News

गुरुदेव रवीन्द्रनाथ टैगोरको १६१ औँ जन्मजयन्ती मनाइयो

गुरुदेव रवीन्द्रनाथ टैगोरको १६१ औँ जन्मजयन्ती मनाइयो

स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रका शास्त्रीय संगीत गुरु तथा विद्यार्थीहरूले एकैसाथ गुरुदेव रवीन्द्रनाथ टैगोरको १६१ औँ जन्मजयन्ती मनाएका छन् ।

आजादीका अमृत महोत्सवकै हिस्सा अनुरूप सोमबार भारतीय राजदूतावासस्थित विवेकानन्द हलमा जन्मजयन्ती मनाइएको हो । कार्यक्रममा प्रेस, सूचना तथा संस्कृति प्रभागका प्रथम सचिव श्री नवीन कुमारले रवीन्द्रनाथ टैगोरको प्रतिभाको प्रशंसा गरे । कुमारले आफूभित्र लुकेको क्षमतालाई उपयोग गर्न सबैलाई आग्रह पनि गरेका छन् ।

केन्द्रीय विद्यालय काठमाडौंका विद्याथीहरूले टैगोरका कालजयी रचनामा आधारित गीत र नृत्य प्रस्तुत गरेका थिए । त्यस्तै लुम्बिनी विश्वशान्ति मञ्चका अध्यक्ष तथा चर्चित वक्ता श्री वासु गौतमले ‘शान्ति निकेतनः शिक्षामा टैगोरको विचार’ शीर्षकमा अन्तरक्रियात्मक प्रस्तुति प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा संगीत, कला र साहित्यका विद्यार्थी, भारतीय डायस्पोराका सदस्य र विद्वानहरूको सहभागीता थियो ।

रवीन्द्रनाथ ठाकुरको जन्म सन् १८६१ मे ७ मा भएको थियो । उनी भारतको कोलकातास्थित जोडासाँकु भन्ने ठाउँमा जन्मिएका थिए । काव्यरचना गीताञ्जलिका लागि उनलाई सन् १९१३ मा साहित्य तर्फको नोबेल पुरस्कार प्रदान गरिएको थियो । 
 

विशेष