News राजनीति

स्थानीय निर्वाचन अघि नै वाम एकताको प्रयास, एमाले र माओवादी नेता सम्वादमा

स्थानीय निर्वाचन अघि नै वाम एकताको प्रयास, एमाले र माओवादी नेता सम्वादमा

गत चैत १५ गते सम्पन्न नेपाली कांग्रेसको केन्द्रिय समिति वैठकले ‘बहुसंख्यक स्थानीय तहमा विजयी बन्ने बलियो आधार र परिस्थिति निर्माण भइसकेकाले सत्ता गठबन्धनका दलहरुसँग स्थानीय अवस्था र आवश्यकता अनुरुप गठबन्धन गर्ने’ निर्णय भएपछि नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल अलमलमा परे।

कांग्रेसले यस्तो निर्णय गर्नुले ‘चुनावी तालमेलको विश्वासिलो आधार नदिएको’ भन्दै उनले असन्तुष्टि पनि जनाए। यति मात्र होईन, कांग्रेसको यो ब्यवहारका कारण नेकपा माओवादी नेकपा एमालेतिर जान सक्ने चेतावनी पनि उनले दिएका थिए ।

चैत १७ गते वसेको सत्ता गठबन्धनको बैठकमै दाहालले यो विषय उठाए। कांग्रेससँग चुनावी तालमेलको विश्वासिलो आधार र तालमेलमा ‘सम्मानजनक हैसियत’को विषय उठाउँदै उनले ‘तपाईंहरुले जित त सुनिश्चित गरिसक्नुभएकै छ, अब त्यसमा के छलफल गराई भयो र ?’ भन्दै असन्तुष्टि जनाएका थिए ।

दाहालले एमाले र माओवादी केन्द्रका दोस्रो तहका नेताहरुबीच सम्वाद भइरहेको र कांग्रेस गम्भीर नभए अप्ठ्यारोमा पर्ने चेतावनी पनि दिए। त्यतिवेला दाहालको यो असन्तुष्टिलाई कतिपयले कांग्रेसलाई साईजमा राख्न फालेको एमाले कार्डका रुपमा अथ्र्याए। तर, पछिल्ला गतिविधिले वास्तमै एमाले र माओवादी विच गठवन्धन तयार हुन सक्ने सम्भावना देखिएका छन् ।

वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा वाम एकताका लागि एमाले भित्रै चर्को दवाव देखिएको छ। उनीहरुले माओवादीका दोस्रो तहका नेताहरुलगायत अन्य वाम दलहरूसँग अनौपचारिक छलफल पनि गरिरहेको स्रोतको दावी छ । एमाले उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव पृथ्बीसुब्बा गुरुङलगायतका नेताहरु अहिले पनि सक्रिय छन् ।


माओवादीका वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेतलगायतका नेताहरुसँग निरन्तर संवाद भइरहेको बताइएको छ । एमाले अध्यक्ष केपी ओलीको प्रस्तावको रुपमा स्थानीय तहको चुनावमा ७०/३० भागबण्डामा सहकार्य गर्न प्रस्ताव गरेको स्रोतले दावी गरेको छ । त्यसमा प्रचण्डले प्रष्ट जवाफ भने दिइसकेका छैनन् ।

स्थानीय तहको चुनावमा एमालेलाई साइजमा राख्न सके संघीय चुनावमा सहकार्यको संभावना हुनसक्ने आंकलन प्रचण्डले गरेका छन्। वामपन्थीहरुको सहकार्यका लागि चीनको पनि सद्भाव देखिएको छ। चीनियाँ विदेशमन्त्री वाङ यीको चैत ११ गतेदेखिको तीन दिने नेपाल भ्रमणका क्रममा पनि यो विषयले प्रवेश पाएको आँकल गरिएको छ।

यसैगरी, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूको उत्तरी छिमेकी चीनतर्फको दौडधूपका कारण पनि वाम गठबन्धनको चर्चा–परिचर्चा चल्ने गरेको छ। चैतको पहिलो साता एमाले उपाध्यक्ष विष्णु पौडेल नेतृत्वको एमाले टोली चीनबाट स्वदेश फर्किएको पाँच दिनपछि चैत ११ गते माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङको टोली चीनतर्फ प्रस्थान गरेको थियो।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग गठबन्धन गरेर स्थानीय तहको चुनावमा जान सक्ने संकेत गरेको, एमाले केन्द्रीय कमिटी बैठकले स्थानीय तहको निर्वाचनमा तालमेल गर्न विकल्प खुल्ला राखेको र एमाले र माओवादी केन्द्रका नेताहरू एकैपटक चीन जाने घटनालाई राजनीतिक विश्लेषकहरूले अर्थपुर्ण लिएका छन् । 

गठवन्धनलाई मुर्तरुप दिन अहिले पनि एमाले र माओवादीका नेताहरुवीच अनौपचारिक संवादले तीब्रता पाएको स्रोत बताउँछ । एमाले नेता पृथ्वी सुब्बा गुरुङले सार्वजनिक रुपमै एमाले र माओवादी मिल्न सक्ने बताएका छन् । तर, एमालेभित्र माधव नेपाललाई वाम सहकार्यमा जोड्न नहुने मत बलियो छ । खासगरी, केपी ओली निकट नेताहरु प्रचण्डभन्दा बढी माधव नेपालसँग रुष्ट छन् ।

एमालेले आफ्नो विगतको साख कायम राख्नका लागि यो पटक निकै मेहनेत गर्नुपर्ने बाध्यता रहेको छ । १ सयभन्दा कम मतले जितेका ३७ वटा पालिका एमालेको विभाजनकै कारण गुम्ने खतरा छ भने ५ सयभन्दा कम मतले एमालेले जितेका १०६ वटा पालिका पनि डेन्जर जोनमा रहेको वताईन्छ। त्यसैले, अहिले एमालेभित्र पनि वामपन्थीहरुको ध्रुवीकरणमै जोड दिनुपर्ने मत बलियो बन्न थालेको स्रोत बताउँछ ।

विशेष