News

नेपालमा पहिलो पल्ट आइजिपीको दौडमा चार महिला

नेपालमा पहिलो पल्ट आइजिपीको दौडमा चार महिला

नेपाल प्रहरीका चार जना महिला एसएसपी आगामी आईजिपीको दौडमा छन्। ३० वर्षे सेवा अवधि नहटे र बढुवामा ज्येष्ठता नमिचिए आगामी चैतपछि बन्ने नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) मा उनीहरुको पनि दावी रहने छ।

भावी आइजिपी बन्ने ब्याच अहिले सिनियर वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) छ । गृहमन्त्रालय श्रोतका अनुसार स्थानीय तह निर्वाचनपछि उनीहरु डिआइजीमा बढुवा हुनेछन् । रिक्त एआईजी दरबन्दी पूर्ति भएपछि डिआइजीको १७ दरबन्दी खाली हुनेछ । आगामी आईजिपी सोझै नायब महानिरीक्षक (डिआइजी) बाट हुनेछ । त्यही दरबन्दीमा बढुवा हुन यति बेला एसएसपीहरूबिच रस्साकस्सी छ।


तीमध्ये चार जना महिला एसएसपी छन् । अहिलेको एसएसपीको ब्याच ०५१ चैतमा प्रहरी निरीक्षकबाट सेवा सुरु गरेको हो। प्रहरी निरीक्षकको त्यो ब्याचमा नाम निकाल्नेमध्ये ४ जना महिला मिरा चौधरी, किरण बज्राचार्य, किरण राना र दुर्गा सिंह थिए । त्यसअघि नेपाल प्रहरीमा यति धेरै संख्यामा महिलाले एकै पटक प्रहरी निरीक्षकमा नाम निकालेका थिएनन् । त्यतिबेला नाम निकाल्ने चारै जना महिला अधिकृत अहिले डिआइजी बन्ने प्रतिस्पर्धामा छन्।

०५१ चैतमा प्रहरी निरीक्षकमा नाम निकाल्नेबाट पहिलो लटमा ०७५ फागुनमा एसएसपीमा बढुवा भएका थिए । मिरा आठौँ र किरण बज्राचार्य १० औँ नम्बरमा थिए । १४ जना बढुवा भएकामा गणेश रेग्मीले अवकाश पाइसकेपछि दुवै जना वरियतामा एक स्थान माथि उक्लिएका छन् । किरण राणा र दुर्गा सिंह भने त्यो लटमा बढुवा हुन छुटेका थिए । उनीहरु २०७७ वैशाखमा एसएसपीमा बढुवा भएका हुन् । त्यतिबेला १९ जना एसपीको बढुवा भएकामा दुर्गा नवौँ र किरण १२ औँ स्थानमा थिए ।

एसएसपी अघि यी चारै जना महिला अधिकृत एक साथ बढुवा हुँदै आएका थिए । यी चार जनामध्ये प्रहरी निरीक्षक र प्रहरी नायब उपरीक्षक (डिएसपी)मा किरण बज्राचार्य पहिलो, मिरा दोस्रो, दुर्गा तेस्रो र किरण राना चौथो नम्बरमा थिए ।

एसपी र एसएसपीमा भने मिरा पहिलो नम्बरमा उक्लिइन् भने किरण बज्राचार्य दोस्रो नम्बरमा झरेकी थिइन् । ४ महिलासहितका अहिलेका यीनै एसएसपीहरु मध्येबाटै नेपाल प्रहरीले भावी आइजिपी पाउनेछ ।

नेपाल प्रहरीमा महिला अधिकृत एआईजीसम्म भएको इतिहास छ । हाल प्राविधिकतर्फ आशा सिंह एआईजी र जनपदतर्फ पूजा सिंह डिआइजी छन् । यसअघि जनपदतर्फ पार्वती थापा पनि डिआइजीसम्म भएकी थिइन् ।

नेपाल प्रहरीमा १६ महिना जुनियर एआईजीलाई आइजिपी बनाएपछि डिआइजी बन्ने प्रतिस्पर्धामा एसएसपीहरूको लहरो लामै देखिएको छ । करिब १४ महिना जुनियर एसएसपीहरूसमेत पहिलो लटमै डिआइजी बन्ने दौडमा देखिएका छन् ।

‘सरकारले १६ महिना जुनियर एआईजीलाई आइजिपी बनाएपछि सङ्गठनभित्र अहिले जे पनि हुन सक्छ भन्ने वातावरण सृजना भएको छ । तर, पहिलो लटमै वरियतामा अगाडि रहेर बढुवा हुन पाए भोलि आइजिपी बन्ने प्रतिस्पर्धा गर्न सजिलो होस् भन्ने सबैलाई लाग्छ’, बहालवाला एक एसएसपी भन्छन् ।

सरकारले दुई महिनाअघि थपेका तीन एआईजी दरबन्दीमा बढुवा गरेका धिरज प्रताप सिंहलाई आइजिपी बनाएपछि प्रहरीभित्र शक्ति केन्द्र धाउनेको लर्को बढेको अधिकारीहरूले बताएका छन् । 

नेपाल प्रहरी आईजिपी

विशेष