प्रशिक्षकको घरमा भोज खाएकी सागकी स्वर्ण विजेता सञ्जुको हत्या हो की आत्महत्या
![प्रशिक्षकको घरमा भोज खाएकी सागकी स्वर्ण विजेता सञ्जुको हत्या हो की आत्महत्या](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2022/05/sanju.jpg)
प्रशिक्षकको घरमा भोज खाएकी १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा भारोत्तोलनतर्फ स्वर्ण पदक विजेता २२ वर्षीया सञ्जु चौधरी मंगलबार मृत अवस्थामा भेटिएकी छन् ।
भारोत्तोलन प्रशिक्षक सञ्जय महर्जनको लुभुस्थित घरमा उनलाई मृत अवस्थामा भेटिएको हो । नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ बोसका अनुसार सञ्जु बिहान झुन्डिएको अवस्माथामा मृत फेला परेकी हुन् ।
नेपालगञ्ज घर भएकी सञ्जु एसियाली खेलकुदको तयारीका लागि काठमाडौं आएकी थिइन् । उनले ६ महिनाअघि मात्रै नेपाल प्रहरीको जागीर छाडेकी थिईन। प्रशिक्षक सञ्जय महर्जनको घरमै बस्दै आएकी सञ्जुको शव सोही घरको भुइँतलाको कोठामा सलको पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेको हो ।
सोमवार साँझ प्रशिक्षक महर्जनको घरमा भोजको आयोजना गरिएको थियो। भोजमा अध्यक्ष बोस पनि सहभागी भएका थिए । भोजमा सञ्जुले पनि सक्रियताका साथ खानेकुरा बाँडिरहेको र सबैसँग हासीखुसी व्यवहार गरिरहेको आफूले पाएको अध्यक्ष बोसले वताए ।
बिहान चाँडै उठेर प्रशिक्षणमा जाने सञ्जु अबेरसम्म नउठेपछि थोरै पर्दा खुलेको झ्यालबाट हेर्दा महर्जनले झुण्डिरहेको देखेका थिए । त्यसपछि उनले भारोत्तोलन संघका अध्यक्ष र प्रहरीलाई खबर गरेका हुन् । उनी मृत अवस्थामा भेटिनु अघि उनको फेसबुक एकाउन्टमा एउटा भिडियो सेयर गरिएको छ।
भिडियो पाकिस्तानी वेव सिरिज ‘मेरे हमसफर’को हो । सञ्जुले ‘मिसिङ यू लभ’ भनेर शेयर गरेको यो भिडियोका कारण प्रेम र पारिवारिक तनावका बीच सञ्जुले आत्महत्या गरेको होकी भन्ने आशंका पनि गरिएको छ।
उनले दुई वर्ष अगाडि नेपालमा भएको दक्षिण एसियाली खेलकुदमा ५९ केजी तौल समूहमा स्वर्ण जितेकी थिइन् । उनलाई नेपाली भारोत्तोलन क्षेत्रका महिला खेलाडीहरूमा सबैभन्दा उत्कृष्टमध्ये एक मानिन्छ ।