आफनो ट्वीटरबाट भोट मागेपछि कुलमान घिसिङ विवादमा
आफनो नामको ट्वीटर ह्याण्डलबाट काठमाण्डौंको मेयरका एक जना उम्मेदवारलाई भोट मागेपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ अप्ठ्यारोमा परेका छन् । सरकारी पद धारण गरेको ब्यक्तिको ट्वीटरबाट यसरी भोट मागेको विषयमा आलोचना हुन थालेपछि उनी अप्ठ्यारोमा परेका हुन।
निर्वाचन आचार संहिता अनुसार सरकारी ओहदामा वसेको ब्यक्तिले कुनै पनि उम्मेदवारको पक्षमा मत माग्न र कुनै उम्मेदवारको विपक्षमा मत जाहेर गर्न पाईदैन। तर, घिसिङको ट्वीटर ह्याण्डलबाट ति उम्मेदवारको फोटोसहित राखेर मत मागेपछि उनी विवादमा तानिएका छन् ।
@Kulmanghising2D नामको ट्वीटर ह्याण्डलमा ति उम्मेदवारको चुनाव चिन्ह र घरदैलो गर्दै गरेको फोटो राखेर भोट मागिएको छ।
तर, घिसिङले भने उक्त ट्वीटर ह्याण्डल आफनो नभएको दावी गरेका छन् । आफ्नो फोटो र नाम प्रयोग गरी खोलिएको नक्कली ट्वीटर ह्यान्डलमार्फत त्यस्तो गलत काम गरिएको उनको दावी छ। उनले त्यस विषयमा आफनो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
‘मेरो आधिकारिक ट्वीटर ह्यान्डल @KMGhising रहेको र यसबाहेक मेरो नाममा अन्य कुनै ट्वीटर ह्यान्डल नभएको व्यहोरा प्रष्ट पार्दै यस्ता नक्कली ह्यान्डलबाट प्रवाहित सूचनाहरूको भ्रममा नपर्न सबैलाई अनुरोध गर्दछु’ बुधबार विज्ञप्ति जारी गरी उनले भनेका छन्।
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि जारी गरेको आचारसंहिताको पूर्ण रुपमा पालना गरिरहेको एक जिम्मेवार पदाधिकारीलाई विवादमा ल्याउने गरी यस्ता क्रियाकलापहरू नगरी दिन पनि उनले सबैसँग आग्रह गरेका छन्।