News

ओलीको जन्मघरमा कांग्रेसको ताण्डब

ओलीको जन्मघरमा कांग्रेसको ताण्डब

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको जन्म गाउँ आठराई गाउँपालिकामा नेपाली कांग्रेसले विजय प्राप्त गरेको छ। सत्ता गठबन्धनबाट उम्मेदवार वनेका नेपाली कांग्रेसका उम्मेदवार दिलकुमार पाहिम विजयी भएका छन् ।

नेकपा एमालेका रामचन्द्र थपलियालाई ६ सय ८४ मतान्तरले पछि पार्दै पाहिम विजयी भएका हुन। पाहिमले ४ हजार ६ सय ९९ मत पाएका छन् भने थपलियाले ४ हजार ८ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा ४ हजार ८० मत प्राप्त गरी सत्ता गठबन्धनकै नेकपा माओवादीका बलिराज ईङनाम विजयी भएका छन् । उनले निवर्तमान उपाध्यक्ष समेत रहेकी एमालेकी उम्मेदवार रुपादेवी कन्दङवालाई १० मत अन्तरले हराए। कन्दङवाले ४ हजार ७० मत प्राप्त गरिन् ।

कांग्रेस गाउँपालिका सभापति रहेका पाहिम यसअघि वडा नं. २ को वडाध्यक्ष थिए । ७ वडा रहेको आठराईमा २, ३, ४ र ६ नम्बर वडामा कांग्रेस विजयी भएको छ भने १, ५ र ७ मा मात्र एमाले उम्मेदवार विजयी भएका छन् ।

यहाँ ०७४ को स्थानीय निर्वाचनमा समेत नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन थियो । तर, त्यसबेला एमालेले अध्यक्ष र उपाध्यक्षसहित बहुमत सिटमै जित निकालेको थियो । यसपटक भने गठबन्धनले बहुमत सिट जितेको छ ।

वडाध्यक्षको कार्यकालमा आफुले पाउने पारीश्रमिक सामाजीक र विकास निर्माण कार्यमा लगाएर पाहिमले चर्चा वटुलेका थिए । अघिल्लो स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट विजयी गाउँपालिका अध्यक्ष मानवहादुर लिम्वु एमाले विभाजनपछि नेकपा एस तर्फ लागेका छन्।

एमाले फुटको असर आठराईमा परेको छ। यो गाउँपालिका अध्यक्ष केपी शर्मा ओली जन्मेको गाउँ हो। ओली इवा गाउँमा जन्मिएका हुन् । ओलीले ०७५ सालमा आफ्नो जन्मदिन यही पुगेर मनाएका थिए ।
 

विशेष