News

आज मध्येरातीदेखि मौन अवधि सुरु, सामाजिक सञ्जाल नियमनको जिम्मा सेना र प्रहरीलाई

आज मध्येरातीदेखि मौन अवधि सुरु, सामाजिक सञ्जाल नियमनको जिम्मा सेना र प्रहरीलाई

स्थानीय तह निर्वाचनको मौन अवधि आज मध्यराति १२ वजेपछि सुरु हुँदै छ । मतदानको दिन वैशाख ३० गते १२ बजेसम्मको अवधिलाई मौन अवधि मानिएको छ ।

मौन अवधि सुरु भएपछि कुनै पनि दल, उम्मेदवार भएका व्यक्ति, नागरिक समाज, मतदाता तथा सञ्चार माध्यमहरुले समेत चुनाव प्रचार–प्रसार गर्न नपाउने निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगले एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युत्तीय माध्यम प्रयोग गरेर मत माग्न र निर्वाचन प्रचार गर्न समेत रोक लगाएको छ ।

सामाजिक सन्जालबाट गरिएका प्रचार सामग्री हटाउन पनि राजनीतिक दलहरुलाई निर्देशन दिइएको छ । निर्वाचन सामग्री हटाए/नहटाएको तथा नयाँ प्रचार सामग्री राखे/नराखेको सम्बन्धमा निगरानी गर्ने जिम्मेवारी प्रहरी र सेनाको साइबर व्यूरोलाई दिइएको छ ।

आयोगले उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिह्न अंकित पहिरन टोपी, स्टिकर, लोगो, झोलाजस्ता सांकेतिक सामग्रीको प्रयोग गर्न वा प्रदर्शन गर्न पनि रोक लगाएको छ ।

निर्वाचन आयोगका अनुसार मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३ सय मिटर वरपर राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचारप्रसारका सामग्री हटाउनु पर्नेछ । मौन अवधिमा सञ्चारमाध्यमहरुले पनि उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन प्रसारण गर्न नपाउने आयोगले जनाएको छ ।

निर्वाचन धाँधलीरहित, स्वच्छ, निष्पक्ष, भयमुक्त वातावरणमा सम्पन्न गर्न मौन अवधि तोकिएको हो । मौन अवधिभर दल, तिनका भ्रातृ संगठन, उम्मेदवार, संघ संगठनलगायतले राजनीतिक प्रचार, भेला÷गोष्ठी आयोजना गर्न नपाउने आयोगको आचारण निर्देशिकामा उल्लेख छ । निर्देशिकाविपरीत मौन अवधिमा मतदाता प्रभावित पार्ने गतिविधि गरे उम्मेदवारी रद्ददेखि १ लाख रुपैयाँ जरिवानासम्मको कारबाही हुन सक्ने निर्वाचनसम्बन्धी कानुनमा उल्लेख छ ।
 

विशेष