News

रेणुले जाँदाजाँदै कार्यकर्तालाई यसरी बाँडिन महानगरको पैसा

रेणुले जाँदाजाँदै कार्यकर्तालाई यसरी बाँडिन महानगरको पैसा

भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले पदबाट राजिनामा दिदै गर्दा आफु निकटका कार्यकर्ता र अधुरा आयोजनालाई लाखौं रकम बाँडेको खुलासा भएको छ। मेयरका लागि पुनः उम्मेदवारी दिन राजिनामा दिएकी दाहालले १८ चैतको अन्तिम वैठकमा यसरी रकम बाँड्ने निर्णय गरेको पाईएको छ।

नगर कार्यपालिकाको ६४औँ बैठकबाट माइन्यूट नै गरेर उपचार खर्चको नाममा विभिन्न व्यक्तिलाई ६ लाख ५५ हजार रुपैयाँ बाँड्ने निर्णय गरिएको महानगर श्रोतले जनाएको छ। रकम वितरण गर्दा प्रतिब्यक्ति १० हजारदेखि एक लाख रुपैयाँसम्म छुट्याईएको छ। 

२१ जनालाई वितरण गरिएको रकम विवरणमा ५० हजारमाथि उपचार खर्च दिइएका व्यक्तिहरुको रोगको विवरण तथा रकम दिनुपर्ने अवस्था प्रष्ट नखुलाइ रकम मात्रै दिने उल्लेख गरिएको छ । २१ जनाको विवरणमध्ये भरतपुर १० का खेम दर्जीको रकम पाउनुपर्ने अवस्था नै उल्लेख नगरी एक लाख रुपैयाँ दिने निर्णय गरिएको छ।

त्यस्तै ठेगाना समेत नखुलाइएका बुधन महतोको नाममा ५० हजार रुपैयाँ दिने उल्लेख गरिएको छ । ३० हजार रुपैयाँ रकम पाएका केदारमान आङ्दम्बेको रोग उल्लेख गरिएको छैन । भरतपुर महानगरको वडा नम्बर ८, कार्यालयको २ लाख रुपैयाँबाट ८ जना व्यक्तिलाई ३० र २० हजार रुपैयाँका दरले बाँडिएको छ । जसमा चलिरहेको पसल सञ्चालन खर्च विवरण उल्लेख गरेर ३ जनालाई ३० र २० हजार रुपैयाँका दरले रकम वितरण गरिएको छ ।

वडास्तरीय वार्षिक बजेटबाट विनियोजन भएको विपन्न परिवारलाई सहयोग शीर्षकमा वडाबाट नै सिफारिस भएअनुसार उक्त रकम बाँड्ने निर्णय भएको उल्लेख गरिएको छ ।
 

रेणु दाहाल

विशेष