News

धरानमा पनि स्वतन्त्रको जगजगी !

धरानमा पनि स्वतन्त्रको जगजगी !

काठमाण्डौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारले अग्रता लिईरहेका वेला सुनसरीको धरानमा पनि स्वतन्त्र उम्मेदवारको जगजगी सुरु भएको छ।  पछिल्लो मतगणना अनुसार धरानमा स्वतन्त्र उम्मेदवार हर्कराज राईले अग्रता बढाएका छन्।

धरानको १९ हजार ४६६ मत गणना हुँदा स्वतन्त्र उम्मेदवार हर्कराजले १४७ मतले कांग्रेसका उम्मेदवार किशोर राईलाई पछि पारेका छन् । हर्कराजले ८ हजार ५०९ मत प्राप्त गर्दा कांग्रेसका राईले ८ हजार ३६२ मत पाएका छन्। एमालेकी उम्मेदवार मञ्जु भण्डारीले ६ हजार ८५८ मत मात्र पाएकी छन्।

यस्तै उपप्रमुखमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका अइन्द्रविक्रम बेघाले ९ हजार ४३१ मतसहित ३५२ मतको अग्रता कायम राखेका छन्। एमालेका उम्मेदवार पदमबहादुर लिम्बूले ९ हजार ७९ मत पाएका छन्।

०७४ सालको स्थानीय तह निर्वाचनमा धरानमा नेकपा एमालेबाट मेयरका उम्मेदवार तारा सुब्बाले २० हजार ९७५ मत ल्याएर विजय भएका थिए । उनका निकटतम प्रतिस्पर्धी बनेका काँग्रेसका तिलक राईले १६ हजार १०२ र तेस्रो स्थानमा माओवादी केन्द्रका अइन्द्र विक्रम बेघाले ११ हजार १८० मत ल्याएका थिए ।

मेयर सुब्बाको निधन भएपछि खाली भएको उपनिर्वाचनमा भने काँग्रेसका तिलक राईले परिणाम उल्ट्याउँदै एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार प्रकाश राईलाई झण्डै ३ हजार मतले पराजित गरे। उपनिर्वाचनमा तिलक राईले २६ हजार ७०९ मत ल्याउँदा तत्कालीन नेकपाका उम्मेदवार प्रकाश राईले २३ हजार ९१४ मत पाएका थिए ।

वडागत हिसावमा भने धरानको २० वटा वडामा एमाले एक्लैले १४ वटा वडा जितेको थियो । काँग्रेसले ५ वटा र माओवादी केन्द्रले १ वडा जितेका थिए।
 

धरान

विशेष