News

‘एन्टी कोइराला’ अभियान चलाएका नागेशलाई विराटनगरको मेयर उपहार

‘एन्टी कोइराला’ अभियान चलाएका नागेशलाई विराटनगरको मेयर उपहार

कांग्रेसभित्र ‘एन्टी कोइराला’ अभियान चलाएर राजनीतिमा उदाएका नागेश कोईरालाले विराटनगर महानगरपालिकाको मेयर पुरस्कारमा पाएका छन् । उनलाई विराटनगर महानगरपालिकाका मतदाताले मत हालेर जिताए पनि मेयरको टिकट भने उनले दबावमा पाएका हुन।

उनले टिकट लिँन कांग्रेसभित्रका धेरै हेभिवेटहरूलाई पाखा लगाएका छन् । निवर्तमान  मेयर भीम पराजुली, उपमेयर इन्दिरा कार्की, केन्द्रीय सदस्य अमृत अर्याल, डिला संग्रौलालगायतका नेता मेयरको टिकटका लागि लविङमा थिए। संस्थापन पक्ष र कोइराला दुबै पक्षले मेयरको टिकटलाई प्रतिष्ठाको विषय बनाएका थिए। तर टिकट कोइराला पक्षले पायो।

मेयरको टिकट नागेशलाई दिलाउन नेता शेखर कोईराला अडान कसेर वसे। उनलाई टिकट दिलाएकै कारण शेखरमाथि पार्टीभित्र परिवाद लादेको आरोप समेत लागेको छ।

खास गरी, नागेशले कांग्रेस विभाजनका बेला ‘एन्टी कोइराला’ अभियानमा सहभागि भएर शेरबहादुर देउवालाई सघाएका ब्यक्ति हुन। उनी देउवा नेतृत्वको कांग्रेस प्रजातान्त्रिकमा सहभागी पनि थिए। पार्टीको तरूण दलको जिल्ला सभापति बनेर प्रजातान्त्रीकमा लागेका उनी पार्टी एक भएपछि तरूण दलकै जिल्ला सभापति भएर काम गरे। त्यसपछि पार्टीको जिल्ला कोषाध्यक्ष, सचिव हुँदै अहिले  उनी उपसभापति छन्।

यसअघि उनी कुनै पनि तहको जनप्रतिनिधि भएका थिएनन्। तर, एकै पटक महानगरको मेयर बन्ने ‘सौभाग्यशाली’ बनेका छन्। विराटनगरमा मेयर जित्ने उनी तेस्रो कोइराला हुन। यसअघि केशवप्रसाद कोइराला विराटनगरको पहिलो जननिर्वाचित मेयर बनेका थिए। २०१४ सालको निर्वाचनमा मेयरमा निर्वाचित कोइराला कांग्रेस नेता शेखरका बुबा हुन्।

बिपीका भाइसमेत रहेका केशवपछि २०४९ मा अशोक कोइराला मेयरमा निर्वाचित भए। उनी पूर्वप्रधानमन्त्री सुशील कोइरालाका भाइ हुन्। अशोकपछि कोइराला परिवारकै सदस्य नागेश कोइराला विराटनगरको तेस्रो मेयर बनेका छन्।
सजिलो छैन मेयर चलाउन
कांग्रेस नेतृत्वमा पाँच दलिय गठवन्धन र एमाले फुटेका कारण नागेशलाई विराटनगरको मेयर जित्न खासै सकस परेन। तर, निर्वाचित भएपछि महानगर चलाउन भने उनलाई त्यति सहज छैन। यस अघिका निर्वाचनमा कांग्रेसले विराटनगरमा बहुमत सदस्य जित्ने गरेको थियो। तर, यो निर्वाचनमा कांग्रेसले जितेका वडा संख्या कम छन् ।

१९ वटा वडामध्ये एमालेले सबैभन्दा धेर ९ वडा जितेको छ। एमालेले उपमेयरसहित १, २, ३, ४, ८, १०, ११, १४ र १९ नम्बर वडामा वडाध्यक्ष जिताएको छ। नेपाली कांग्रेसले ५, ६, ७, ९, १५ र १६ जितेको छ भने वडा नम्बर १२ र १७ मा जसपा, १३ मा राप्रपा र १८ मा स्वतन्त्रका वडाध्यक्षले जितेका छन्।

२०७४ को निर्वाचनमा विराटनगरमा कांग्रेसले एक्लै मेयर र उपमेयरसहित ७ वटा वडा जितेको थियो। जसपाले ६ वटा जित्दा एमालेले ३ वटा मात्रै जितेको थियो। माओवादीले एउटा र स्वतन्त्रले दुई वडा जितेका थिए।

नागेश कोईराला

विशेष