News

बाबुराम भट्टराईको भोट सुर्यमा परेपछि...

बाबुराम भट्टराईको भोट सुर्यमा परेपछि...

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले निर्वाचन आयोगको कार्यक्षमता माथि प्रश्न उठ्ने गरी गोप्य मतदाननलाई सार्वजनिक गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले निर्वाचन कानुन र आयोगले जारी गरेको आचारसंहिता विपरित स्वस्तिक छाप लागेको मतपत्र सार्वजनिक गरेका हुन।

भट्टराईले आफूले मतदान गरेको तस्वीरसमेत खिचेर सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । गोरखा पालुङटार नगरपालिका–१ अन्नपूर्ण मावि मतदान केन्द्रबाट मतदान गरेका भट्टराईले आफूले कुन पार्टीलाई मत दिएको छ भन्ने देखिने तस्वीर फेसबुकमा पोस्ट गरेका छन् ।

पालुङटार नगरपालिकामा जसपाले नेकपा एमालेसँग तालमेल गरेको छ । भट्टराईको मतपत्रमा मेयर पदमा जसपाको चुनाव चिह्नमा मतदान गरेको देखिन्छ भने उपमेयरमा कसलाई मत दिए भन्ने देखिँदैन । वडाअध्यक्ष र वडासदस्यमा पनि उनले जसपाको चुनाव चिह्नमा मतदान गरेका छन् ।

निर्वाचन आयोगले मतदान केन्द्रमा मोवाइल लैजान निषेध गरेको छ । तर भट्टराईले भने मतपत्रमा स्वस्तिक छाप लगाएको फोटोसमेत सार्वजनिक गरेपछि उनको आलोचना भईरहेको छ। भट्टराईले एकातर्फ निर्वाचन कानुनको उलंघन गरेका छन भने अर्कोतर्फ गठवन्धनमा उनी स्वयम् पनि शंकाको घरमा रहेकाले मत पत्र सार्वजनिक गर्नु परेको आशंका गरिएको छ। आफुले इमान्दारित प्रस्तुत गरेको पुष्टि गर्न उनले मत पत्र सार्वजनिक गरेको हुन सक्ने अनुमान छ।

निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ को दफा ९ मा मत संकेत सार्वजनिक गर्न नहुने उल्लेख छ। मत संकेत सार्वजनिक गर्ने व्यक्तिलाई मतदान अधिकृतले १५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने दफा ९ को उपदफा २ मा उल्लेख छ।

त्यस्तो मतपत्र मतपेटिकामा खसाली नसकेको भए छुट्टै खाममा सिलबन्दी गरी त्यसलाई गणना नगरिने उपदफा ३ मा उल्लेख छ। तर, डा. भट्टराईले मत पेटिकामा मतपत्र खसालिसकेपछि तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्।

बाबुराम भट्टराई

विशेष