News

आईजिपी थापाको विदाई समारोह दुई एआईजीद्वारा वहिस्कार

आईजिपी थापाको विदाई समारोह दुई एआईजीद्वारा वहिस्कार

नेपाल प्रहरीका अतिरिक्त महानिरिक्षक (एआईजी) विश्वराज पोखरेल र सहकुलबहादुर थापाले अवकाश प्राप्त महानिरीक्षक शैलेश थापा क्षेत्रीको विदाई समारोह वहिस्कार गरेका छन् । प्रहरी महानिरिक्षक वढुवाप्रति असन्तुष्टि जनाउँदै उनीहरुले विदाई समारोह वहिस्कार गरेका हुन्।

३० वर्षे सेवा अवधि पुरा गरेर आइतबारबाट अवकाशमा गएका थापा र अन्य अधिकृतको विदाईका लागि प्रहरी प्रधान कार्यालयमा बिदाई समारोह आयोजना गरिएको थियो । तर, एआईजी पोखरेल र थापा उक्त समारोहमा अनुपस्थित भए। तर, बढुवा प्रतिस्पर्धामा रहेका रबिन्द्रबहादुर धानुक भने बिदाई समारोहमा सहभागी भएका छन् । 
२०४९ चैत ११ मा इन्स्पेक्टरमा भर्ना भएका पोखरेल र थापा आईजीको प्रतिस्पर्धामा थिए । तर, मन्त्रिपरिषद्ले आइतबार बिहान धिरजप्रताप सिंहलाई आईजीपीमा नियुक्त गरेपछि उनीहरु असन्तुष्ट भएका छन् । 

आईजीपीका प्रतिस्पर्धीहरु एउटै मितिमा प्रहरीमा भर्ना भएपनि फरक समयमा एआईजीमा बढुवा भएका थिए । पोखरेललाई ०७७ मंसिर २५ मा केपी शर्मा ओली नेतृत्वको सरकारले एआईजीमा बढुवा गरेको थियो । उनी तत्कालिन उपप्रधानमन्त्री इश्वर पोखरेलको इच्छा अनुसार आईजिपीको लाईन मिलाउन वढुवामा परेका थिए। तर, नेकपाकै अर्को समुह असन्तुष्ट भएपछि थापालाई पनि ०७८ असार २४ मा एआईजीमा वढुवा गरिएको थियो। 

यस विचमा ०७८ चैत १७ मा धिरज प्रताप सिंह र रविन्द्रबहादुर धानुकलाई वर्तमान मन्त्रिपरिषद्ले एआईजीको दरबन्दी थपेर बढुवा गरेको थियो । एआईजीको बरियता अनुसार विश्वराज अरु प्रतिस्पर्धी भन्दा १६ महिना सिनियर थिए । सहकुलबहादुर एआईजी भएको ९ महिना पुरा भएको छ । सिंह र धानुक एआईजीमा बढुवा भएको १ महिना पुगेको छ । एआईजी भएको १ महिनामा सिंहले प्रहरीको कमाण्ड सम्हालेका छन् । 

एआईजी वढुवाका आधारमा पोखरेल र थापाले आफु सिनियर भएको दावी गरिरहेका छन् र त्यस विरुद्ध अदालत जाने धम्की समेत दिएका छन्। तर, उनीहरु स्वयम् वरियता मिचेर एआईजीमा वढुवा भएको कुरा भने उनीहरुले गौण राखेका छन् । 
 

विशेष