News

एकाघरका दाजुभाईः दुई भाई गाउँपालिका अध्यक्ष, एक भाई वडाध्यक्ष, एक भाई पराजित

एकाघरका दाजुभाईः दुई भाई गाउँपालिका अध्यक्ष, एक भाई वडाध्यक्ष, एक भाई पराजित

प्रदेश १ मा एकाघरका दुई दाजुभाई नै गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् । दाजु धनकुटा र भाई ओखलढुङ्गाबाट अध्यक्षमा निर्वाचित भएका हुन।

सोमबार सार्वजनिक मत परिणामअनुसार दाजु जीतेन्द्र रुम्दाली(राई) धनकुटाको साँगुरीगढी गाउँपालिकामा र भाइ ज्ञानेन्द्र रुम्दाली ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिकामा अध्यक्ष निर्वाचित भएका हुन। 

गठबन्धनको तर्फबाट धनकुटाको साँगुरीगढी गाउँपालिकामा कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका जीतेन्द्रले ५ हजार ३ सय ९९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का कुमारजंग याखाले ४ हजार ८ सय २८ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

यसैगरी, ज्ञानेन्द्रले कांग्रेसको सर्मथनमा स्वतन्त्र उम्मेदवारी दिएर अध्यक्षमा विजय हासिल गरेका हुन् । उनले एमालेका रुपलाल तामाङलाई १ हजार २ सय ६ मतान्तरले पराजित गरे। ज्ञानेन्द्रले ५ हजार २१ मत ल्याउँदा एमालेका तामाङले ३ हजार ८ सय १५ मत प्राप्त गरेका हुन् ।

दुई आमाका ५ दाजुभाइ मध्ये अर्का दाजु राजकुमार रुम्दाली पनि मानेभन्ज्याङ गाउँपालिका १ को वडाध्यक्षमा विजयी भएका छन् । उनले नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका थिए । भाइ दीपेन्द्र रुम्दाली भने मानेभन्ज्याङ गाउँपालिकाको उपाध्यक्षमा पराजित भएका छन् ।

जनता समाजवादी पार्टीको तर्फबाट उम्मेदारी दिएका दीपेन्द्रले २ हजार ७ सय ७७ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा विजयी हासिल गर्ने नेपाली कांग्रेसकी आश्राचन राईले ४ हजार ७ सय ५० मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । 
 

विशेष