भरतपुरका यी वडामा भुँईकटहरका अगाडि हँसिय हथौडा भुत्तो
चितवनको भरतपुर महानगरपालिकाको मतगणना सुरुवाती चरणदेखि नै रोचक छ। नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहाल र नेकपा एमालेका मेयर उम्मेदवार विजय सुवेदी बीच झिनो मतको उतार–चढाव भईरहेको छ।
पछिल्लो नतिजामा एमालेका उम्मेदवार विजय सुवेदीले ४ मतले अगाडि छन् । सोमबार विहानको मत परिणाम अनुसार सुवेदीले ३६३३ मत पाएका छन् भने रेनुले ३६२९ मत पाएकी छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३९७ मत पाएका छन् ।
भरतपुरको अवको मतगणना अझै रोचक हुने देखिएको छ। वडा नम्बर ३ को मतगणना सुरू भएसँगै जगन्नाथको भुइँकटहरमा २० प्रतिशतका दरले मत आउन थालेको छ। यस अघि उन प्राप्त गरेको मतको दर ११ प्रतिशत थियो।
भरतपुरको वडा नम्बर ३ कांग्रेसको गढ मानिन्छ। जगन्नाथका प्रस्तावक तथा कांग्रेसका पूर्व सभापति कृष्णलाल सापकोटाको वडा यही हो। उनी चितवन कांग्रेसमा तीन पटकसम्म सभापति भएका व्यक्ति हुन्।
यो वडामा कांग्रेसको मत पनि एमालेमा परेको देखिएको छ। तर, उपमेयरमा भने कांग्रेसका उम्मेदवारले नै मता पाएका छन् । वडाध्यक्ष उम्मेदवार चयनमा देखिएको विवादका कारण कांग्रेसको वडाभित्रै फाटो देखिएको थियो।
कांग्रेसको गढ मानिए पनि ०७४ को स्थानीय तहको निर्वाचनमा एमालेका मेयर उम्मेदवार देवी ज्ञवालीले यहाँ राम्रो मत पाएका थिए।
यसैगरी, वडा नम्बर ४ जगन्नाथकै मेयर पदकी समर्थक मिना खरेलको वडा हो। यो वडा पनि कांग्रेस नेतृत्वसँग रुष्ट छ। यस्तै त्यस्तै वडा नम्बर ५, ६ र ७ बाट पनि रेनुलाई मत कम आउन सक्छ। वडा नम्बर ७ जगन्नाथको आफ्नै वडा भएकाले उल्लेखित वडाहरु भरतपुरका लागि निर्णायक सावित हुनसक्छन।
जगन्नाथले जति मत थप्छन्, उती नै रेनुलाई घाटा हुने विश्लेषकहरु वताउँछन् । मतगणना जारी छ।
भरतपुर महानगरपालिका