News

भरतपुरको मतगणना पुनः सुरु, ६ महानगर मध्ये एउटामा पनि छैन एमाले

भरतपुरको मतगणना पुनः सुरु, ६ महानगर मध्ये एउटामा पनि छैन एमाले

केही समयअघि रोकिएको भरतपुर महानगरपालिकाको मतगणना पुनः सुरु भएको छ। एमालेका प्रतिनिधिको विरोधपछि मतगणना रोकिएको थियो।

मतपत्रमा स्वस्तिक छाप स्पष्ट देखिए मात्रै सदर गर्ने सहमति भएपछि मतगणना सुरु भएको हो। विवाद समाधानका लागि सर्वदलीय बैठक बसेको थियो । बैठकले यसअघिको विवादित मतलाई बदर मान्ने निर्णय गरेको छ ।

यसअघि कस्तो मतलाई सदर र कस्तोलाई बदर मान्ने भन्ने विषयमा विवाद चर्केपछि एमाले प्रतिनिधिले मतगणना नै बहिष्कार गरेका थिए । 

हिजो मतगणना सुरु गर्नुपूर्व सामान्य त्रुटि भएका मतलाई सदर मान्ने सहमति भएको थियो । तर, आज एमालेको चुनाव चिह्नमा परेको मतमा सामान्य त्रुटि देखिए पनि बदर गर्न दबाब दिएको भन्दै आफूहरूले मतगणना बहिष्कार गरेको एमालेका प्रतिनिधिहरूले बताएका थिए । 

एमालेको विरोधपछि १५ मिनेट रोकिएको मतगणनाको कार्य अहिले सुरु भइसकेको छ । भरतपुरमा अहिलेसम्मका नतिजा अनुसार माओवादीकी रेणु दाहाल अगाडि छिन् ।

देशका ६ वटा महानगरपालिकामध्ये ०७४ सालको स्थानीय तह निर्वाचनमा दुई वटा महानगरपालिकाको प्रमुख जितेको एमालेले अहिलेसम्म एउटामा पनि अग्रता कायम गर्न सकेको छैन। 

काठमाडौं, ललितपुर, भरतपुर, पोखरा, विराटनगर र वीरगन्ज महानगरपालिकाको प्रमुख पदमा एमाले पछि परेको छ। दुई वटामा नेपाली कांग्रेस, एउटामा नेकपा एस, एउटामा जसपा र एउटामा स्वतन्त्र उम्मेदवारको अग्रता छ।
काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह, पोखरामा एकीकृत समाजवादीका धनराज आचार्य, भरतपुरमा माओवादी केन्द्रकी रेनु दाहाल, विराटनगरमा काँग्रेसका नागेश कोइराला र वीरगन्जमा जनता समाजवादी पार्टी, नेपालका राजेशमान सिंह अगाडि छने । 

विशेष