News

निर्वाचन आचारसंहिता लागु, के गर्न पाईन्छ, के गर्न पाईदैन ?

निर्वाचन आचारसंहिता लागु, के गर्न पाईन्छ, के गर्न पाईदैन ?

निर्वाचन आयोगले स्थानीय निर्वाचनका लागि आचारसंहिता लागू गरेको छ। आयोगमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले शुक्रबार मध्यरातदेखि निर्वाचन आचारसंहिता लागू हुने जानकारी दिए। 

वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी बनाउन आयोगले सरकार, संवैधानिक निकाय, अर्धसरकारी संस्था, राजनीतिक दल, उम्मेदवार, सार्वजनिक पद धारण गरेको व्यक्ति, सञ्चारमाध्यम, पर्यवेक्षक, गैरसरकारी संस्था, विद्यालय र विश्वविद्यालयका शिक्षक तथा कर्मचारी, मतदातालगायतले पालना गर्नुपर्ने आचारसंहिता जारी गरेको हो ।

चुनाव अवधिभर चुनावलाई प्रतिकुल असर पार्ने गरी कुनै गतिविधि हुन नदिन, मतदातालाई प्रलोभनमा पार्नबाट रोक्न, उम्मेदवारले आफूखुसी खर्च गर्नबाट रोक लगाउन, मर्यादित चुनाव गराउन, भयरहित वातावरणमा स्वच्छ र निष्पक्ष चुनाव गराउन आयोगले आचारसंहिता जारी गरिएको अयोगले जनाएको छ।

सरकारले समेत आचारसंहिता लागू भएको अवधिमा कुनै सरुवा, बढुवा, नयाँ योजना छनोट गर्न पाउँदैन । यस्तै आचारसंहित उल्लंघन गर्ने उम्मेदवारलाई पहिलो पटकमा आयोगले सचेत गराउने छ भने निरन्तर उल्लंघन भए उम्मेदवारी खारेजसम्मको निर्णय गर्न सक्नेछ । 

आचारसंहित सरकार, दल, मतदाता, कर्मचारी, सञ्चारमाध्यम, आईएनजीओ, एनजीओलगायतले पालना गर्नुपर्ने आयोगले जनाएको छ । यस अवधिमा कुनै योजनाको शिलान्यास, उद्घाटन, सर्वेक्षण गर्न तथा अध्ययनका लागि अनुदान दिनसमेत पाइँदैन ।

आयोगको अनुमतिबेगर सरकारी कर्मचारी र पदाधिकारी विदेश भ्रमणमा जानसमेत मिल्दैन । उम्मेदवारको कार्यालयमा कपडामा बनाइएको ३÷३ फिटको दलको झन्डा र सोही नापको चुनाव चिह्नमात्रै राख्न पाउने प्रावधान आचारसंहितामा छ ।

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले निर्वाचन आचारसंहिताले सामाजिक सञ्जालको प्रयोगमा बन्देज नगरेर त्यसको दुरुपयोगलाई भने निराकरण गर्ने कोशिस गरेको बताएका छन् । उनले व्यवस्थित र मर्यादित रुपमा सामाजिक सञ्जालको प्रयोग गर्न कुनै रोकावट नरहेको बताए । 

प्रमुख आयुक्त थपलियाले आचारसंहिताले मन्त्री वा कुनै पनि सार्वजनिक पद धारण गरेको व्यक्तिले पार्टी वा उम्मेदवारको पक्षमा प्रचार प्रसार गर्न नपाउने व्यवस्था स्थानीय तहको चुनावमा कार्यान्वयन गर्नुपर्ने अवस्था नै नआउने बताए । 


यहाँ हेर्नुहोस निर्वाचन आचारसंहिता

आचारसंहिता

विशेष