विजय उत्सव मनाउन गाउँपालिकामा सार्वजनिक विदा
![विजय उत्सव मनाउन गाउँपालिकामा सार्वजनिक विदा](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2022/05/rupani.jpg)
नव निर्वाचित जनप्रतिनिधिको जितमा उत्सव मनाउन सप्तरीको स्थानीय तहमा आज सार्वजनिक विदाई दिईएको छ। रुपनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अरविन्द कुमार चौधरीले आजै सूचना जारी गरेर सार्वजनिक विदा घोषणा गरेका हुन ।
सूचनामा नवनिर्वाचित गाउँपाकिलाकाका अध्यक्ष दिनेश कुमार यादवको आदेशमा सार्वजनिक विदा दिईएको उल्लेख छ।
सूचनामा भनिएको छ– ‘मिति २०७९।०१।३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा यस गाउँपालिकाबाट नवनिर्वाचित पदाधिकारीहरुको विजय उत्सव मनाउने प्रयोजनका लागि रुपनी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष दिनेश कुमार यादव ज्यूको आदेशानुसार गाउँपालिका क्षेत्र भित्रका सकरारी कार्यालय, संघसंस्था, शिक्षण संस्था, स्वास्थ्य संस्थाहरु लगायत सम्पुर्ण कार्यालयहरुमा आज मिति २०७९ जेष्ठ ९ गते सोमवारका दिन सार्वजनिक विदा दिईएको ब्यहोरा जानकारी गराईन्छ।’
कतिपय स्थानीयवासीले भने नयाँ जनप्रतिनिधिले आफनो तुजुक देखाउन तमासा सुरु गरेको भन्दै चालोचना गरेका छन् ।
आईतवार मात्रै सम्पन्न मत परिणाम अनुसार रुपनीमा लोसपाका उम्मेदवार यादव अध्यक्षमा निर्वाचित भएका हुन। उनले निवर्तमान अध्यक्ष जसपाका हरेराम यादवलाई ३ सय ३४ मतान्तरले पराजित गरेका हुन।
निर्वाचित अध्यक्ष दिनेशले ४ हजार २ सय ६९ मत प्राप्त गर्दा सजपाका हरेरामले ३ हजार ९ सय ३५ मत पाए । यस्तै उपाध्यक्षमा पनि लोसपाकै पुष्पा कुमारी श्रेष्ठ निर्वाचित भएकी छन् । उनले पनि निवर्तमान उपाध्यक्षसमेत रहेकी जसपाकी बेचनीदेवी सरदारलाई ५६ मतान्तरले पराजित गरिन।
निर्वाचित उपाध्यक्ष श्रेष्ठले ३ हजार ७ सय १० मत प्राप्त गरिन् भने निकट प्रतिस्पर्धी सरदारले ३ हजार ६ सय ५४ मत प्राप्त गरेकी छन् ।