News

खुट्टामा राखिएको रड झिक्दा विरामीको मृत्यु !

खुट्टामा राखिएको रड झिक्दा विरामीको मृत्यु !

खुट्टा भाँचिएर राखिएको रड निकाल्दा भरतपुरको मौलाकालिका अस्पतालमा एक विरामीको मृत्यु भएको छ। चितवनको माडी–५ बेलुवाका रामप्रसाद तिवारीको मृत्यु भएको हो । उनी चितवन राष्ट्रिय निकुञ्जको बघौडा मध्यवर्ती उपभोक्ता समूहका अध्यक्ष हुन्।

मंगलबार बिहान ८ वजे अस्पताल भर्ना भएका तिवारीको करिब २ घण्टामै मृत्यु भएको थियो। वैशाखी टेकेर एम्बुलेन्समा पुगेका तिवारीलाई १ घण्टापछि अपरेसन कक्षमा छिराएको थियो।

अपरेसन कक्षमा राखेको केही समयमा नै स्वास्थ्यकर्मीहरुले हस्याङफस्याङ गर्दै बिरामीलाई स्ट्रेचरमा निकालेर भरतपुर अस्पतालको आकस्मिक कक्षमा पु¥याएका थिए। आकस्मिक कक्षमा छिराएको केही मिनेटमै मृत्यु भएको घोषणा गरिएको थियो।

विरामी कुरुवालाई कुनै जानकारी नदिई अर्को अस्पताल लैजाँदा नै आफुलाई शंका लागेको ज्वाइँ डिल्लीराम आचार्यले वताए । अस्पताल तोडफोन हुने डरले सरकारी अस्पताल लगेर मृत घोषणा गरिएको उनको आरोप छ।

वैशाखी टेकेर हिँड्न सक्ने मान्छेको खुट्टाको रड झिक्दा मृत्यु हुनु चिकित्सकको लापरबाही भएको मृतकका भाई प्रजापति तिवारीले बताए। उनले अस्पतालले मृत्युको चित्तबुझ्दो कारण दिन नसकेको बताए।

मौलाकालिका अस्पतालका सञ्चालक डा.केशवराज भुर्तेलले अपरेसनका क्रममा अचानक जटिल समस्या देखिँदा बिरामीको मृत्यु भएको बताए। अपरेसनका क्रममा रगत बग्ने तथा नसाबाट बोसो बगेर फोक्सोमा रोकिएकाले बिरामीलाई सास फेर्न गाह्रो भएको उनले वताए । ‘निकै प्रयास गर्दा पनि नभएपछि हतारमा भरतपुर अस्पताल लगियो’– उनले भने।

गत चैत ११ गते स्थानीय सोमेश्वर मध्यवर्ती सामुदायिक वनमा आगलागी हुँदा निभाउने क्रममा लडेर उनको खुट्टा भाँचिएको थियो। मौलाकालिका अस्पतालमा खुट्टाको भाँचिएको हड्डी रडले जोडेपछि उनी वैशाखीको सहारामा हिँड्न सक्ने भएका थिए। ५ दिन अस्पताल बसेर डिस्चार्ज भएका तिवारी ४५ दिनपछि रड झिक्न अस्पताल पुगेका थिए ।
 

विशेष