News

बावुराम भट्टराईको तर्क – कानुन मान्नै पर्छ भन्ने छैन

बावुराम भट्टराईको तर्क – कानुन मान्नै पर्छ भन्ने छैन

निर्वाचन कानुन विपरित स्वस्तिक चिन्हसहितको मतपत्र सार्वजनिक गरेको पूर्वप्रधानमन्त्री बावुराम भट्टराईले ‘कानुन मान्नै पर्छ भन्ने छैन’ भन्ने आशयको तर्क गरेका छन् । उनले मतदान गोप्य नै हुनुपर्छ भन्ने सिद्धान्न नभएको बताए ।

शुक्रबार विहान गोरखाको पालुङटार नगरपालिका–१ अन्नपूर्ण मावि मतदान केन्द्रमा मतदान गरेका भट्टराईले आफूले मत जाहेर गरेको स्वस्तिक चिन्ह देखिने गरी फोटो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । गोप्त मतदान भन्दै निर्वाचन आयोगले मोवाईल समेत लान नदिएको ठाउँमा भट्टराईले फोटो खिचेर मतपत्र सार्वजनिक गरेका छन् ।

त्यसको आलोचना भएपछि उनले आफ्नो विचार/मत खुला रुपमा व्यक्त गर्न पाउनुपर्ने बताए । ‘लोकतन्त्रको आधार भनेको व्यक्तिले आफ्नो विचार÷मत खुला रूपमा व्यक्त गर्न र प्रचारप्रसार गर्न पाउनु हो । मतदान गोप्य नै हुनुपर्छ भन्ने कुनै सिद्धान्त हुदैन’ उनले ट्विटरमा लेखेका छन् ।

भट्टराईले अघि भनेका छन्, ‘गोप्य मतदान भनेको कसैले आफ्नो मत गोप्य राख्न चाहन्छ भने उसलाई त्यो छुट दिने भनेको हो । तर कसैले खुला गर्छ भने रोक्ने भनेको हैन !’

तर, निर्वाचन कानुनले उनको तर्कलाई मान्यता दिएको छैन। निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ को दफा ९ मा मत संकेत सार्वजनिक गर्न नहुने उल्लेख छ। मत संकेत सार्वजनिक गर्ने व्यक्तिलाई मतदान अधिकृतले १५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने दफा ९ को उपदफा २ मा उल्लेख छ।

त्यस्तो मतपत्र मतपेटिकामा खसाली नसकेको भए छुट्टै खाममा सिलबन्दी गरी त्यसलाई गणना नगरिने उपदफा ३ मा उल्लेख छ। तर, डा. भट्टराईले मत पेटिकामा मतपत्र खसालिसकेपछि तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्।
 

विशेष