News

भारतीय विदेश मन्त्रालयले सार्वजनिक गर्यो मोदीको लुम्विनी भ्रमण तालिका

भारतीय विदेश मन्त्रालयले सार्वजनिक गर्यो मोदीको लुम्विनी भ्रमण तालिका

स्थानीय तह निर्वाचन लगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्विनीको भ्रमण गर्दैछन् । भारतीय विदेश मन्त्रालयले पनि आफनो वेबसाईट मार्फत यसको पुष्टि गरेको छ। 

मन्त्रालयले विहिवार आफनो वेबसाईटमा प्रधानमन्त्री मोदीको भ्रमण तालिका सार्वजनिक गरेको छ। बुद्ध पूर्णिमाको अवसरमा लुम्बिनी आउने मोदी लुम्बिनीमा हुने समारोहमा सहभागि हुने छन् । उक्त समारोहमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी हुने कार्यक्रम छ। उनीहरु मायादेवी मन्दिरमा दीप प्रज्ज्वलन समारोहमा सहभागी हुनेछन् ।

त्यसैगरी लुम्बिनी विहार क्षेत्रभित्र अन्तर्राष्ट्रिय बौद्ध महासङ्घ (आइबीसी), नयाँदिल्लीको प्लटमा बौद्ध संस्कृति र सम्पदा केन्द्र निर्माणका लागि हुने ‘शिलान्यास’ समारोहमा मोदी सहभागि हुने छन् । 

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री देउवासँगै भारतका प्रधानमन्त्रीले मायादेवी मन्दिरमा पूजाअर्चना गर्ने, लुम्बिनीको विहार क्षेत्रमा बौद्ध संस्कृति तथा सम्पदा केन्द्रको शिलान्यास गर्ने र विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ । लुम्बिनी अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र र सभा हलमा बुद्ध जयन्ती मनाउने तयारी गरिएको छ ।

भाारतीय प्रधानमन्त्री मोदीसँग परराष्ट्रमन्त्री डा नारायण खड्काले भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार लुम्बिनीमा रहँदा दुवै प्रधानमन्त्रीले नेपाल–भारत सहयोग र आपसी हितका विषयमा द्विपक्षीय वार्ता हुनेछ। नेपालका प्रधानमन्त्रीले भारतका प्रधानमन्त्री र भ्रमणमा रहेका प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्नेछन् ।
 
भारतका प्रधानमन्त्रीको आगामी भ्रमणले दुई देशबीचको सदियौंदेखिको सामाजिक–सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । भारतीय विदेश मन्त्रालयका अनुसार सन् २०१४ यता भारतीय प्रधानमन्त्री मोदीको यो पाँचौं नेपाल भ्रमण हुनेछ । 

नरेन्द्र मोदी

विशेष