News

गणतन्त्रमा क्रान्तिका प्रतिकः दिपक मनाङे र बालेन साह

गणतन्त्रमा क्रान्तिका प्रतिकः दिपक मनाङे र बालेन साह

लोकतन्त्रमा दलीय व्यवस्था स्वभाविक भए जस्तै जनमत अन्तिम र सर्वोच्च फैसला हो। तर, हालै सम्पन्न स्थानीय निर्वाचनमा काठमाण्डौं महानगरपालिकामा देखिएको प्रारम्भिक नतिजालाई नै धेरैले पचाउन नसकेको देखिएको छ।

काठमाण्डौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले सवै दलका उम्मेदवारलाई पाखा लगाईरहेका छन् । राजनीतिक दलका उम्मेदवारहरु प्रतिस्पर्धाको कुरै छोडौं पछ्याउन सक्ने अवस्थामा समेत देखिएका छैनन् ।

यो नतिजाले वर्षौसम्म मैमत्ता भएर शासन गरेका राजनीतिक दलका नेताहरुको मनमा आगो वलेको छ। तर, लोकतान्त्रिक देशमा दलहरुभित्रको अलोकतान्त्रिक ब्यवहारका कारण यो अवस्था आयो भन्ने विषय भने उनीहरुले स्विकार गर्न सकेका छैनन। जनमत र लोकतन्त्रकै आडमा आफू जसरी पनि सत्ता र शक्तिमा पुग्ने अनि विधि र आदर्शलाई कुल्चेर आफनालाई पद र लाभका पदमा पुर्याउने साँढे प्रवृत्ति विरुद्ध जनताले विद्रोह गरेको सत्यतालाई उनीहरुले पचाउन सकेका छैनन्।

बालेन प्रकरणले राजनीतिक दलका नेताहरुको मनमा आगो बलेको कुरामा कुनै शंका छैन। आगोको मुस्लो नै नदेखिएपनि त्यसको धुवाँ वरिष्ठ पत्रकार किशोर नेपालको मुखबाट निस्किएको छ। निर्वाचनको मत गणना नसकिदै उनले ‘बालेन साह पूर्वराजाको मान्छे हो’ भन्दै प्रतिक्रिया दिएका छन् ।

तर, वुझ्नु पर्ने कुरा के देखियो भने जनताले स्विकारे भने राजाकै मान्छे भएपनि बालेन साह काठमाण्डौंको मेयर हुन। जनताले स्विकारेपछि उनीसँगै दलका नेताहरुले पनि बालेनलाई मेयर नस्विकारेर सुख छैन।

बालेन मात्र होईन, यसअघि गुन्डा नाइके भनेर चिनिएका राजीव गुरुङ उर्फ दीपक मनाङेले स्वतन्त्रबाटै चुनाव जिते। प्रारम्भमा राजावादीसँग निकट कमल थापा नेतृत्वको राप्रपा हुँदै एमाले प्रवेश गरेका मनाङे अहिले माननिय छन्। ०७४ सालको प्रदेश सभा निर्वाचनमा मनाङको प्रदेश (ख) बाट विजयी भएका उनले प्रतिस्पर्धी कर्म गुरुङलाई ३९० मतले हराईदिए ।

उनलाई मिडियाले १ नम्वर डन बनाएकै हुन। तर, मिडियाले गुन्डाको पगरी गुथाउँदैमा उनी गुण्डा भएनन्, वरु ‘माननिय मन्त्री’ भएका छन्। हाम्रो लोकतान्त्रीक ब्यवस्थाले अव उनलाई मन्त्रीको रुपमा सम्मान गर्नैपर्छ। मन्त्री भएपछि उनले आफु अनुकुल काम नगर्ने कर्मचारीलाई बक्सिङ हानेर मन्त्रालय चलाएका छन्। 

३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा बालेन पनि मेयरका लागि स्वतन्त्र उम्मेदवार बने। निर्वाचनको अन्तिम परिणाम उनको पक्षमा आउला/नआउला अहिले नै भन्न सक्ने अवस्था छैन। तर, दलका नेताहरुको छटपटि हेर्दा उनी मेयरमा निर्वाचित हुँदै गरेको संकेत भने मिलेको छ। 

नेकपा एमालेका सचिव योगेश भट्टराईले त नेकपा एमालेले केशव स्थापितलाई उम्मेदवार वनाएर गल्ति गरेको स्विकारी सकेका छन् । उनले भनेका छन्–‘एमाले नेतृत्वले उनलाई मेयरमा उठाउने निर्णय गर्दा उनले चमत्कार गर्लान् भन्ने ठान्यो होला। उहाँले पनि चमत्कार नै गर्छु भनेर विश्वास दिलाउनु भयो। पहिले पनि अलिअलि चमत्कार गरेको मान्छे केशव स्थापित कार्ड सफल हुन्छ कि भन्ने नेतृत्वलाई लाग्यो। कहिले कहिले त नेतृत्वको पनि  विश्वास गलत हुन्छ।’

चुनाव जित्ने आशा गरिएको पार्टीका सचिवको यो अभिब्यक्ति र अन्य नेताहरुको छटपटि हेर्दा बालेनले चुनाव जित्दैछन् भन्ने लख काट्न समस्या छैन। यही वुझेर होला बालेनलाई थरिथरिका सुझाब पनि आईरहेका छन्।  उनले हिन्दी फिल्मको नायक शैलिमा नगर प्रशासन चलाउलान वा मनाङे जस्तै मुड्की वजाउलाई भन्ने विषय भने आम चासोकोको विषय भएको छ।

मनाङे र बालेनमा केही समानता पनि छ।  दुवै स्वतन्त्र उमेदबार। दुबैलाई जनताले पत्याईदिएका छन् र उनीहरुसँग जनमत छ। बालेन मेयर बन्ने प्रतिक्षामा छन्।  दिपक मनाङे गण्डकी प्रदेशको मन्त्री छन्। 

तर, काठमाण्डौंको अहिलेको नतिजाले जनताले फरकपन चाहेको संकेत पक्कै पनि गरेको छ। किशोर नेपालले भने झै बालेन राजाका मान्छे हुन् भने पनि राजा जनसमुदायमा लोकप्रिय हुदै छन्। किनकी कांग्रेस, एमाले, माओवादी, मधेशवादी सवैलाई शक्तिमा पुर्याएको जनताले नै हुन।

गणतन्त्रमा विकल्प विहिन उम्मेदवार उठाएर जनप्रतिनिधि कहलिएका नेताहरुबाट वाक्क भएर जनताले परिबर्तनको आवश्यक्ता महसुस गरेका छन्। लोकतन्त्र र गणतन्त्रको दुहाई दिनेहरु नै अहिले लोकतन्त्र/गणतन्त्रमा क्रान्तिको आबश्यक्ता परेको बताउन थालेका छन् । सम्भवत मनाङे र बालेन गणतन्त्रमा क्रान्तिको प्रतिक हुन सक्लान।

यो पनि,

बालेन शाह

विशेष