News राजनीति

माधव नेपालको भाषणमा जनता, राजदुत र मन्त्रीमा आफन्त

माधव नेपालको भाषणमा जनता, राजदुत र मन्त्रीमा आफन्त

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले शनिवार काठमाण्डौंमा आयोजित एउटा कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गफाडीको संज्ञा दिदै आफना पार्टीका नेता/कार्यकर्तालाई जनताको पक्षमा काम गर्न आग्रह गरे।

उनले आफनो पार्टीको भविष्य राम्रो रहेको पनि जिकिर गर्दै एकीकृत समाजवादी पार्टीलाई एउटा क्रान्तिकारी पार्टीको रुपमा अगाडि बढाउन चाहेको बताए। इमानदारिता, निष्ठा, समर्पणको, देश निर्माणको, जनताको जीवनमा रुपान्तरणको संकल्प बोकेर नेपाल देशको गरिमालाई माथि उठाउँदै, नेपालीको स्वभिमानलाई माथि उठाउँदै विदेशीहरुसँग मित्रतापूर्ण सम्बन्ध राखेर अघि बढ्नुपर्ने उनले बताए। 

तर, दुई दिन मात्रै अघि फर्केर सरकारका निर्णय हेर्ने हो भने नेता नेपालको यो भाषण र ब्यवहार भने कतै मेल खाँदैन। उनले भाषणमा जनताका कुरा गर्ने गरेपनि अवसरमा भने नातागोता र आफन्त मात्रै संरक्षण गर्ने गरेको सरकारको निर्णयले नै प्रष्ट पार्छ।

गत विहिवारको मन्त्रिपरिषद बैठकको किस्ताकिस्तामा सार्वजनिक भएको निर्णय हेर्दा अधिकांशले माधव नेपालको नाउँमा जिब्रो टोक्न थालेका छन् । सरकारले अध्यक्ष नेपालका बहिनी ज्वाइँ कैलाश पोखरेललाई राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ भने सम्धी सोमप्रसाद पाण्डेका साढुभाई गोविन्द बन्दीलाई कानून मन्त्रीमा नियुक्त गरेको छ।

पोखरेल माधव नेपालकी कान्छी बहिनी वसुधाका श्रीमान हुन । उनी यसअघि विधि मिचेरै अमेरिकाका लागि नेपालको राजदूतावास वासिङ्टन डीसीमा पहिलो इकोनोमिक काउन्सिलर भएर गएका थिए । यसैगरी, माधव नेपालकी छोरी र नेकपा एकिकृत समाजवादीका सांसद तथा पूर्व मन्त्री सोम प्रसाद पाण्डेका छोराबीच विहे भएपछि यी दुई नेता सम्धी बनेका हुन । तीनै सोम प्रसाद पाण्डे र नवनियुक्त कानूनमन्त्री गोविन्द बन्दी साढु दाई–साढु भाई हुन् । सोम पाण्डेकी पत्नीको निधन भइसकेको छ । बहिनी रक्षा बस्याल बन्दीको श्रीमती हुन् । त्यहि नाताका कारण बन्दी माधव नेपालको रोजाइमा परेको बताइन्छ ।

यतिमात्रै होईन अध्यक्ष नेपालले एमाले विभाजन नहुँदै आफ्नो कोटाबाट स्वकीय सचिव तथा आफन्त यादवचन्द्र शर्मालाई वागमति प्रदेश प्रमुखका नियुक्ति दिलाएका छन् भने एमाले विभाजन नहुादै माइला भाइ अनिल कुमार उपाध्यायलाई कृषि विकास वैंकको सिइओ बनाएका छन्।

अनिललाई नेपाल आफै प्रधानमन्त्री भएका बेला नियम संशोधन गरेर हङकङको महावाणिज्य दूत पनि वनाईएको थियो। । 

यतिमात्रै होईन, पार्टी संगठनमा पनि उनले आफन्त र नातागोता खोज्ने गरेका छन् । एमाले फुटाएर नेकपा एकिकृत समाजवादी वनाउँदा उनले केन्द्रीय समितिमा कान्छा भाइ सरोज कुमार उपाध्याय र सम्धी सोमनाथ पाण्डेका साढुभाई गोविन्द बन्दीलाईसमेटे। तर बन्दीले केन्द्रीय सदस्य बस्न अश्वीकार गरे । उपाध्याय भने अहिले नेकपा एसको इन्जिनियर विभागको इन्चार्ज छन् । 

भाषणामा जनताको नामका चर्का नारा लगाउने अध्यक्ष नेपाल आफना नातागोता सेटल गर्नेतर्फ लागेको भन्दै उनकै पार्टीभित्र समेत आलोचना हुन थालेको छ। नेता नेपालले ‘नातावाद र परिवारवाद’को आरोप लाग्दै आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पनि पछि पार्ने गरी आफन्तलाई नियुक्ती र भाग दिलाएको कतिपय नेताहरु गुनासो गर्छन।

माधवकुमार नेपाल

विशेष