‘महिला अपहरण र हत्या’ आरोपमा माओवादीका ३ नेता पक्राउ
१० दिनअघि एक महिलाको अपहरण गरी हत्या गरेको आरोपमा प्रहरीले जनप्रतिनिधिसहित ३ जना माओवादी नेता/कार्यकर्तालाई पक्राउ गरेको छ।
पक्राउ पेर्नमा रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–११ का वडाध्यक्ष जयकुमार बुढा, उनका भाइ अर्जुन बुढा र माओवादीबाट वडाध्यक्ष उम्मेदवार कुमारसिंह बुढा छन् । उनीहरुले वैशाख १९ गते स्थानीय टक्सेरा गाउँमा निर्वाचन प्रचार प्रसारका क्रममा भएको विवाद मिलाउन पुगेकी महिलालाई अपहरण गरी हत्या गरेको प्रहरीको आरोप छ।
स्थानीय ३९ वर्षकी डुथी बुढा भन्ने जुङमाया बुढालाई माओवादी कार्यकर्ताहरुले अपहरण गरेर लगेको आरोप थियो। अपहरणमा परेकी बुढालाई खोज्ने क्रममा रुकुम प्रहरीले टक्सेरादेखि करिब चार किलोमिटर माथि जंगलमा उनको शव फेला पारेको हो। महिलाको कानमा रगत बगेको र निर्वस्त्र अवस्थामा शव फेला पारिएको रुकुम प्रहरीले जनाएको छ।
मृतकको शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पोष्टमार्टमका लागि राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यो गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धन भएको छ। गठवन्धन र माओवादी कार्यकर्ताबीच पटक पटक विवाद र दुई पक्ष झडप समेत हुँदै आएको थियो।