७ सालको क्रान्ति गरेका पार्टीलाई ३ महिने शिशु पार्टीले धुलो चटायो

सुदूरपश्चिम प्रदेशको राजधानी रहेको कैलालीमा यस पटक तीन महिने शिशु पार्टीले ००७ सालको क्रान्ति गरेका र १२ वर्ष सशस्त्र संघर्ष गरेका तथा लामो इतिहाँस बोकेका सवै पार्टीलाई धुलो चटाएको छ।
टीकापुर घट्नामा दोसी ठहर भएपछि आजीवन जेल जीवन बिताइरहेका सांसद रेशम चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीले यी सवै पार्टीको अस्तित्व धुलिसात पारेको छ।
नागरिक उन्मुक्ति पार्टीले गत १९ पुसमा दलको मान्यता पाएको थियो। गठन भएको तीन महिनामै यो पार्टीले कैलालीमा सत्ता गठबन्धन र एमालेलाई उछिनेको छ। कैलालीमा एक उपमहानगरपालिका, ५ नगरपालिका र ७ गाउँपालिका गरेर १३ वटा स्थानीय तह छन्।
ति मध्ये नागरिक उन्मुक्ति पार्टीले कैलालीका भजनी नगरपालिका, जोशीपुर गाउँपालिका, जानकी गाउँपालिकामा प्रमुख/उपप्रमुख दुवै र टीकापुर नगरपालिका मेयर जितेको छ।
यसैगरी कांग्रेसले ३ पालिका प्रमुख, एमाले र माओवादीले २÷२, समाजवादी र स्वतन्त्रले १÷१ पालिका प्रमुख जितेका छन। यो परिणामले कैलालीमा नागरिक उन्मुक्ति पार्टी पहिलो पार्टीका रुपमा उदाएको छ।
यस्तै, कांग्रेसले ५ पालिकाको उपप्रमुख, एमाले र नागरिक उन्मुक्ति पार्टीले ३÷३ र माओवादीले २ पालिकाको उपप्रमुख जितेका छन् ।
एमालेले ०७४ सालको स्थानीय तह चुनावमा १३ पालिकामध्ये ६ पालिकामा प्रमुख उपप्रमुख दुवै जितेर पहिलो शक्ति बनेको थियो। तर, यसपटक एमाले तेस्रो स्थानमा झरेको छ।
०७२ सालमा टीकापुरमा ८ जना सुरक्षाकर्मी र एक बालकको हत्या घटनामा दोषी ठहर भएर कैलालीका सांसद चौधरी जेल जीवन बिताइरहेका छन्।
कैलालीमा सत्ता गठबन्धन पनि सफल हुन सकेन। धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमाल र उपमेयरमा एमालेकी कन्दकला रानासँग गठवन्धन पराजित भयो। यसवाहेक अन्य १२ वटा स्थानीय तहमध्ये ६ वटामा मेयरको भाग कांग्रेसले पाएको थियो। जम्मा ७ मध्ये कांग्रेसले ३ वटा पालिकामा चित्त वुझाउनु परेको छ।
माओवादीले भागबण्डामा पाएको ४ पालिका प्रमुखमा २ र ५ पालिका उपप्रमुखमा ३ पालिका मात्रै जित्यो। २ पालिका प्रमुख भागमा पाएको एकीकृत समाजवादीले एउटा मात्रै जित्यो।