News

मन्त्रीका छोरा र निवर्तमान मेयरलाई सीके राउतको झट्का

मन्त्रीका छोरा र निवर्तमान मेयरलाई सीके राउतको झट्का

डा. सीके राउत (चन्द्रप्रकाश राउत) नेतृत्वको जनमत पार्टीले सप्तरीको एउटा नगरपालिकामा मेयर जितेको छ। हनुमाननगर कंकालिनी नगरपालिकाको मेयरमा जनमत पार्टीका वीरेन्द्र माझी निर्वाचित भएका छन् ।

निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका उम्मेदवार शैलेशकुमार साहलाई १६१ मतले पछि पार्दै उनी मेयरमा निर्वाचित भएका हुन। ०७४ सालको स्थानीय तह निर्वाचनमा मेयरमा निर्वाचित साह दोस्रो कार्यकालका लागि उम्मेदवार वनेका थिए ।

माझीले ६ हजार ४ सय ७  मत ल्याउँदा साहले ६ हजार २ सय ४६ मत प्राप्त गरे । माझी ०७४ सालको स्थानीय तह निर्वाचनमा साहसँगै पराजित भएका थिए। माझी तत्कालीन फोरमबाट र साह तत्कालीन राजपाबाट उम्मेदवार बनेका थिए ।

राजपा र फोरम एक भई जसपा निर्माण भएपपछि दुवै एकै पार्टीमा थिए । जसपा फुटेर लोसपा वनदा पनि उनीहरु पार्टी नछोडि जसपामै रहे। स्थानीय तह निर्वाचनका क्रममा दुवै उम्मेदवार वन्ने दौडधुपमा लागे। तर,  पार्टीले माझीलाई पाखा लगाएर साहलाई दोहोर्याउने निर्णय लियो। त्यसपछि पार्टीमा विद्रोह गरेका माझी मनोनयनको अघिल्लो दिन सिके राउतको पार्टीमा पुगे। 

जनमत पार्टीले माझीलाई उम्मेदवार वनाएपछि उनी मेयरमा निर्वाचित भए । पराजित साह प्रदेश २ का सरकारका सामाजिक विकास मन्त्री नवलकिशोर साहका छोरा हुन।

यता, हनुमाननगर कंकालिनीको उपमेयरमा भने जनमत पार्टीकी रेखादेवी मण्डललाई हराउँदै जसपाकी सरितादेवी सिपलिया यादव निर्वाचित भएकी छिन्। उनी यसअघिको निर्वाचिनमा पनि उपमेयर निर्वाचित भएकी थिईन। 

यसैगरी, नगरपालिकाका १४ वटा वडा मध्ये २ वडामा जनमत पार्टीले जितेको छ। ७ वटा वडामा जसपा, ४ वडामा माओवादी केन्द्र  र एउटा वडामा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । 
 

हनुमाननगर कंकालिनी

विशेष