News

बालेन प्रभावः काठमाण्डौंको फोहोर प्रहरीको सुरक्षामा वन्चरे डाँडा लगियो

बालेन प्रभावः काठमाण्डौंको फोहोर प्रहरीको सुरक्षामा वन्चरे डाँडा लगियो

काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहको जित सुनिश्चित जस्तै भएपछि काठमाण्डौको फोहोर प्रहरी लगाएर ब्यवस्थापन गर्न थालिएको छ।

काठमाडौं उपत्यकाको फोहोर धादिङको धुनिबेंसीस्थित बन्चरेडाँडामा बनिरहेको डम्पिङ साइटमा बिसर्जन सुरु भएको हो । आज बिहान ९० वटा गाडीले बन्चरे डाँडामा बनिरहेको डम्पिङ साइटको सेल–१ मा फोहोर बिसर्जन गरेको काठमाडौं महानगरपालिकाले जनाएको छ।

बन्चरेडाँडाको ल्याण्डफिल साइटमा फोहोर बिसर्जन गरेको यो पहिलो पटक हो । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको समन्वयमा बन्चरेडाँडामा फोहोर विसर्जन सुरु भएको महानगरको वातावरण विभागले जनाएको छ। 

यो ल्याण्डफिल साईट शहरी विकास मन्त्रालयले बनाएको छ। स्थानीयले विभिन्न माग राखेर बन्चरेडाँडामा हालकै अवस्थामा फोहोर बिसर्जन गर्न नदिने अडान राख्दै आएका थिए । तर सोमबार गृहमन्त्रालयमा बसेको सरोकारवालाको बैठकले बल प्रयोग गरेर भए पनि बन्चरेडाँडामा फोहोर बिसर्जन गर्ने निर्णय गरेको थियो ।

प्रहरीको सुरक्षामा फोहोर बोकेका गाडीहरु बन्चरेडाँडा पुगेका छन् । स्थानीयले भने आफूहरुसँग समन्वय नगरेको र आफ्ना माग सम्बोधन नगरी फोहोर बिसर्जन गर्न सुरु गरेको भन्दै आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

सिसडोलस्थित ल्याण्डफिल साइट भरिएपछि काठमाडौं उपत्यकाको फोहोर बिसर्जन हुन सकेको थिएन । बन्चरेडाँडासम्म सिसडोलको बाटो हुँदै जानुपर्छ ।

काठमाडौं महानगरको पछिल्लो मत परिणाम अनुसार बालेनले ५० हजार भोट कटाएका छन् । १ लाख ५० हजार ७२० भोटको गणना भइसकेकोमा बालेनले ५० हजार ९८ भोट ल्याएका हुन् । कांग्रेसकी सिर्जना सिंहसँग उनको झण्डै २० हजार मतको दूरी छ ।

सिर्जनाले ३० हजार ७७४ मत ल्याएकी छन् । यस्तै, तेस्रो स्थानमा रहेका केशव स्थापितको २९ हजार ९९७ मत आएको छ । काठमाडौंमा कुल १ लाख ९१ हजार १७१ भोट खसेको थियो । त्यसमा अब ४० हजारभन्दा कम भोट गणना गर्न बाँकी छ । २१ वटा वडाको मतपरिणाम आइसकेको छ भने १० वटाको गणना जारी छ ।
 

विशेष