे निरन्तर ताकेता गरिरहेको राष्ट्र बैंक स्रोत बताउँछ । राष्ट्र बैंकको वित्तीय जानकारी इकाइले कुनै कारोबार शंकास्पद देखिए अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई लेखेर पठाउने भएपनि अर्थमन्त्री शर्माको हस्तक्षेपका कारण प्रभावकारी अनुसन्धान हुन नसकेको वैंक श्रोतले जनाएको छ।

अर्थमन्त्री शर्माले पनि शाहका नाममा आएको रकम छुटाउन राष्ट्र बैंकलाई ‘निर्देशन’ दिएको स्वीकार गरेका छन । विभागले अनुसन्धान टुंग्याएर शाहलाई सफाइ दिइसकेपछि पनि बैंकले खाता रोक्का राखिरहेकाले फुकुवा गर्न अनुरोध गरिएको उनले वताए ।

शर्माले दाबी गरे पनि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले शाहलाई सफाइ दिएको छैन। रेमिट्यान्सको रकम भन्दै उनका विभिन्न कम्पनी र परिवारका सदस्यहरूको खातामा रकम जम्मा भएको हो । स्रोतका अनुसार ग्लोबल आईएमई, प्राइम, कुमारीलगायत बैंकहरूमा रकम आएको छ । जम्मा भएको केही रकम शाहले पहिले नै झिकेर अन्यत्रै लगिसकेका छन ।

शाहले काठमाडौंमा रेमिट, ट्राभल, टायल तथा मार्बलको पनि कारोबार गर्न कम्पनी खोले पनि उनको कारोबार यति ठूलो मात्रामा नभएको राष्ट्र बैंकको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

विशेष