News

गठबन्धनमा इमान्दारी नभए विराटनगरमा एमालेले मार्न सक्छ बाजी !

गठबन्धनमा इमान्दारी नभए विराटनगरमा एमालेले मार्न सक्छ बाजी !

स्थानीय तह निर्वाचन नजिकिएसँगै सत्ता गठवन्धनमा उम्मेदवार छनौटको महाभारत छ। विशेष गरी केन्द्रबाट निर्णय गर्नु पर्ने ६ महानगरपालिकाको नेतृत्वको विषयलाई लिएर गठवन्धन भित्र सडाको छ।

यो र यस्तै विषय टुङ्गो लगाउन प्रधानमन्त्री शेरबहादुर देउवाले आज (शुक्रवार) सत्ता गठवन्धनको वैठक पनि वोलाएका छन् । बैठकमा पाँच दलका शीर्ष नेताहरुले चुनावी रणनीतिका बारेमा प्रधानमन्त्रीसँग छलफल गर्ने बालुवाटार सचिवालयले जनाएको छ । हालसम्म गठवन्धनभित्र निर्वाचनमा तालमेल गरेर जाने सहमति भएपनि त्यसको खाका तयार भइनसकेको अवस्था छ । बैठकमा त्यसबारे छलफल हुनेछ भने कुन महानगरमा कसलाई नेतृत्व दिने भन्ने विषयमा पनि छलफल हुने जनाईएको छ।

नेतृत्वको लडाई खास गरी चितवनको भरपुरमा छ। यो महानगरलाई माओवादी र कांग्रेसले प्रतिष्ठाको विषय वनाएका छन् । त्यस वाहेक पुर्वको शहर र प्रदेश १ को राजधानी समेत रहेको विराटनगर महानगरपालिकामा पनि नेतृत्वको लडाई उत्कर्षमा छ। विराटनगरमा कांग्रेस, माओवादी र जसपाले मेयरको दावी गरिरहेका छन्।

गठवन्धनमा सहमति हुँदा यस पटक यहाँ एमाले र सत्तागठबन्धनबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । तर, अहिलेसम्मको परिस्थिती अनुसार मेयरका लागि तीन दलको टकरावले गठबन्धनको साझा उम्मेदवार चयन हुने सम्भावना कम छ। त्यसो हुँदा यसको फाईदा एमालेले उठाउने छ।

विराटनगरमा खासगरी वामपन्थी दल र कांग्रेसबीच कडा प्रतिस्पर्धा छ। एमाले बलियो प्रतिस्पर्धी भए पनि इमानदारपूर्वक गठबन्धन भएमा एमालेलाई चुनाव जित्न चुनौती छ । अघिल्ला निर्वाचनहरुले पनि त्यसलाई पुष्टि गर्छन। वामपन्थीबीचको टुटफुटको फाइदा अघिल्ला निर्वाचनहरुमा कांग्रेसले लिदै आएको छ।

राप्रपासँग तालमेल गरेर सशक्त उम्मेदवार दिन सके र सत्ता गठबन्धनमा समस्या देखिए निर्वाचन एमालेले जित्नसक्ने विश्लेषण बलियो छ । तर, इमान्दारपुर्वक गठवन्धन कायम रहे एमालेलाई गाह्रो छ। यहाँ एमाले फुटको असर पनि वलियो छ। नेकपा एकिकृत समाजवादीका नेताहरु आफूहरुसँग ५ हजारभन्दा वढि मत रहेको दावी गर्छन। स्वतन्त्र विश्लेषकहरु पनि एकीकृत समाजवादीले एमालेको लगभग ३ हजार देखि ३५ सयसम्म मत काट्नसक्ने अनुमान गर्छन। 

अर्कोतर्फ नेपाली कांग्रेसमा गत निर्वाचनको भन्दा झण्डै साढे चार हजार मत फोरम लोकतान्त्रिकबाट थप भएको छ । २०७४ सालको निर्वाचनमा छुट्टै लडेको विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक पार्टी कांग्रेसमा समाहित भइसकेको छ । कांग्रेसबाट बागी उम्मेदवारी दिएका विराटनगर– १९ का वडाध्यक्ष बद्रीनारायण सरदार पनि कांग्रेसमै समाहित भइसकेका छन्। 


यो पनि,


मत परिणामअनुसार सबै वडाध्यक्षको मत जोड्दा कांग्रेसको १६ हजार ७ सय ६६ हुन्छ । लोकतान्त्रिक फोरम कांग्रेसमा समाहित भएसँगै कांग्रेसको मत अब २१ हजार ८ सय ६० पुग्छ । तर कांग्रेसभित्रको लुछाचुँडीले अन्तरघातको डर पनि उत्तिकै छ।

०७४ को परिणाम
यहाँ २०७४ को निर्वाचनमा नेपाली कांग्रेसले मेयर र उपमेयर जितेको थियो । त्यसबेला कांग्रेसबाट भीम पराजुलीले २३ हजार ३१ मत ल्याएर मेयर जितेका थिए । एमालेको १६ हजार २ सय १८, संघीय समाजवादी फोरमको मत १० हजार ९ सय ३२, माओवादी केन्द्रको ८ हजार १, राप्रपाको ४ हजार २ सय ९१ र फोरम लोकतान्त्रिकको मत ४ हजार ४ सय ५२ रहेको छ ।

विराटनगरमा कांग्रेसले ८, संघीय समाजवादी फोरमले ६, एमालेले ३, माओवादीले १ र स्वतन्त्र उम्मेदवारले १ वडामा जितेका थिए । अघिल्लोपटक कांग्रेस र राप्रपा एक्लाएक्लै चुनाव लडेका थिए भने एमाले र फोरम लोकतान्त्रिक तथा माओवादी र संघीय समाजवादीबीच गठबन्धन बनेको थियो ।
एमाले र फोरम लोकतान्त्रिकका एमाले उम्मेदवार विनोद ढकालले १७ हजार ३ सय २१, माओवादी र संघीय समाजवादीका उमेशकुमार यादवले १४ हजार ९ सय ५८, राप्रपाका प्रह्लाद प्रसाद साहले ५ हजार ५ सय २४ र अन्य उम्मेदवारले जम्मा मत ३ सय ६४ मत पाएका थिए ।

०७४ को अघिको परिणाम यस्तो
विराटनगरमा २०४३ सालमा जनपक्षीय उम्मेदवार भनेर वामपन्थी उम्मेदवार ध्रुवनारायण श्रेष्ठले चुनाव जितेका थिए । २०४८ सालको निर्वाचनमा कांग्रेसका उम्मेदवार अशोक कोइराला विजयी भए ।

त्यस्तै २०५४ सालको निर्वाचनमा एमालेका रमेशचन्द्र पौडेल विजयी भएभने ०७४ सालमा पुनः कांग्रेसले जित हाँसिल गर्यो। यस पटकको निर्वाचनका लागि १९ हजार ३ सय ८१ जना नयाँ मतदाता पनि थपिएका छन् । ०७४ सालको निर्वाचनमा विराटनगरमा मतदाताको संख्या १ लाख १३ हजार ७ सय ६१ मात्र थियो । अहिले त्यो संख्या वढिर १ लाख ३३ हजार १ सय ४२ जना पुगेको छ । 

कांग्रेसका भीम पराजुलीको दोहोरिने चाहाना
०७४ को निर्वाचन जितेका मयेर भीम पराजुली फेरि दोहोरिन चाहान्छन्। यसअघि डा. शेखर कोइराला पक्षमा रहेका पराजुली कांग्रेसको १४औं महाधिवेशनमा स्थानीय तहको टिकटकै लागि सभापति शेरबहादुर देउवा पक्षमा लागेका थिए । देउवा पक्षबाटै केन्द्रीय सदस्य बनेका उनी २०६८ र २०७२ सालमा कांग्रेसको नगर सभापति बनेका थिए । त्यसैगरी मोरङ कांग्रेसका उपसभापति नागेश कोइराला पनि मेयरको टिकटका लागि दौडमा छन् । उनले पनि केन्द्रीय नेतासँगको लबिङ तीव्र पारेका छन् । उनी कांग्रेसमा डा. शेखर कोइरालाका विश्वासपात्र मानिन्छन् । त्यसैगरी केन्द्रीय सदस्यद्वय डा. डिला संग्रौला र अमृत आर्यालको पनि मेयरमा चर्चा छ । 


एमालेमा पूर्वमन्त्रीसम्मको दाबी
नेकपा एमालेबाट पूर्वमन्त्री लालबाबु पण्डित, प्रदेश मन्त्री भईसकेका जीवन घिमिरे, सागर थापा र बाबुराम कार्कीको नाम बढी चर्चामा छ । थापा नगर कमिटीका अध्यक्ष हुन् भने कार्की जिल्ला कमिटीका उपाध्यक्ष हुन् । तारा निरौला पनि मेयरको उम्मेदवारको दौडमा छन् । उनी अवकाशप्राप्त कर्मचारी हुन् ।

माओवादीमा तीनजनाको चर्चा
नेकपा माओवादी केन्द्रका तर्फबाट भोगेन्द्र यादव, नवीन पौडेल र नमिता न्यौपानेको नाम चर्चामा छ।  गत स्थानीय तहको चुनावमा जनता समाजवादी पार्टी (जसपा) र माओवादीबीच तालमेल भएको थियो । मेयरमा जसपाका उमेश यादव र उपमेयरमा माओवादीकी नमिता न्यौपाने उम्मेदवार बनेका थिए । गत चुनावमा उपमेयरको उम्मेदवार भएकाले पनि न्यौपानेको मेयरमा दाबी छ ।

जसपामा उपेन्द्र यादवका छोराको पनि दावी
गत निर्वाचनमा मेयरमा पराजित जसपाका केन्द्रीय सदस्य उमेश यादव, पूर्व उपमेयर भूराज राई, जसपाका केन्द्रीय सदस्य तेजलाल कर्ण र अमरेन्द्र यादव मेयर उम्मेदवारको दौडमा छन्। अमरेन्द्र जसपा अध्यक्ष उपेन्द्र यादवका छोरा हुन् ।

नेकपा एसमा रेग्मी र क्षेत्री
त्यस्तै, नेकपा (एकीकृत समाजवादी)बाट महेश रेग्मी र पारुल क्षेत्रीको नाम चर्चामा छ। रेग्मी एकीकृत समाजवादीको पोलिटब्युरो सदस्य हुन् भने क्षेत्री महानगर कमिटी अध्यक्ष हुन् ।

यो पनि,

विराटनगर

विशेष