News

०७४ का किल्ला भत्किन थालेपछि एमालेले लगायो धाँदलीको आरोप

०७४ का किल्ला भत्किन थालेपछि एमालेले लगायो धाँदलीको आरोप

६ महानगरपालिका लगायत यसअघि जितेका धेरै स्थानीय तहमा आफना उम्मेदवार पराजित हुने अवस्था आएपछि नेकपा एमालेले चुनावमा धाँदली भएको आरोप लगाएको छ। देशका अधिकांश स्थानमा मतगणना आधाउधी सकिन लागेपछि एमालेले यस्तो आरोप लगाएको हो ।

मतदान र मतगणनाको क्रममा गठबन्धनले योजनावद्ध रुपमा धाँधली गरेको आरोप एमालेको छ। मोर्चाबन्दीले मात्रै नपुगेर चुनावमा भइरहेको योजनाबद्ध धाँधलीलाई तत्काल रोक्न एमाले महासचिव शंखर पोखरेलले आइतबार विज्ञप्ति जारी माग गरेका छन् ।

पुनः मतदान र मतगणनाका लागि नेकपा एमालेले दिएको उजुरीउपर गम्भीरताका साथ ध्यान दिई कार्यान्वयन गर्न पनि उनले माग गरेका छन् । निर्वाचन परिणामलाई सत्ता गठबन्धनको पक्षमा पार्न दोलखाको बैतेश्वर, तामाकोशी, सिन्धुपाल्चोकको मेलम्ची, सिन्धुलीको सुनकोशी, काभ्रेको पाँचखाल, बाराको पचरौता, अछामको साँफेबगर, पञ्चदेवल विनायक, मंगलसेन, बझाङको छबिसपाथीभरा, सर्लाहीको धनकौल, बलरा, रामनगर, बागमती, बरहथवा, रौतहटको करुनिया लगायत दर्जनौँ स्थानमा बुथकब्जा गरेको आरोप पनि एमालेले लगाएको छ ।

निर्वाचन सुरु हुनुभन्दा अगाडि सत्ता गठबन्धनलाई सहयोग हुने गरी गृह प्रशासनले प्रहरी र कर्मचारीहरु खटाएको, मतदातालाई हतोत्साहित गर्न गिरफ्तारी गर्ने र मतदानपछि मात्र छाड्ने कार्य गरेको, मौन अवधिमा अनुचित प्रभाव पार्ने गरी विभिन्न गतिविधि गरेको लगायतका आरोप पोखरेलले लगाएका छन् ।
 

धाँदली

विशेष