News

विमानमा आउन लाज भएपछि हेलिकप्टबाट लुम्बिनी आउँदै मोदी

विमानमा आउन लाज भएपछि हेलिकप्टबाट लुम्बिनी आउँदै मोदी

जेठ २ गते लुम्बिनी भ्रमणमा आउन लागेका भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीलाइ बिमानमा आउन लाज भएको छ। उनी हेलिकप्टर मार्फत नेपाल आउन लागेका छन् ।

दिल्लीबाट लुम्बिनीको पारिपट्टि उत्तर प्रदेशको कुशीनगरसम्म विमानमा आएपनि वारीपटिको गौतमवुद्ध विमानस्थलमा आउन उनले सहज मानेका छैनन् । त्यसैले कुशीनगरबाट हेलिकोप्टर चढेर लुम्बिनी आइपुग्ने मोदीको तयारी छ ।

लुम्बिनी छेवैको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आईसकेको छ। जेठ २ देखि नै कुवेतको जजिरा एयरवेजले व्यावसायिक उडान गर्दै छ । उक्त विमानस्थलमा परीक्षण उडान पनि भइसकेको छ ।

तर, मोदीले उक्त विमानस्थल प्रयोग गर्न असहज मानेको श्रोतको दावी छ। उक्त विनमानस्थल प्रयोग नगर्ने भएपछि मोदी आउने हेलिकप्टरका लागि लुम्बिनीमा चारवटा हेलिप्याड बनाइँदै छ ।

भैरहवाको हवाई रुट ‘ब्राभो ३४५’ लाई दुईतर्फी बनाउने नेपालको प्रयासलाई भारतीय अधिकारीले नै रोकेका कारण उनलाई सो विमानस्थल प्रयोग गर्न नैतिक रुपमा धक लागेको हुन सक्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले बताए ।

प्राधिकरणका अनुसार ब्राभो ३४५ र महेन्द्रनगर भएर निस्किने लिमा ६२६ रुटलाई दुईतर्फी बनाउन नेपालले ५ वर्षदेखि भारतसँग आग्रह गर्दै आएको छ । तर भारतले आलटाल गर्दै आएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको ०७४ मा भएको भारत भ्रमणका बेला पनि यो विषय उठाईएको थियो। मोदीले नेपालको हवाई रुटमा देखिएका समस्या समाधानका लागि सघाउने प्रतिबद्धता गरेका थिए । त्यस विषयमा दुई पक्षबीच लिखित सहमतिसमेत भएको छ।

तर, यी हवाई रुटलाई दुईतर्फी बनाउने काम भारतीय अधिकारीले अन्तिम चरणमा रोकिदिएका छन्। प्राधिकरणका अनुसार ०७५ कात्तिकमा नेपाल–भारतबीचको संयुक्त प्राविधिक बैठकमा महेन्द्रनगरको वायुक्षेत्रबाट नयाँदिल्ली हुँदै पश्चिमी मुलुकहरूतर्फ जाने रुटलाई दुईतर्फी बनाउन सहमति भएको थियो ।

तर, भारतले सहमति नजनाउँदा मध्यपूर्वी मुलुक तथा नयाँदिल्ली हुँदै आएका जहाज महेन्द्रनगरको रुटबाट नेपाली वायुक्षेत्रभित्र प्रवेश गर्न पाउँदैनन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली तथा खाडी मुलुकतर्फ जाने जहाजहरू पनि ब्राभो ३४५ रुट भएर भैरहवाको आकाश हुँदै बाहिरिन्छन । 

नागरिक उड्डयन प्राधिकरणको प्राविधिक टोलीले भैरहवाको नयाँ अन्तर्राष्ट्रिय विमानस्थल र अब सञ्चालनमा आउन लागेको पोखरा विमानस्थलका लागि ब्राभो ३४५ र लिमा ६२६ हवाई रुटलाई दुईतर्फी बनाइदिन लिखित पत्र भारतलाई बुझाएको छ। उक्त पत्रको कुनै जवाफ आएको छैन।

प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणमा मोदी २५६६ औं बुद्ध जयन्तीका अवसर पारेर गौतम बुद्धको जन्मस्थल लुम्बिनी आउन लागेका हुन । मोदी करिब ५ घण्टाका लागि लुम्बिनी आउने र त्यस अवसरमा उनले मायादेवीको मन्दिरमा पूजाआजा र भारतले बनाउने विहारको शिलान्यास गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री देउवा र मोदी दुवै मिलेर ‘इन्टरनेसनल बुद्धिस्ट कन्फरेन्स हल’ मा बुद्ध जयन्तीको मूल समारोहलाई सम्बोधन गर्नेछन । समारोहमा मोदीलाई लुम्बिनी बौद्ध विश्वविद्यालयले मानार्थ महाविद्यावारिधिको सम्मान दिने तयारी छ ।
मदि कहिले केहिले आए नेपाल
चार पटक नेपाल आइसकेका मोदी दोस्रो पटक प्रधानमन्त्री निर्वाचित भएपछि पहिलो पटक नेपाल भ्रमणमा आउन लागेका हुन । उनी प्रधानमन्त्रीका रूपमा पहिलो पटक २०७१ साउन पहिलो साता, दोस्रो पटक सोही वर्षको मंसिर १० र ११ मा काठमाडौंमा आयोजित १८ औं सार्क शिखर सम्मेलनमा सहभागी हुन आएका थिए ।

त्यसपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा २०७५ वैशाख अन्तिम साता दुईदिने औपचारिक भ्रमणमा र  त्यही वर्षको भदौ १४ र १५ मा भएको चौथो बिमस्टेक सम्मेलन क्रममा नेपाल आएका थिए । 
 

नरेन्द्र मोदी

विशेष