News

प्रचण्डका कारण माडी र भरतपुरका मेयर उम्मेदवारको उम्मेदवारी खतरामा

प्रचण्डका कारण माडी र भरतपुरका मेयर उम्मेदवारको उम्मेदवारी खतरामा

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालका कारण गठवन्धनबाट भरतपुर र माडीका उम्मेदवारको उम्मेदवारी नै खतरामा परेको छ। दाहाल लगायतका सरकारका मन्त्रीसहितले मौन अवधिको उलंघन गर्दै भोट मागेको र पैसाको चलखेल गरेको आरोप लगाउँदै उजुरी परेपछि उम्मेदवारी माथि नै खतरा देखिएको हो ।

प्रचण्डले आचारसंहिता उलंघन गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनमा एमालेले बिहीबार उजुरी दर्ता गराएको थियो। उजुरीमा कांग्रेस र माओवादीको तर्फबाट उम्मेदवार भएकाहरुको उम्मेदवारी खारेज गर्न माग गरिएको छ। उक्त उजुरी पछि आयोगले दाहाललाई आठ घण्टे स्पष्टीकरण सोधेको छ। 

यसअघि पनि चितवनमै पुगेर मतदाता धम्क्याएको भन्दै आयोगले दाहालसँग २४ घण्टे स्पष्टीकरण सोधेको थियो। दाहालले चितवनमा भएको सत्ता गठबन्धनको चुनावी सभाका क्रममा गठबन्धनबाट मेयरकी उम्मेदवार आफ्नी छोरी रेनुले नजिते देश दुर्घटनामा पर्ने उत्तेजक भाषण दिएका थिए ।

बिहीबार चितवनको माडी नगरपालिका–५ मा रहेको होटेल प्याराडाइज र भरतपुर महानगरपालिकाको चनौली र दिव्यनगरमा उम्मेदवार र कार्यकर्तालाई भेटेर दाहालले मत मागेका थिए ।

निर्वाचन आचारसंहिताको उल्लंघन भएको अवस्थामा यहाँको नाम निर्वाचन आचारसंहिताको उल्लंघनकर्ताको रुपमा किन सार्वजनिक गर्नु नपर्ने हो?’ भन्दै दाहाललाई आयोगले सोधेको छ।

मौन अवधिमा पनि सुरक्षाकर्मीसहित राजनीतिक कृयाकलापमा संलग्न भएको भन्दै दाहालको चालोचना भएको थियो । दाहालसँग महिला तथा बालबालिका मन्त्री उमा रेग्मी, श्रम तथा रोजगार मन्त्री कृष्णकुमार श्रेष्ठ किसान, मन्त्रिपरिषद्का राज्यमन्त्री उमेश श्रेष्ठ लगायतले पनि मौन अवधिमा निर्वाचन आचारसंहिता उलंघन गरेको आरोप छ।

मन्त्री किसान श्रेष्ठ र उमेश श्रेष्ठले भरतपुर महानगरपालिकाभित्र आर्थिक चलखेल गरेको सूचना आएकाले आवश्यक छानबिन गर्न पनि एमालले माग गरेको छ।
 

विशेष