News

महासचिवको जिल्लामा एमाले झण्डै पत्तासाफ, १० मध्ये १ मा अग्रता

महासचिवको जिल्लामा एमाले झण्डै पत्तासाफ, १० मध्ये १ मा अग्रता

नेकपा एमालेका महासचिव शंकर पोख्रेलको गृहजिल्लामै एमालेले कमजोर देखिएको छ। पोखरेलको गृह जिल्ला दाङमा मतगणनाको शुरुआती चरणमै एमाले पछि परेको छ।

१० वटा स्थानीय तह रहेको दाङका ९ स्थानीय तहको मतगणना भइरहेको छ। जसमा ४ वटामा कांग्रेस र ४ वटामा माओवादीले अग्रता लिएको छ भने एमालेले एउटा स्थानीय तहमा मात्रै अगाडि छ।

दाङमा २ उप–महानगरपालिका, १ नगरपालिका र ७ वटा गाउँपालिका छन । तुलसीपुर उपमहानगरपालिकाबाहेक सबैमा मतगणना भइरहेको छ । तुलसीपुर–१७ मा वडाध्यक्षका उम्मेदवारको निधन भएकाले उक्त वडामा ३ जेठमा मात्रै निर्वाचन हुँदैछ । सो वडामा निर्वाचन भएपछि मात्रै मतगणना हुने जनाईएको छ।

घोराही उपमहानगरपालिकामा माओवादी केन्द्रका हेमराज शर्मा पोखरेलले ३१३७ मत ल्याएर अग्रता लिइरहेका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका नरुलाल चौधरीले भने २७६१ मत ल्याएर पोखरेललाई पछ्याइरहेका छन् ।

लमही नगरपालिकामा कांग्रेसका जोगराज चौधरीले १३३३ मत र माओवादी केन्द्रका वसन्तराज शर्माले १०३४ मत पाएका छन् । गढवा गाउँपालिकामा नेपाली कांग्रेसका सर्वजीत डिसीले १०४६ र माओवादी केन्द्रका यमनारायण शर्मा पोख्रेलले १०१४ मत ल्याएका छन् ।

दशरथ गाउँपालिकामा नेपाली कांग्रेसका शम्भु गिरीले ५९६ मत र एमालेका मेघनाथ शाहले ३२२ मत पाएका छन् । बंगलाचुली गाउँपालिकामा माओवादीका तुलसीराम पुन मगरले २५० मत र एमालेका भेषराज खत्रीले २१६ मत ल्याएका छन् ।

बबई गाउँपालिकामा कांग्रेसका कुलबहादुर खत्री क्षेत्रीले २४ सय मत र एमालेका भुवनेश्वर पौडेलले १५८२ मत ल्याएका छन् । राजपुर गाउँपालिकामा एमालेका कुलराज गिरीले ११६० मत र माओवादीका चक्रबहादुर खड्काले ९८४ मत ल्याएका छन् ।

राप्ती गाउँपालिकामा माओवादीका प्रकाश भट्टले १९८८ मत र एमालेका जगतप्रसाद पोख्रेलले १४५५ मत ल्याएका छन् । शान्तिनगर गाउँपालिकामा माओवादीका मोहनलाल ओलीले १०७६ मत र कांग्रेसका प्रमोद बस्नेतले १००१ मत पाएका छन् ।
 

विशेष