News

प्रचण्डको गन्धले कांग्रेसीलाई एलर्जी, चितवन र कंचनपुरमा तालमेल अस्विकार

प्रचण्डको गन्धले कांग्रेसीलाई एलर्जी, चितवन र कंचनपुरमा तालमेल अस्विकार

स्थानीय तह निर्वाचनमा तालमेल गरेर जाने सत्तारुढ दलिय सत्ता गठवन्धनको सहमति विपरित स्थानीय स्तरमा भने कांग्रेस कार्यकर्ताले माओवादीसँगको सहमति अस्विकार गर्न थालेका छन्। खासगरी माओवादी अधध्यक्ष पुष्पकमल दाहाको गन्ध आउने (पारिवारीक साईनो जोडिएका) स्थानमा कांग्रेसले तालमेललाई अस्विकार गर्न थालेका छन् ।

यसअघि अध्यक्ष दाहाल पुत्री रेणु मेयर रहेको चितवनको भरपुर महानगरपालिकामा कांग्रेस नेताकार्यकर्ताले तालमेल अस्विकार गर्दै आएका थिए। लगत्तै उनकी बुहारी विना मगर निर्वाचन लड्दै आएको कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा पनि कांग्रेसले चुनावी तालमेल अस्वीकार गरेको छ।

कञ्चनपुर क्षेत्र नम्बर १ मा रहेका स्थानीय तहहरुले गठबन्धनको आवश्यकता नरहेकोले हामीले एक्लै चुनावी प्रतिस्पर्धामा जाँदा सम्मानजनक सफलता प्राप्त हुने भन्ने निर्णय गरी माओवादीसँगको तालमेल अस्विकार गरेका छन् । कांग्रेसको प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले जिल्ला सभापति पदम बोगटीलाई पत्र पठाउँदै कञ्चनपुर–१ का चार पालिकामा चुनावी तालमेल आवश्यक नभएको बताएको छ।

स्थानीय तह निर्वाचनमा चुनावी तालमेलका लागि पार्टीको केन्द्रीय कार्यसमिति र जिल्ला कार्यसमितिको सहमतिप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले तालमेल नगर्न नेतृत्वलाई सुझाव दिएको छ। 

यसअघि उक्त निर्वाचन क्षेत्रमा पर्ने बेलडाँडी र लालझाडी गाउँपालिका तथा बेलौरी र पुनर्वास नगरपालिकाका कार्यसमितिहरुले प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिलाई चुनावी तालमेल नगर्न आग्रह गर्दै पत्राचार गरेका थिए। 

उक्त क्षेत्रमा कांग्रेसका तर्फबाट नेता दिवानसिंह विष्टले चुनाव लड्दै आएका छन्। उनले ०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा बिना मगरलाई पराजित गरेका थिए भने ०७४ को प्रतिनिधि सभा निर्वाचनमा भने मगरले विष्टलाई दोब्बर मतले पराजित गरेकी थिइन्। प्रतिनिधिसभा निर्वाचनमा मगरले ३८ हजार ४६७ मत ल्याउँदा विष्टले १९ हजार २१९ मत पाएका थिए। 

स्थानीय तह निर्वाचनमा तालमेल गरे संसदिय निर्वाचनमा पनि तालमेल गर्नु पर्ने र बीनालाई जसरी पनि जिताउनु पर्ने अवस्थाको आँकलन गरी कांग्रेस कार्यकर्ताहरु तालमेलबाट भाग्न खोजिरहेको वताईन्छ। पार्टीको क्षेत्रीय कार्यमितिले क्षेत्र नम्बर १ का चार वटै पालिकाहरुमा यस पटक कांग्रेस विजयी हुने दाबी गरेको छ।

सत्ता गठबन्धनमा रहेका दलहरुसँग चुनावी तालमेल गर्दा ०७४ मा जितेका पालिकाको नेतृत्व सोही दलले पाउने समझदारी बन्न लागेकाले उक्त क्षेत्रका चारमध्ये एक गाउँपालिका बेलडाँडीमात्रै कांग्रेसको भागमा पर्ने देखिएको। क्षेत्र नम्बर १ अन्तर्गतको बेलौरी नगरपालिका र लालझाडी गाउँपालिका माओवादी र पुनर्वास नगरपालिका नेकपा एकीकृत समाजवादीको भागमा पर्ने सम्भावना छ। त्यसैले कांग्रेसको क्षेत्रीय कार्यसमिति सशंकित भएको छ।  

यसैगरी, चितवन कांग्रेसले भरतपुर महानगरपालिकाको नेतृत्व माओवादीलाई नछाड्ने बताएको छ। ०७४ को निर्वाचनमा प्रचण्डपुत्री रेणु दाहाललाई सघाएका कारण यो पटक महानगरको नेतृत्व आफूहरुले पाउनुपर्ने चितवन कांग्रेसको भनाइ छ।

चितवनबाट प्रतिनिधित्व गर्ने कांग्रेस केन्द्रीय सदस्यहरू टेकप्रसाद गुरुङ, दिनेश कोइराला, जिल्ला सभापति राजेश्वर खनाल, निर्वतमान सभापति जितनारायण श्रेष्ठ र नेता जगन्नाथ पौडेलको टोलीले गठबन्धनको ‘निर्वाचन तयारी एवम् अनुगमन समितिका’ संयोजक रामचन्द्र पौडेललाई भेटेर भरतपुर महानगरपालिकाको मेयर कांग्रेसले छाड्न नसक्ने स्पष्ट पारेका छन्।

चितवनका नेताहरुले भरतपुरमा नेतृत्व नपाए पार्टी संगठन नै ध्वस्त हुने चेतावनीसमेत दिएका छन्।

रेणु दाहाल विना मगर

विशेष